कलेजमा केटाहरू नयाँनयाँ बाइक चढेर, हाउभाउ देखाएर प्रभावित बनाउन खोज्थे। म उनीहरूको मनोविज्ञान बुझ्थें तर कसैबाट प्रभावित भइनँ।

मिस नेपाल २००४ को प्रत्यक्ष प्रसारण टेलिभिजनमा हेरेपछि इभाना मानन्धरले त्यति बेलै मिस नेपालको ताज चुम्ने लक्ष्य तय गरेकी थिइन्। भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। 
 
इभानाको सपना पनि १२ वर्षपछि साकार भएको छ। मिस नेपाल २०१५ को ताजसँगै उनको करिअरले सानदार बाटो तय गरेको छ। 'यसबीचमा मैले अध्ययनलाई पहिलो प्राथमिकता दिएँ।

आत्मविश्वास एवं व्यक्तित्व विकासमा ध्यान दिएँ। ऐनाअगाडि उभिएर बोल्ने अभ्यास गरेँ। त्यही अनुभवले मलाई यो सफलता दिलाएको हो', इभाना भन्छिन्।
 
सौन्दर्य प्रतियोगिता यस्तो प्लेटफर्म हो, जसले कसैलाई क्षणभरमै सेलिब्रेटी बनाइदिन्छ। गत शनिबार राति १० बजेसम्म इभाना पनि सामान्य युवती थिइन्। मिस नेपालको ताज पहिरिएसँगै केही मिनेटमै उनी सेलिब्रेटी बनिन्।

बधाई तथा शुभकामनासहित सामाजिक सञ्जालभर उनी छाइन्। इन्टरनेटमा हजारौंले उनलाई खोजे। 'मिस नेपाल वास्तवमै रोल मोडेल क्रिएट गर्ने एउटा प्लेटफर्म हो', उनी स्वीकार्छिन्।
 
अमेरिकाको पेनसाइल्भेनियास्थित विल्क्स युनिभर्सिटीबाट मार्केटिङ एन्ड बिजिनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेकी २३ वर्षीया इभानाले अमेरिकामा रहँदा 'इन्टरनेसनल स्टुडेन्ट अफ दी इयर अवार्ड २०१४' र 'विन्स एक्सेलेन्सी मार्केटिङ अवार्ड २०१४' प्राप्त गरी शैक्षिक रूपमा आफूलाई अब्बल साबित गरिन्।

अध्ययनका क्रममा लामो समय अमेरिका बसेकी उनले अमेरिकी र नेपाली समाजलाई नजिकबाट नियालेकी छन्। 'अमेरिकामा प्राय: सेलिब्रेटीमात्रै फेसनेबल देखिन्छन्। तर, नेपालका युवा प्राय: सबै फेसनेबल छन्', इभाना भन्छिन्, 'अमेरिकामा इन्डिभिजुअलिटी र नेपालमा सोसाइटीको महत्त्व बढी छ। म यी दुवैको राम्रो पक्ष ग्रहण गरेर अघि बढ्दैछु।'
 
ललितपुरको शुभतारा स्कुलबाट प्रवेशिका उत्तीर्ण गरेकी उनलाई स्कुले जीवन सम्झँदा रोमाञ्चक अनुभूति हुन्छ। 'म नृत्यमा पारंगत थिएँ। नृत्यका कारण मलाई स्कुलमा सबैले चिन्थे', उनी स्मरण गर्छिन्, 'कार्यक्रममा नृत्य गर्दा केटाहरू लुकीलुकी हेर्थे। 

मलाई रमाइलो लाग्थ्यो।' सानैदेखि तीक्ष्ण स्वभावकी इभानाप्रति आकर्षित हुनेहरू धेरै थिए। 'कक्षा आठमा हुँदा मभन्दा सिनियर एकजना केटाले तिमीलाई मन पराउँछु भन्ने भावको चिठी लेखेर मेरै हातमा दियो। 
 
मैले दाइ भएर बहिनीलाई यस्तो चिठी लेख्ने हो भनेर गाली गरेँ', इभाना भन्छिन्, 'स्कुलमा लभलेटर लेखेर टेबलमुनि राखिदिने केटाहरू पनि त्यत्तिकै थिए।'

कलेजमा पनि उनलाई चाहनेहरू त्यत्तिकै थिए। तर शैली र स्वभाव भने फरक हुन्थ्यो। मल्पी इन्स्टिच्युटबाट ए लेभल गरेकी उनी भन्छिन्, 'कलेजमा चाहिँ केटाहरू नयाँनयाँ बाइक चढेर, हाउभाउ देखाएर प्रभावित बनाउन खोज्थे। म उनीहरूको मनोविज्ञान बुझ्थें तर कसैबाट प्रभावित भइनँ।'

विवाहका बारेका अहिले कुनै सोच नबनाएकी उनी भविष्यमा नेपालमै बसेर केही गर्ने योजनामा छिन्। 'थिङ ग्लोबल्ली, एक्ट लोकल्ली' इभानाको मूल मन्त्र हो।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.