घरबाट फोन आयो- ‘घर खोस्रन शुरु भा’छ, हजुरबाको खुट्टा देखियो, आमा र भाइको पत्तो छैन’

क्वालालम्पुर । ‘बाबा तपाईँ छिटो आउनुस्, हाम्रो घर भर्खर खोस्रन शुरु भएको छ । हजुरवुवाको खुट्टा देखिएको छ । आमा र भाईको पत्तो छैन’ वैदेशिक रोजगारीका लागि मलेसिया आएका सिन्धुपाल्चोकका सोसमान स्याङ्वोलाई सिन्धुपाल्चोकबाट छोराले फोन गरेर भने ।
sosmanतीनवर्ष अगाडि मलेसिया आएका सिन्धुपाल्चोक वरुवा ८ का ४० वर्षीय स्याङवोलाई घरबाट दुखद घटना सुनेपछि भक्कानिए । घरबाट फोनआउँदा उनी अनलाइनखबरकर्मीसँगै थिए ।
परिवारको मिठो सपना वोकेर तीनवर्ष अगाडि मलेसिया आएका उनको सपना विदेशमै तुहिएको छ । भूकम्पका कारण घर भत्किएर पुरिँदा ६४ वर्षीय वुवा ढकवहादुर स्याङवो, ३८ वर्षीया श्रीमती सुकुमायाँ तामाङ र १५ वर्षको छोराको छोरा दिनेश तामाङ एकै चिहान भए ।
घर फर्कनका लागि दुतावासमा आवश्यक कागजपत्र मिलाउदै गर्दा उनी त्यहीँ भक्कानिएर रोए । उनले सोधे ‘हजुरआमालाई अहिले कस्तो छ त ? छोराको उत्तर आयो, राम्ररी वोल्न सक्नुहुन्न । केहि पनि खानुहुन्न । तपाई छिटो आउनुस् न’ दुवैतिरको फोन रुवावासी मै काटियो ।
भुकम्प आउनु भन्दा केहीवेर अघिमात्रै सोसमानले मोबाइलमा आफ्नी पत्नीसँग कुराकानी गरेका थिए । पैसा पठाईदिन्छु भन्दा श्रीमती सुकुमायाले भनेकी थिईन्,-‘पैसा मसँंगै छ, अहिले नपठाउनु, वरु पैसा जम्मा गर्नु, पछि सुन किनौंला ।’ उनको पत्नीको चाहना त पूरा भएन ।
पढदै गरेको जेठो छोरा १७ वर्षीय रमेश तामाङ मेलम्ची किताव किन्न गएको सकुशल रहेका छन् । यतिवेला उनी नै घरको अभिभावक वन्न पुगेका छन् । गाउँमा थुप्रैको मृत्यु भएको भए पनि कोही पनि उद्धार टोली गाउँमा नपुगेको र वाँचेका छिमेकीहरुले पालैपालो उद्धार गरिरहेको उनले जानकारी दिए । गाउँमा खानेकुराको अभाव भएको समेत उनले सुनाए ।
‘भाई घरको विपत्ति हेर्न तिमि नआउ’ 
dabaघरमाखाने केहि छैन, त घर आउन पर्दैन, हत्ते हेर्न किन आउँछस ? टेलिफोनमा गरेको यस्तो कुराकानी वाहिरै सुनिन्थ्यो । सिन्धुपाल्चोक वासखर्कवाट काका पर्नेले मलेसियामा रहेका भाई दावा थिङलाई यस्तो भनि रहँदा दावाका आँखावाट तपतप आँसु चुहिएको थियो । उनी दाईलाई भन्दै थिए, ‘दाई जे भयो भयो म आज राती ८ वजे क्वालालम्पुरवाट उडदै छु काठमाण्डौ झरेपछि हिडरै भए पनि घरमा आउँछु ।’
पाँचमहिना अगाडि रोजगारीका लागि मलेसिया आएका वासखर्क ८ का २४ वर्षीय दावाको परिवारमा भुकम्पमा परी ५३ वर्षीय  वुवा दोर्जे थिङ, ४० वर्षीया आमा चेङ थिङ र १८ वर्षकी वहिनी अन्जु थिङको ज्यान गएको छ । काकाकी छोरी १२ वर्षीया  वुद्धिमायाँ थिङ, अर्का छोरी १९ वर्षीया निङमा थिङको पनि ज्यान गएको छ ।
मेलम्चीमा रहेकी श्रीमतिले गाउँमा भुकम्प गयो । सवैलाई घरले पुरेको छ रे । देवर वावुमात्रै सकुशल हुनुन्छ रे म अहिल्यै गाउँ हिडे भनेर फोन काटिएपछि मलेसियामा रहेका दावाको होस् हवास नै हरायो । साथीभाईले सान्तवा दिएपछि मात्रै उनी अलिअलि वोल्न सक्ने भएका छन् ।
काठमाण्डौवाट मामाहरु गएर सोमवारका दिन शव निकाल्नु भयो रे । सानो भाई रातदिन रोइरहेको छ अववुवाभने पनि आमा भने पनि म नै हँु चिन्तानगर भनेर भनिरहेको छु । माईलो भाई भारतमा छ, उ पनि घर आउन सकेको छैन ।
भगवान पनि निर्दयी रै’छन् 
Namrajआठ वर्षदेखि मलेसियामा रहेका त्रिपुरेश्वर ३ धादिङका नमराज विश्वकर्माले पनि परिवारलाई देख्न पाएनन् । घर जाने तयारी गरिरहेको अवस्थामा भूकम्पमा परी उनको परिवारमा ६ जनाको ज्यान गएको छ ।
खाना खान लागेको वेलामा ५९ वर्षीय वुवा भद्रवहादुर विक, ५० वर्षीया आमा रिता विक, ११ वर्षीया छोरा राजु विक, २९ वर्षीया सुस्मिता विक, २० वर्षका भाई रामवहादुर विक र १८ वर्षकी वहिनी सीता विकको एकै चिहान वन्न पुगेको छ ।
‘शव उठाउन मानिस समेत छैनन्, लौन म कसरी नेपाल जाऊँ ?’ भगवानलाई धिक्कार्दै उनले भने, ‘भगवान पनि यति निर्दय किन भएका हुन् ?’ अवैधानिक अवस्थामा रहेको नमराज वुधवार नेपाल र्फकदै छन् ।
स्थानीय समाजसेवी हरि भटटराईले उनलाई नेपाल फर्कनको लागि सवै खर्च ब्यहोरेका छन् भने नेपाली दूतावासले यात्रा अनुमतिपत्र निःशुल्क वनाईदिएको छ । अर्काको देशमा यत्रो वर्ष वसेर परिवारका लागि हसाँएको थिए तर आज कसैको मुखसमेत हेर्न पाईन उनले भने ।

0 comments

Write Down Your Responses

Powered by Blogger.