साधुभेषमा पिता-पुत्रको यौनलीला

जो कोहीलाई पनि धार्मिक आस्था र अन्धश्रद्धामा फरक छुट्याउन कठिन हुनसक्छ। धर्मको ठेकापट्टा गर्नेहरूले भक्तजनको यही कमजोरीको लाभ उठाउँदै दान, चन्दा, सेवा, सहयोगका साथै विभिन्न खालका योग एवं उपचारका नाउँमा करोडौं असुल्छन्। गलत नियतका साथ गरिने यस्ता कुकृत्यको पोल ढिलो चाँडो खुलि नै हाल्छ। भारतका चर्चित धर्मगुरु आशाराम बापु तथा उनका पुत्र नारायण साईले धर्मको आडमा वर्षौंदेखि गर्दै आएको यौनलीलाको रहस्यबाट पनि पर्दा उठेको छ।

प्रहरीले दुवै विरुद्ध बलात्कार र यौन शोषणका थुप्रै धारामा मुद्दा दर्ता गरेर कानुनी प्रक्रियालाई गति दिएको छ। यो प्रकरणलाई बुझ्न सबैभन्दा पहिले ७२ वर्षीय आशारामबाटै सुरु गरौं। आशाराम अहिले शरीर र आत्मालाई भूतप्रेतबाट मुक्त गर्ने विश्वास दिलाएर अगस्टको दोस्रो सातातिर आफ्नै आश्रमको गुरुकुलमा अध्ययनरत १६ वर्षीय नाबालिगविरुद्ध यौन उत्पीडन गरेको अभियोगको सामना गरिरहेका छन्। उनी साढे ३ महिनाभन्दा बढी समयदेखि राजस्थानको जोधपुरस्थित केन्द्रीय कारागृहका अति विशिष्ट पाहुना भएका छन्।

आशाराम र उक्त कुकृत्यमा उनका चार सहयोगीविरुद्ध ४ डिसेम्बरदेखि राजस्थानको जोधपुर अदालतमा सुनुवाइ भैरहेको छ। उनीहरूमाथि बलात्कार, मानव तस्करी, शरीर बन्धक र षड्यन्त्र गरेको आरोप लगाउँदै जोधपुर प्रहरीले ६ नोभेम्बरमा अदालतमा अभियोगपत्र दर्ता गरिसकेको छ। आशारामलाई कम्तीमा आजीवन कारावास हुने संभावना छ।

आशारामले सुरुमा कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी तथा उपाध्यक्ष राहुल गाँधीको विरोध गर्दा आफूलाई फसाइएको भन्दै प्रहरी प्रसासनको ध्यान अन्यत्र मोड्न खोजे। विभिन्न बहाना गरेर बसेका आशारामलाई अन्ततः प्रहरीले मध्यप्रदेशको इन्दौर आश्रमबाट पक्राउ गरेको थियो।

प्रारम्भमा आशारामविरुद्ध सरकार, राष्ट्रिय महिला आयोग तथा कट्टरपन्थी महिलाबादी संगठनहरू खुलेर बोलेनन्। प्रहरी र पीडित पक्षको एक्लो प्रयासले यौनशोषणको चिकित्सकीय प्रमाण, घट्नास्थलको मुचुल्का तथा साक्षीहरूको बयानपछि आशारामको धुत्र्याईँ असफल भयो।

को हुन् पीडित किशोरी?

पीडित किशोरी पाँच वर्षदेखि मध्यप्रदेशको छिंदवाडास्थित आशारामको गुरुकुलमा अध्ययनरत थिइन्। अगस्टको पहिलो साता उनको पेट दुख्यो। गुरुकुलका कर्मचारीले ती किशोरीलाई भूत चढेकाले अनुष्ठान गर्नुपर्ने सुझाव उनका परिवारजनलाई दिए। त्यहाँ चल्दै आएको यौनशोषणको गोप्य योजनाअनुरूप आशारामले मात्र उक्त कार्य सम्पन्न गर्न सक्ने उनीहरूले बताए। परिवारजन १३ अगस्तमा छोरीलाई लिएर आशारामकहाँ पुगे। परिवारजनलाई बाहिर राखेर आसारामले छेउको कोठामा १५ अगस्टमा अनुष्ठान गरे।

त्यसपछि परिवारजन किशोरीलाई लिएर घर फर्किए। निकै त्रसित किशोरीले हिम्मत बटुलेर १७ अगस्टमा आफ्ना बाबु-बाआमालाई आशारामले आफूसँग दुष्कर्म गरेको र कसैलाई त्यसको जानकारी दिए आश्रममा पढिरहेका उनका पाँचवर्षीय भाइको हत्या गर्ने धम्की दिएको खुलासा गरिन्।

पीडित किशोरीका मातापिता आशारामका निष्ठावान् अनुयायी थिए। दिल्लीमा जारी सत्संगका क्रममा उनीहरूले आशारामसँग भेट्न खोजे। बाबालाई भेट्न नसकेपछि उनीहरूले दिल्ली प्रहरीमा ऊजुरी हाले। यस विषयमा पूर्वजानकार आशाराम सत्संगलाई बीचमै छाडेर हिंडेका थिए। पीडीतले न्यायाधीश समक्ष दिएको बयानमा आशारामले मुख मैथुनका लागि दबाब दिएको समेत बताएकी थिइन्।

उक्त घटना राजस्थानको जोधपुर प्रहरीको क्षेत्राधिकारमा भएकाले दिल्ली प्रहरीले यो मुद्दा तत्काल जोधपुर प्रहरीलाई सुम्पियो। आशारामलाई पक्राउ गर्ने र अदालतमा ल्याउनेलाने क्रममा प्रहरी र उनका अन्धसमर्थकहरूबीच धेरै पटक झडप भयो।

महत्त्वाकांक्षी आशाराम

वास्तवमा आशारामको विगतबाटै उनमा लुकेको महत्वाकांक्षा र चाहना झल्किन्छ। आशारामको वास्तविक नाम आसुमल थौमल सिरुमलानी (हरपालानी) हो। हाल पाकिस्तानको सिन्ध प्रान्तमा कायम नबाब शाह जिल्लाको बेरानी गाउँमा सन १९४१ को १७ अप्रिलमा सामान्य परिवारमा उनको जन्म भएको थियो।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएपछि उनको परिवार भारत आएर गुजरातको अहमदाबादस्थित मणिनगरमा संघर्ष गर्न थाल्यो। उनका पिता थौमलले कोइला र काठको कारोबार गर्न थाले । आशाराम सानै हुँदा पिताको मृत्यु भयो। आमाबाट उनले योग र धर्मको ज्ञान पाए। चिया पसलबाट निर्वाह गरिरहेका आशाराम एक प्रहरी मुद्दामा परेपछि सरदार नगरमा बस्न थाले। उनले त्यहाँ मदिरा व्यवसाय सुरु गरे।

त्यसपछि उनी देश घुम्न थाले। वृन्दावनमा भेट भएका चर्चित गुरु स्वामी लिला शाहले उनलाई नयाँ नाम आशाराम दिए। कम उमेरमा विवाह गरेका आशाराम आश्रम खोल्ने लक्ष्यका साथ अग्रसर भए। उनी सुरुमा छोटो समय अहमदाबादस्थित स्वामी सदाशिवको आश्रममा बसे। गृहस्थ जीवनमै बसेर आध्यात्मिक साधना गर्न सकिने भन्दै उनी आत्मजागृति अभियानमा लागे। उनले स्थानीय व्यवसायीहरूको सहयोगमा ४ एकड भूमिमा आफ्नै आश्रम खोले।

सन १९८९ मा दिल्लीको बिडला मन्दिरमा भएको उनको कार्यक्रममा कार्यकर्ताको मद्दतले मुस्किलले डेढ सय मान्छे आए। पाँच वर्षपछि सन १९९४ मा दिल्लीको लालकिला मैदानमा भएको उनको प्रवचन कार्यक्रममा आशारामका प्रचारकले ७ हजारको भिड जम्मा गर्न सके। यस क्रममा आशाराम पटक-पटक नेपाल आएका थिए। आशारामको सत्संग तथा प्रवचन कार्यक्रम नेपालमा काठमाडौं, विराटनगर, वीरगन्जजस्ता प्रमुख सहरमा पनि सम्पन्न भएका छन्।

आशारामका लागि धार्मिक नेताको करियर निकै सफल रह्यो। यो कार्यमा उनले छोरा नारायण साई, कुशल वक्ता छोरी भारती देवी तथा पत्नी लक्ष्मीलाई सहभागि गराए। छोरी र श्रीमतीमाथि पनि आश्रमकी चेलीलाई फकाएर आशारामसम्म पुर्‍याएको आरोप लागिसकेको छ। उनीहरू हाल जमानतमा रिहा भएका छन्।

आशारामका भारत, नेपाल र अमेरिकासहित संसारभर १५ करोडभन्दा बढी अनुयायी छ। आशारामसँग अहिले ४ सय २५ भन्दा बढी आश्रम तथा ५० भन्दा बढी गुरुकुल छन्। उनको मासिक आम्दानी १६ करोड भारतीय रुपैयाँ छ। सन् २०१२ मा गुजरातकै गोधरास्थित एक कलेजमा प्रवचन दिन जाँदा निजि हेलिकप्टर दुर्घटना हुँदा उनी बाँचेका थिए।

आशाराम हल्का र विवादस्पद बयान दिएर चर्चामा आइरहन्थे। सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार काण्डका पीडितको चरित्र माथि टीकाटिप्पणी गर्दा उनको भयंकर आलोचना भएको थियो।

नारायण साई पनि पिताकै पथमा

मानसिक रूपले अस्वस्थ पीडीत चेलीले पिता आशाराममाथि गलत आरोप लगाएको दाबी गर्दै हिंड्ने आशारामका ४१ वर्षीय छोरा नारायण साई पनि अहिले गुजरात प्रहरीको थुनामा छन्। गत १३ सेप्टेम्बरमा सुरतका दुई दिदी बहिनीले आशाराम र नारायणविरुद्ध बलात्कार गरेको ऊजुरी दिएपछि 'जस्तो बाबु, त्यस्तै छोरा' उखान सत्य साबित भयो।

आशारामको पटक-पटकको जमानत अपिल र कारागारभित्रै उपचारका लागि महिला वैद्यको मागलाई अदालतले खारेज गरेपछि सुरतकी पीडित दिदीबहिनीमा आँट आएको थियो। उनीहरू पनि न्यायको ढोकासम्म पुगे। दुवै जना आशारामकै आश्रमका पूर्व स्वयंसेविका हुन्। पिताको दुर्दशा देखेपछि नारायण भने भूमिगत भएर अगि्रम जमानतका लागि कानुनी दाउपेच र मुद्दालाई कमजोर पार्न कानुनी संयन्त्र नै खरिद गर्नेतर्फ लागे।

भेष बदलेर हिंड्ने नारायणलाई अदालतले ११ नोभेम्बरमा भगौडा घोषित गर्‍यो। बलात्कारको आरोपपछि दुई महिनादेखि भागी हिंडेका नारायण प्रहरीको घेरामा परे। प्रहरीको जम्बो टोलीले ४ डिसेम्बरमा उनलाई तीन सहयोगीसहित दिल्ली-हरियाणा बोर्डर कुरुक्षेत्रको पीपलीबाट पक्राउ गर्‍यो। मोबाइल फोनलाई ट्रयाकमा राखेर पक्राउ गरिएका नारायण नेपाल आउने योजनामा रहेको प्रहरीले जनाएको छ।

उनका बारेमा सूचना दिनेलाई प्रहरीले ५ लाख भारतीय रुपैयाँ नगद दिने घोषणा गरेको थियो। प्रहरीले नारायण चढेको गाडीबाट १ सय ३० वटा सिमकार्ड, लाखौ भारतीय रुपैयाँ नगद तथा ३० वटा यौनवर्द्धक क्याप्सुल भियाग्रा बरामद गरेको थियो। नारायणले आश्रमकी एक युवतीलाई सँगै लिएर हिंडेका थिए।

अदालतमा उपस्थित गराउन तथा चिकित्सकीय जाँचका लागि लाँदा-ल्याउँदा महिला भक्तजनले नारायण हिंड्ने बाटोमा फूल बर्साएका थिए। नारायणले अनुसन्धान शाखाका अधिकृतहरूलाई बयानको साटो मुस्कुराउँदै प्रवचन दिएर भुलाउन खोजे, तर प्रहरी अधिकृतहरूले उनलाई हप्काउँदै अदालतमा उपस्थित भएर सफाई दिनु भन्दै कडाइका साथ अनुसन्धान जारी राखे।

प्रहरीले नारायणमाथि यौन दुव्र्यवहार, अप्राकृतिक यौनसम्बन्ध, यौन उत्पीडन, यौन व्यवसाय चलाएको, शरीर बन्धक र घातक हतियारसहित दंगा गरेको आरोप लगाएको छ। नारायणले बलात्कार गरेको कुरा अस्वीकार गरे पनि ती युवतीसित सहमतीमा यौन सम्बन्ध कायम भएको बयान दिएका छन्। उनले प्रहरीलाई अन्य ८ महिला अनुयायीसँग पनि यौन सम्बन्ध रहेको बताएका छन्।

सन् १९७२ को २९ जनवरीमा अहमदाबादमा जन्मिएका नारायणको वास्तविक नाम नारायण सिरुमलानी हो। आफूलाई धार्मिक नेता, गायक, गीतकार तथा कवि भन्ने नारायणलाई भक्तजनले नारायण प्रेम साई तथा साईजी भनेर सम्बोधन गर्थे। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले हिन्दु राष्ट्रवादी राजनैतिक दल ओजश्वी पार्टी खोलेका थिए।

नारायणले प्रमाण मेट्न र आफूलाई जेलमा राहत पुर्‍याउन १३ करोड भारतीय रुपैयाँ वितरण गरेका थिए। उनीसँग नगद लिएको आरोपमा सुरत अपराध अनुसन्धान शाखाका ५ जना प्रहरी पक्राउ परेका छन्। उनीहरूको घर, कार तथा निकटका व्यवसायीहरूको निवासबाट ५ करोड भारतीय रुपैयाँ बरामद भैसकेको छ।

उनीहरू त्यो रकम अनुसन्धान अधिकृत, चिकित्सक तथा अदालतका कर्मचारीसम्म पुर्‍याउने योजनामा थिए। ती प्रहरीविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन एवं भारतीय प्रहरी सेवा ऐनअन्तर्गत ऊजुरी दर्ता भएको छ। नारायणका विरुद्ध उनकी श्रीमती शिल्पाले पनि बयान दिएकी छन्। शिल्पा पहिले नारायणकै महिला भक्त थिइन्।

आश्रमकी सेविका जमुनासँगको अबैध सम्बन्धबाट नारायणको एक पुत्र पनि जन्मिएको थियो। नारायणले सन्तान प्राप्ति र तेजस्वी सन्तानका लागि शिविर नै चलाउने अर्की सेविका गंगाले बयानमा उल्लेख गरेकी छिन्। नारायण शिविरमा सुन्दर र सम्पन्न महिलाहरूको छनौट गर्थे। उनी आफ्ना पिता झैं सांकेतिक भाषा प्रयोग गर्दै महिलालाई प्रसादका नाममा यौनउत्तेजक औषधी दिन्थे।

भगवान्झैं पुजिने उनीहरूका भक्तजनमा महिला, पुरुष, वृद्धदेखि लिएर बालबालिकासम्म सामेल छन्। उनीहरू १० हजार करोड भारतीय रुपैयाँ बराबर सम्पत्तिका मालिक हुन्। सडकदेखि सत्तासम्म राम्रै पहुँच भए पनि भारतमा बलात्कारसम्बन्धी कडा कानुन, सशक्त नागरिक समाज तथा प्रभावकारी सञ्चारमाध्यमका अगाडि आशाराम र छोरा नारायणको कुनै जुक्तिले काम गरेन।

उनीहरूविरुद्ध देशभर जग्गा अतिक्रमण गरेर आश्रम बनाएको, तन्त्र-मन्त्रको नाममा आश्रममै पढ्ने दुई बालकको हत्या गरेको तथा सञ्चारकर्मीविरुद्ध कुटपिट गरेको थुप्रै आरोप थियो। उनीहरूका कतिपय अबैध आश्रमलाई स्थानीय प्रशासनले भत्काइसकेको छ। उनीहरूले सत्संग गर्ने बहानामा कब्जा गरेको सयौं एकड जग्गा राज्य सरकारले फिर्ता लिएको छ।

उनीहरूविरुद्धका यस्ता थुप्रै मुद्दा विचाराधीन पनि छन्। ताजा यौनकाण्डले भने बाबु र छोराको वर्षौंको साखलाई क्षणभरमै धूलो बनाएको छ। भारतमा सेलिब्रेटी बाबाहरूसँग जोडिएको यो पहिलो घट्ना भने होइन। यसअघि सन २०१० मा भारतको बेंगलोरका स्वामी नित्यानन्द बलात्कार र यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेर जमानतमा छुटिसकेका छन्। विश्वभरका राजनेता, राजघराना एवं हलिउडसम्म पहुँच भएका हैदराबादका चन्द्रा स्वामी पनि सन १९९६ मा आर्थिक एवं चारित्रिक कारणले विवादमा आएका थिए।

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.