सुरक्षाकर्मीको घेरामा एसएलसीको प्रश्नपत्र छाप्न सुरु

१० माघ, भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले प्रवेशिका परीक्षा (एसएलसी) को प्रश्नपत्र छाप्न सुरु गरेको छ । आगामी चैत ६ गतेदेखि सुरु हुने परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र छाप्न थालिएको कार्यालयले जानकारी दिएको छ ।
करिब ५ लाख परीक्षार्थीका लागि आवश्यक पर्ने आठ विषयको प्रश्नपत्र छाप्न थालिएको हो । सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको प्रश्नपत्र छपाइमा नेपाली सेनाका २५, सशस्त्र प्रहरीका ३० र नेपाल प्रहरीका १५ जना गरी ७० जना सुरक्षाकर्मीको सुरक्षा घेरा बनाइएको छ ।
प्रश्नपत्र छाप्न खटिएका कुनै पनि कर्मचारी प्रश्नपत्र छपाइ कार्य नसकिएसम्म बाहिर निस्कन नपाइने, मोबाइललगायतका प्राविधिक सामग्रीहरू लैजान नपाइने र परिवारसँग समेत सम्बन्ध बिच्छेद गरेर बस्नुपर्ने भएको छ । प्रश्नपत्र छाप्ने कार्य नसकिएसम्म केन्द्रका कर्मचारी र परीक्षा नियन्त्रण कार्यालयका आधिकारिक व्यक्तिबाहेक अरुलाई पनि प्रवेश निषेध गरिएको छ ।
केन्द्रका कर्मचारी समेत सुरक्षा घेराभित्र प्रवेश गर्न पाउने छैन भने सुरक्षा व्यवस्था कडा पारिएको केन्द्रले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.