त्रिविले ११२ शिक्षकलाई कारबाही गर्ने

काठमाडौं-उपत्यकाभित्रका आंगिक र सम्बन्धनप्राप्त कलेजमा सिफ्ट जुध्ने गरी पढाउने १ सय १२ शिक्षक तथा प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गर्ने भएको छ।


विश्वविद्यालयको स्वीकृतिबिना त्यसरी पढाएको भन्दै त्रिवि कार्यकारी पषिदले उनीहरुलाई कारबाही गर्न भनेको थियो। ती शिक्षकले एकातिर बिहान, दिउसो वा साँझको कक्षा लिने र अर्कातिरसमेत सोही अवधिमा पढाउन जाने गरेको पाइएपछि परिषदले कारबाहीका लागि त्रिविलाई सिफारिस गरिसकेको छ।

परिषद सचिव गोविन्द प्रधानले त्रिवि अनुगमन समितिले दोषी भेटेका शिक्षकको नाम, कलेज, र पद तोकेरै कारबाहीका लागि सिफारिस गरेको जानकारी दिए। 'त्रिविका जागिरे शिक्षकले केही फाइदाका लागि नियमविपरीत निजी कलेजमा पढाएको पाइयो,' सचिव प्रधानले नागरिकसँग भने, 'कारबाहीका लागि नाम सिफारिस भएका दोषी शिक्षकलाई कार्याकारीले त्रिविबाट हटाउने तयारी अन्तिम चरणमा पुगेको छ,' उनले थपे, 'आगामी साताको बैठकबाट कारबाही प्रक्रियाको निर्णय टुंगिन्छ।'

त्रिभुुवन विश्वविद्यालयको अनुगमन समितिले हालै गरेको एक अनुसन्धानमा उपत्यकाका आंगिक कलेजका शिक्षकले सिफ्ट जुध्ने गरी स्वीकृतिबिनै अरु कलेजमा पढाउने गरेको भेटिएको थियो।

विष्णु मादेन संयोजकको अनुगमन समितिले उपत्यकाका तिनै जिल्लाका २ सय १२ कलेजमा अनुगमन गरेको थियो। समितिले स्थलगत भ्रमण गरी कलेजको भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, विद्यार्थी संख्या, स्वीकृत विषय, पठनपाठन प्रणाली, शुल्क, नामसारी, ठाउँसारी लगायत विषयवस्तुमा आधारित भएर अनुगमन गरेको थियो।

'विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमा पुग्दा प्रायःसबैमा आंगिक कलेजका शिक्षक आफ्नो कलेजको कक्षा छाडेर सोही समयमा पढाइरहेको भेटिए,' मादेनले नागरिकसँग भने, 'समितिले त्यस्ता १ सय १२ शिक्षक भेटेको थियो। हामीले सबै शिक्षकको नाम, कलेज र पदसमेत खुलाएर कारबाहीका लागि सिफरिस गरी त्रिवि कार्यकारी परिषदमा पेस गरेका छौं।' कतिपय आंगिक कलेजका प्रमुख पदमा रहेका शिक्षकले आफ्नो निजी कलेज सञ्चालन गरी कार्यकारी पदमा बसेको पनि उनले बताए।

समितिले दोषीको प्रकृतिअनुसार कारबाहीमा परेका शिक्षकलाई त्रिविबाट बर्खास्त, घटुवा, ग्रेड रोक्का, बढुवा रोक्का र निलम्बन गर्न प्रस्ताव गरेको छ। त्रिवि नियमअनुसार कुनै पनि आंगिक कलेजका शिक्षक तथा प्राध्यापकले अरु कलेजमा पढाउन चाहे कलेजको सिफ्ट नजुध्ने गरी त्रिविबाट स्वीकृत लिएरमात्र पढाउन पाउने व्यवस्था छ। त्रिविको पदमा बसेकाले निजी कलेजको कार्यकारी पदमा रहन पाइन्न।

त्रिविको आंगिक कलेजका शिक्षकले भने नियम मिचेर अन्त चाहर्ने गर्दा शैक्षिक स्तर खस्कँदै गएको समितिको प्रतिवेदनमा उल्लेख छ। 'आंगिक कलेजका शिक्षकले आफ्नो कक्षा छाडी केही प्रलोभनमा अरु कलेजमा पढाउनले त्रिविको शैक्षिक स्तरमै ह्रास आएको देखियो,' मादेनले भने, 'जिम्मेवार पदाधिकारीले नै आफ्नो निजी कलेज खोल्ने गरेको पाइयो।'

निजी कलेजले त्रिविका शिक्षकको नाम प्रचार गरी विद्यार्थी आकर्षित गर्दै आएको पनि मादेनले जानकारी दिए। हाल देशभर त्रिविबाट सम्बन्धनप्राप्त निजी कलेज एक हजारभन्दा बढी छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.