कहाँ-कहाँ छन १८ सय विदेशी सैनिक

काठमाडौं ।छिमेकी देश भारत, चीन र अमेरिकाका झन्डै अठार सय सैनिक अधिकारीहरू देशका विभिन्न क्षेत्रमा राहत तथा उद्धारमा केन्द्रित देखिएका छन्।

अमेरिकी दूतावासका अनुसार अमेरिकी सेनाका तीन सय २२ जना अधिकारीहरू चीनसँग सीमाना जोडिएको जिल्ला दोलखादेखि रामेछाप र काभ्रेपलाञ्चोकसहित काठमाडौंका विभिन्न भागमा खटिएका छन्। अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डले भने नेपालमा पाँच सय सैनिक अधिकारी रहने विज्ञप्तिमार्फत जनाएको अन्नपूर्ण पोस्टमा खबर छ।
अमेरिकी जल र हवाईसेना तथा मरिन कर्पसका अधिकारीहरू काठमाडौंको साँखु, दरबारमार्गस्थित फोहरा दरबार, जंगीअड्डा, त्रिभुवन विमानस्थलमा खटिएको दूतावासले जनाएको छ।
‘अमेरिकी सेनाका अधिकारीहरू भूकम्पपीडित जनताका लागि त्रिपाल, पाल, ब्ल्यांकेट, स्वस्थकर खाद्यान्न र बसोबासको व्यवस्था मिलाउन नेपाली सेना र सरकारी अधिकारीहरूसँग समन्वय गरी काम गरिहेका छन्’, अमेरिकी दूतावासका सूचना अधिकारी इनका स्टोनह्यामले अन्नपूर्णसँग भनिन्। उनले काठमाडौंबाहिर हेलिकोप्टरमार्फत खाद्यान्न र राहत सामग्री पठाउन अमेरिकी अधिकारी खटिरहेको बताइन्।
केही दिनअघि दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी सैनिक अधिकारीहरूले हेलिकोप्टरमार्फत पहाडी जिल्लाका दुर्गम इलाकामा पुगेर भूकम्पपीडितलाई सरकारी समन्वयमा राहत बाँड्ने बताएका थिए।
नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार छिमेकी चीनका नौ सय ४२ सैनिक अधिकारी यतिबेला नेपालमा खटिएका छन्। उनीहरूमध्ये केहीले सिंहदरबारभित्र मेडिकल क्याम्प सञ्चालन गरिरहेका छन् भने अन्य त्रिभुवन विमानस्थल, जंगीअड्डामा रही सेनासँगको समन्वयमा राहत वितरणमा सहभागी छन्। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने जनमुक्ति सेनाका एक हजार ८८ जना अधिकारीहरू नेपालमा परिचालित भएको जानकारी दिएको छ।
भूकम्प आएलगत्तै चीनले आठवटा आईएल-७६ विमानमा राहत तथा उद्वार कार्यदलहरू नेपाल पठाएको थियो। ‘सन् १९४९ मा नयाँ चीन स्थापना भएयता यति ठूलो संख्यामा विदेशी भूमिमा मानवीय सहायता कार्यका लागि चिनियाँ जनसेना र सशस्त्र प्रहरी बल खटिएको पहिलोपटक हो’, चिनियाँ जनसेनाका इमर्जेन्सी रेस्पोन्स अफिसका जनरल स्टाफका निर्देशक चेङ वुइवोले बेइजिङमा पत्रकारसँग भने।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएका पाँच सय सशस्त्र प्रहरी बलका अधिकारीको टोली अवरुद्ध अरनिको राजमार्ग खुलाउन खटिएको थियो। तिब्बती र नेपाली प्रहरी सम्मिलित टोलीको प्रयासपछि शुक्रबार बिहान अरनिको राजमार्ग सञ्चालनमा आएको छ।
भारतका पाँच सय ५५ जना सैनिक अधिकारी काठमाडौंको सिनामंगल, ललितपुरको लगनखेल र गोर्खाको बारपाकमा पीडितहरूलाई राहत वितरण तथा घाइतेको उपचारमा संलग्न छन्।
‘भारतबाट आएका १४१५ जना सैनिक अधिकारीमध्ये उद्धार टोलीका आठ सय ६० जना सदस्य घर फर्किसकेका छन् भने पाँच सय ५५ जना नेपालमै छन्’, प्रवक्ता पोख्रेलले भने।

0 comments

Write Down Your Responses

Powered by Blogger.