सयौं गोर्खा सैनिकले जागिर गुमाउँदै

लण्डन । (एएफपी) बेलायती सेनामा रहेको गोर्खा ब्रिगेडका सयौं नेपालीहरुले जागिर गुमाउने भएका छन् । बेलायत सरकारले सैनिक कटौती अभियानलाई अन्तिम चरणमा पुर्‍याएपछि त्यसको पहिलो निसाना गोर्खा सैनिक बनेका छन् ।
सरकारले १५ सय बढि सैनिक कटौती गर्न लागेको बताएको छ । जसमध्ये करिव झण्डै साढे तीन सय गोर्खा सैनिक रहने छन् । जम्माजम्मी ३ हजार ५ सय संख्यामा रहेको गोर्खा ब्रिगेडबाट हरेक ८ जनामध्ये एकजनाले जागिर गुमाउने छन् । यो अनुपात अन्य युनिटको भन्दा निकै धेरै रहेको हो । अन्य युनिटको तुलनामा बढि अनुपातमा गोर्खा सैनिक कटौती गरिएको भन्दै त्यहाँ कार्यरत गोर्खाहरु भने असन्तुष्ट बनेका छन् ।
बेलायत सरकारले बिहीवार जनाएअनुसार सैनिक कटौती अभियान अन्तिम चरणमा पुगेको छ । हवाई सेना, जल सेना लगायतका युनिटबाट सैनिक कटौती गर्न लागिएको छ । यसबारे रक्षा सचिव फिलिप ह्यामोण्डले संसदलाई जानकारी गराएका छन् ।
सन् २०१० मा प्रधानमन्त्री डेभिड क्यामरुनको संयुक्त सरकारले सैनिक कटौती अभियान थालेको थियो । हाल १ लाख २० हजारको संख्यामा रहेको सेनालाई सन् २०२० सम्ममा ८२ हजारमा झार्ने सरकारको योजना छ ।
नेपाली गोर्खा सैनिक झण्डै २ सय बर्षदेखि बेलायती सेनाको अंग बनेर लडाईंको मैदानमा छन् । पहिलो र दोस्रो बिश्वयुद्धमा करिव २ लाख नेपालीहरुले बेलायतका लागि लडेका थिए जसमध्ये करिव ४५ हजारले युद्ध मैदानमा ज्यान गुमाएका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.