सुशीललाई प्रधानमन्त्रीमा समर्थन गर्न एमालेलाई कांग्रेसको प्रस्ताव

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहमत भएका छन् । सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ ।
राष्ट्रपतिले एकसाताभित्र सहमतीय सरकार गठन गर्न राजनीतिक दलहरुलाई आहृवान गरेको भोलिपल्ट सोमबार संसद बैठक लगतै संविधानसभा भवन नयाँबानेश्वरमा कांग्रेस र एमाले शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
छलफलमा दुबै दल एक वर्षभित्र संविधान निर्माण गर्ने गरी सहमतीय सरकार गठन गर्न सहमत भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बताए । अनलाइनखबरसँग कुरा गर्दै सिंहले भने-’हाम्रो संसदीय दलका नेता चयन भएपछि छलफल भएको हो । दुबै दल सहमतीय सरका गठन गर्न सहमत भएका छौं ।’ छलफलमा सहभागी कांग्रेसका अर्का नेता रामशरण महतले एमालेले कोइरालाको नेतृत्वमा सरकार गठन गर्न एमाले सहमत भएको बताए । उनले भने-हामीले हाम्रो उम्मेदवारलाई सहयोग गर्न भन्यौं । उहाँहरुले सहयोग गर्न तयार छौं भन्नु भएको छ ।’
यस्तै एमाले नेता भरतमोहन अधिकारीले कांग्रेसले सरकारको नेतृत्व गर्ने औपचारिक पत्र मागिएको बताए । ‘औपारिक पत्र आएपछि पार्टीमा छलफल गरेर निर्णय दिन्छौं भनेका छौं’ अधिकारीले भने ।
स्थानीय चुनाव वैशाखमा
छलफलमा कांग्रेस र एमाले आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गर्न सकारात्मक देखिएका छन् । एमाले नेता अधिकारीले भने-’स्थानीय निकायको चुनाव वैशाखमा गर्न दुबै दल सहमत भएका छन् । यसबारे मन्त्रिपरिषद्को पहिलो बैठकले निर्णय गर्नेछ ।’ कांग्रेस र एमालेले स्थानीय निकायको चुनावमा जोड दिएपनि एमाओवादी सकारात्मक छैन । उसले संविधान निर्माणपछि मात्र स्थानीय निकायको चुनाव गर्ने पर्ने बताउँदै आएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.