आफू मरेर भए पनि नातिनी बचाउने हजुरआमा !!

काठमाडौं । आमा–बुबालाई आफ्नो शरीरभन्दा पनि सन्ततिको मायाँ बढी हुन्छ । यस्तै बाजे बज्यैलाई छोराछोरीको भन्दा नाति नातीनाप्रतिको माया झन् बढी हुन्छ ।
गत शनिबार गएको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकको बाँसखर्कमा यस्तै देखियो । बाँसखर्ककी ७६ वर्षीया फिल्मो तामाङले आफ्नो ज्यानको परवाह नगरी ६ वर्षीया नातिनी ग्याल्मोलाई बचाइन् । तर, उक्त घट्नामा परेर फिल्मोको ज्यान गयो ।
उनले आफु मरेर पनि नातिनीलाई बचाइन् । ममतामयी बज्यै भन्दै फिल्मो अहिले गाउँभरी चर्चाको विषय बनेकी छन् ।
गत शनिबार आएको विनाशकारी भूकम्पमा परी फिल्मोका घरमा पुरिएर मृत्यु भयो । तर, नातिनीलाई भने नयाँ जीवन दिइन् । ती बालिकाको दुई दिनपछि उद्धार गरी काठमाडौं ल्याइपुर्याइएको छ ।
बुबा सुकमान तामाङले उनलाई उपचारका लागि काठमाडौं ल्याएका हुन् । बालिका ग्याल्मोको खुट्टा भाँचिएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
‘भूकम्प जाँदा आमा र छोरीसँगै थिए” बालिकाका बुबा सुकमानले भने, भूकम्प आउने बित्तिकै आमाले नानी(छोरी)लाई खाटमुनि राखेर आफूले मास्तिरबाट ‘कुखुराले चल्ला लुकाए’झैँ गर्नुभएको रहेछ । आमालाई घरको गारोले किचिदियो, नानी बाँच्न सफल भई” उनले आँशु झार्दै भने ।
भूकम्प गएको दुई दिनपछि मात्र सुकमान घर पुगेका थिए । भूकम्पजाँदा सुकमान बनेपामा थिए । ज्यालादारी काम गर्दै आएका उनी खबर पाएपछि घर फर्केका थिए । “घरमा पुरिएका आमा र छोरीको उद्धार गर्ने क्रममा मैले छोरीलाई सकुसल भेट्टाएँ” तामाङले भने ।
छिमेकी बालिका खेन्डो तामाङले उस्तै नियति भोग्नुपर्यो । छ वर्षीया खेन्डोले पनि हजुरआमा गुमाएकी छन् ।
दुवै बालिकासहित गाउँका अन्य घाइतेलाई नेपाली सेनाले मेलम्चीबजारबाट उद्धार गरी काठमाडौँ ल्याएको छ । अहिले ट्रमा सेन्टरमा मात्र भूकम्पबाट घाइते भएका ११ जना बालबालिकाको उपचार भइरहेको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.