डिस्कोमा रावणलाई पक्रनासाथ जेलमा अर्कै रावण भेटिए !

काठमाडौं । सन्की भन्ने रावणजीत तामाङ शनिबार बिहान पौने २ बजे सुन्धारास्थित बेबीलोन डिस्कोबाट समातिए । फरार अभियुक्त भनेर महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रावणजीतलाई पक्राउ गरेको थियो । त्यसक्रममा प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा रावण घाइते समेत भए ।
Rawanjit-Tamang
काभ्रे नारायणस्थान गाविस ९ घर भएका रावणजीतले लागू औषध मुद्दामा १५ माघ ०६९ मा काठमाडौं जिल्ला अदालतबाट १० वर्षको सजायँ पाएका थिए ।
तर, रावणजीत खुलेआम हिँडिरहेको थाहा पाएपछि अपराध महाशाखाको फरार अभियुक्त पक्राउ गर्ने टोलीले डिस्कोमा पुगेर उनलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका अधिकारीहरु त्यसबेला चकित परे, जब भीमफेदी कारागारमा ‘रावणजीत’ कैद भुक्तान गरिहेका छन् भन्ने खबर आयो ।
कथा यस्तो रहेछ
अनुसन्धानका क्रममा रावणजीत चोरीको मुद्दामा ७५ हजार जरिवाना तिर्न नसकेर थुनामा परेका राजकुमार तामाङ बनेर जेलबाट छुटेको खुलेको छ । अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने- ‘सिन्धुपाल्चोक कारागार चलान भएको ९ दिनमा नै छुटेका रहेछन् ।’
प्रहरीका अनुसार रावणजीत ०६९ को वैशाख २१ गते पुर्पक्षका डिल्लीबजार कारागार चलान भएका थिए ।  त्यसको ६ दिनपछि मोटरसाइकल चोरीमा मुद्दामा ७५ हजार जरिवाना तिर्न नसकेपछि नुवाकोट काउलेका कुमार भन्ने राजकुमार तामाङ पनि डिल्लीबजार कारागार पुगे ।
कारगारमा रावणजीत र राजकुमार नजिकिए र एक अर्काको कैद सजायँ ढाँटेर भोग्ने सल्लाह गरे । उनीहरु ११ फागुन ०६९ मा सिन्धुपाल्चोक जिल्ला कारागार चौतारा चलान भए । बाटोमा उनीहरुले पूर्जी साटे र चौतारा पुगेको ९ दिनपछि रावणजीत राजकुमार बनेर ६४ हजार १५० तिरेर जेलबाट छुटे ।
राजकुमार चाँहि रावणजीत बनेर जेलमै बसे । रावणजीतका नाममा राजकुमार अहिले पनि कैद सजायँ भुक्तान गरिरहेका छन् ।
वैशाख १२ को भूकम्पले चौतारा कारागार भत्किएपछि अन्य कैदीहरुसँगै भागेका राजकुमार काठमाडौं आए र उनको भेट रावणजीतसँग भयो । तर, उनले राजकुमारलाई मुद्दा मिलाएर छुटाउँछु भन्दै फेरि कारागार पठाए ।
वैशाख ३१ मा भीमफेदी पुगेका राजकुमारले रावणजीत मै हुँ भन्दै कैद सजायँ भुक्तान गरिरहेका छन् । कैद बसेवापत उचित रकम दिने र मुद्दा पुनरावलोकन गरी छुटाउने आश्वासन पाएपछि राजकुमार रावणजीत बनेर जेलमा बस्न तयार भएकोे प्रहरी अनुसन्धानले देखाएको छ ।
एक व्यक्तिको नाममा अर्को व्यक्ति जेलबाट छुटेको थाहा पाएपछि अपराध महाशाखाले सम्वन्धित निकायलाई छानविनको आग्रह गरेको छ ।
प्रहरी स्रोतका अनुसार यसमा कारागार व्यवस्थापनको समेत संलग्नता हुन सक्छ । कैदी दुबै सिन्धुपाल्चोकका होइनन् र अपराध पनि त्यहाँ नभएकाले योजना अनुसार नै कारागार स्थानान्तरण गरिएको आशंका छ ।
जेलबाट छुटेपछि रावणजीतले गरेको अपराधकर्मबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/07/297378/#sthash.d0FlLwtQ.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.