अधिकृतसहित वन समितिका २५ जना अख्तियारको फन्दामा

५ पुस, काठमाडौं । तराईका विभिन्न सामुदायिक वनमा भ्रष्टाचार बढ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाका पूर्व वन अधिकृत, रेञ्जर र ७ वटा वनसमितिका पदाधिकारी सहित २५ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभियोगपत्रमा करिब साढे ३ करोड भ्रष्टाचार गरेको उल्लेख छ ।
जिल्लाका पूर्व वन अधिकृत समेत ११ कर्मचारी अख्तियारको फन्दामा परेका छन् । बारा जिल्लाका ओम नमोवुद्ध सामुदायिक वन, राधाकृष्ण, वनशक्ति महिला, शिवशक्तेश्वरी, जनशक्ति, नागमणि महिला र ब्रम्हबाबा समेतका ७ वटा सामुदायिक वनका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।
अख्तियारको फन्दामा पर्नेहरुमा जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत मोहन कोइराला, सहायक वन अधिकृतहरु श्यामकुमार निराला, बिन्दाप्रसाद पटेल, रामाश्रय यादव, अशोककुमार सिंह, अशोककुमार झा, प्रकाशकुमार बर्मा, मोहमद समिउल्लाह र राममनोहर साह छन् । त्यसैगरी रेन्जरहरु धर्मराज चौधरी, सञ्जयकुमार चौरसिया समेतका ११ जना वन कर्मचारीहरु उपर भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी सामुदायिक वनका अध्यक्षहरु सूर्यबहादुर वाइवा, मिनराज रिमाल, सीतामाया वाइवा, बिष्णुबहादुर घलान, मोहनबहादुर खड्का, मीना लामा, अमिरलाल चौधरी पनि कारवाहीमा तानिएका छन् । त्यस्तै उल्लेखित सामुदायिक वनका सचिवहरु बुद्धिकुमार तामाङ्ग, लालबहादुर कार्की, बिष्णुमाया थिङ्ग, रोशन पाखि्रन, रोवन लोप्चन, मीरा पोखरेल र राजकुमार थापासमेत १४ जना वनसमितिका पदाधिकारुी उपर भ्रष्टाचारको मुद्दा लागेको छ । ११ कर्मचारी र १४ २५ जना उपर शुक्रबार विशेष अदालत काठमाडौंमा अभियोग पत्र दायर गरिएको सापकोटाले बताउनुभयो ।
उल्लेखित वन समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा साल, सिसौ, खयर र अन्य जातका रुखहरुको छपान, कटान, मुछान, ओसारपसार र बिक्री वितरण समेतका काम कारवाही गर्दा कानून विपरीत कुल ५१ हजार ५ सय ७० दशमलव ४६ क्यूविक फिट काठ हिनामिना एवं हानी नोक्सानी गरेको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दायर गरेको उजुरीमा ३ करोड ४२ लाख ८० हजार ५ सय २२ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरिएको उल्लेख छ

0 comments

Write Down Your Responses

Powered by Blogger.