धरहराबाट खसेकी अढाई वर्षकी छोरी दुई दिनपछि सकुशल भेट्दा..

एयरपोर्टमा काम गर्ने प्युठानका सरोज केसी शनिबार कोठामै थिए । छुट्टिको दिन खासै काम पनि थिएन । श्रीमती दानीले छोरीसँग धरहरा घुम्न जाने प्रस्ताव गरिन् ।
श्रीमतीकी बहिनी मालती र उनको साथी शरदले पनि कर गरे । तर किन हो सरोजलाई धरहरा चढ्न मन लागेन । तिमीहरु जाउ भनेर कोठामै अरु काममा लागे । श्रीमती दानी अढाई वर्षकी छोरी दीपशिखालाई सँगै लिएर बहिनी र उनको साथीसँग धरहरातिर लागिन् । दिउँसो १२ बजे भुईंचालोले सबैलाई जस्तै सरोजको पनि सातो उडायो । बल्लबल्ल भुईंचालोबाट आफू त बाँचियो । श्रीमती, छोरी, साली र उनको साथी धरहरा चढ्न गएका ! सम्झने बित्तिकै उनको हंसले ठाउँ छोड्यो । हत्तपत्त श्रीमतीलाई फोन गरे । एकपटक घण्टी गएको थियो, त्यसपछि मरिगए फोन लाग्दैन । त्यसपछि झन् ओठतालु सुके । खुट्टा काँप्न थाल्यो ।
के गरौं, कसो गरौं भनेर छटपटाइरहेको बेला सरोजले सुने–धरहरा ढल्यो ! त्यसपछि त अलिअलि भएको होस पनि उड्यो । उनी मुर्छा परे । दिउँसो अलिअलि होसमा आउँदा उनलाई अस्पतालबाट फोन आयो– तपाईंकी श्रीमती घाइते हुनुभएको छ, आउनुहोस् । श्रीमती घाइते भएर अस्पताल पुगेको थाहा भयो, तर अढाई वर्षिया छोरी, साली र साथीको अत्तोपत्तो छैन ।
उनलाई साथीहरुले मोटरसाइकलमा राखेर अस्पताल पुर्याए । अर्धबेहोस अवस्थामै श्रीमतीलाई भेटे । छोरी र सालीको सोधखोज गरे । अहँ केही पत्तो छैन । श्रीमतीको उपचार भैरहेकाले उनी छोरी खोज्न धरहरातिर लागे । त्यहाँ वरपर रहेकासँग रुँदै सोधीखोजी गरे । अग्लो धरहरा ढलेर अस्तव्यस्त छ । छोरी कतै पनि देखिँदैन । त्यहीबेला सरोजलाई कुनै मान्छेले भन्यो–तपाईंको छोरी सकुशल छ, एउटा मान्छेले लिएर गएको छ, भेट्नुहुन्छ ।
यति सुन्दा पनि सरोजलाई थोरै सास आयो । केही आश बढ्यो । तर साली र साथीको बारेमा थाहा हुन सकेन । उनी अँध्यारो मुख लगाएर अस्पताल फर्किए । अस्पताल पुगेपछि थाहा भयो, श्रीमती र छोरीसँगै गएका साली र उनको साथीको ज्यान गएछ । पीडामाथि पीडा थपियो । छोरी नभेट्दा झन् अन्योल बढ्यो । चारैतिर अन्धकार छायो । कहिले होश गुमेजस्तो, कहिले के भएजस्तो छटपटी भैरह्यो । एकातिर गम्भीर घाइते श्रीमती, अर्कोतिर साली बितेको शोक, अनि छोरी नभेटिएको पीडा !
घाइते श्रीमतीको उपचारसँगै सरोज छोरी खोज्नतिर लागे । त्यो दिन भेटिएन । भोलिपल्ट आइतबारको दिन पनि कुनै पत्तो लागेन । निराश भएर बसिरहेको बेला सोमबार अस्पतालमा अकस्मात छोरी लिएर कोही आए । 
‘छोरी देख्दा रुनु र हाँस्नु सँगसँगै भयो, एकछिन पत्यार लागेन’ त्यो क्षण सम्झँदै सरोजले भने ‘छोरीलाई देख्ने बित्तिकै अंगालो मारेर रोएँ, अनि श्रीमतीलाई देखाएँ ।’ घाइते दानी पनि छोरी देखेर बेडमै रोइन् । बाआमा देखेर छोरी पनि खुशी भइन् । निधारमा सानो चोट बाहेक छोरीलाई केही भएको छैन । 

कसरी बाँचिन होला दीपशिखा ? 

आमा, सानीमा र सानीमाको साथीसँगै धरहरा चढेकी दीपशिखा त्यसै मख्ख थिइन् । खानेकुरा र खेलौना पनि पाएकी थिइन् । ‘धरहराको कौसीमा पुगेपछि उनीहरुले फोटो खिचेछन्, त्यहीबेला भुईंचालो आउँदा सबैजना चरो खसे झैं तल आइपुगेछन्’ सरोजले भने ।
उनका अनुसार धरहरा खस्ने बित्तिकै शरद र मालती पुरिए । श्रीमती दानी र अढाई वर्षिया छोरी उछिट्टिए । तल सडकमा बजारिएर आमा घाइते भइन् । छोरीलाई केही भएन । धरहरा खसेर धुलाम्मे हुँदा आँखा पुछिरहेकी दीपशिखालाई कसैले उद्धार गरेर अस्पताल पुर्यायो । तर उनको आमा दानी हुन् भन्ने थाहा भएन । सामान्य उपचारपछि बाल हेल्पलाइन नेपालले उनलाई लिएर गयो । त्यहाँका कर्मचारीले उनको अभिभावकको खोजी गरे । त्यसपछि सरोजसँग सम्पर्क भयो र जिम्मा लगाए ।
ट्रमा सेन्टरमा उपचार गराइरहेकी आमा र कुर्न बसेका बाबुलाई भेटेपछि दीपशिखा मामाको साथमा मामाघर गएकी छिन् । ‘भगवानले छोरीलाई हात थापे’ आँशु र पीडामा डुबेर मलिन भएका सरोजले मोवाइलमा रहेको छोरीको फोटो हेर्दै भने, ‘अब उसकी आमा पनि छिटो निको भए हुन्थ्यो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.