कोरियामा यौनजन्य अभियोगमा नेपालीसँग सोधपुछ

१३ माघ, सउल । दक्षिण कोरियामा रोजगारीको लागि पुगेका नेपाली युवाहरू यौन विवादमा मुछिएका छन् । एक चिनियाँ महिलाले अवैधानिक रूपमा सञ्चालन गरेको कोठीमा प्रहरीले गत साता छापा मार्दा उक्त कुरा खुलासा भएको हो । केही वर्षदेखि कोरियाको आन्सान सहरमा यौन व्यवसाय गर्दै आएकी ती महिलाको मोबाइल सेटमा रहेका नम्बर रेकर्डका आधारमा नेपाली युवाहरुको संलग्नता खुलेको हो ।
प्रहरीले करिब चार सय विदेशीसहित दुई दर्जन नेपालीलाई अनुसन्धान अघि बढाएको छ । अभियुक्त महिला हाल आन्सानस्थित प्रहरी हिरासतमा छिन् । हालसम्म प्रहरीले एक दर्जन नेपालीलाई बयान लिइसकेको भाषा अनुवादका लागि प्रहरी कार्यालय पुगेका बुद्धि गुरुङ्गले बताए । ती महिलाले धेरै पैसा दिने ग्राहकलाई प्राथमिकता सूचिमा राखेको र उक्त वर्गमा नेपाली पनि रहेको तथ्य फेला परेको हो । प्रहरीले ती महिलाको प्राथमिकता सूचिमा रहेका ग्राहकलाई बयान लिइरहेको गुरुङले जानकारी दिए ।
ती महिलाले फोन सम्पर्कको माध्यमले यौनधन्दा चलाइरहेको प्रहरीको दावी छ । प्रहरीको छानवीन सफल भएमा अवैधानिक रूपमा यौन व्यवसाय सञ्चालन गर्ने र संलग्न हुने सबैलाई दण्ड जरिवानासहित देशनिकाला गरिने कोरियाली कानुनमा उल्लेख छ । दर्जनौ नेपाली युवाहरु प्रहरी अनुसन्धानमा परेपनि आफूहरुलाई जानकारी नआएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ । ‘घटना दुःखदायी हो’ नेपाली दूतावासका श्रम सहचारी अनिल गरुङ्गले भने ‘तर औपचारिक जानकारी पाएका छैनौं ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.