सरकारीमा हाजिर, निजीमा जागिर

गोरखा-गोरखा अस्पतालमा दरबन्दी रहेका विशेषज्ञ डाक्टरले निजी अस्पताल र क्लिनिकमा काम गर्ने गरेको पाइएको छ।


अस्पताल प्रमुख स्त्रीरोग विषेशज्ञ डा. केशवराज भुर्तेल र डा. जागेश्वर गौतम चितवनको स्वास्थ्य संस्थामा काम गर्दै आएका छन्। अस्पताल प्रमुख भुर्तेल एकै महिनामा लगातार १० दिन यहाँ बसेको रेकर्ड छैन। मंसिरमा ७, ८, ९ र ३० गतेमात्रै उनी अस्पतालमा हाजिर भएका छन्। अस्पतालको प्रशासनिक काम र व्यक्तिगत समस्या देखाउँदै उनी थोरै दिनमात्रै जिल्ला अस्पताल आइपुग्छन्। उनले पुसमा १५ दिन हाजिर गरेका छन् तर बिरामी जाँचेको रेकर्ड अस्पतालमा छैन।

अर्का विषेशज्ञ डाक्टर जागेश्वर गौतमले मंसिरमा २२ दिन हाजिर गरेको देखिन्छ। तर, हाजिर भएका कुनै पनि दिन उनी पूरै समय अस्पतालमा बसेका थिएनन्। पुसमा तीन साताको हाजिर गरेर पाँच दिन (पुस २७ सम्म) बिदा लिएका उनी अहिलेसम्म अस्पताल फर्किएका छैनन्। गौतमको पाँच दिन बिदा स्वीकृत गरेको चिठी अस्पतालमा छ। तर, उनी माघ दोस्रो साता सुरु भइसक्दा पनि हाजिर भएका छैनन्।

यी दुवै डाक्टर चितवन मेडिकल कलेजका सेयर सदस्य हुन्। लामो समयसम्म त्यहाँका मेडिकल र स्वास्थ्य संस्थामा काम गरेका यी डाक्टरले सरकारी सेवामा पदोन्नतिका लागि दुर्गम कोटामा रहेको गोरखा जिल्लामा सरुवा मिलाएका हुन्। ग्रामीण भेगको स्वास्थ्य संस्थामा बसेर काम गरेका चिकित्सको उच्च मूल्यांकन हुने भएकाले यी विषेशज्ञ डाक्टरले गोरखा सरुवा मिलाएका थिए। मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दीमा आएका स्त्रीरोग विशेषज्ञ भुर्तेलले स्त्रीरोग विषेशज्ञको दरबन्दीमा गौतमलाई ल्याएका हुन्। उनीहरू दुवै १०औं तहका हुन्।

बिरामीको चाप नहुने र खाली बस्नु परेकाले विषेशज्ञ चिकित्सकलाई सधैं यहीं राख्न नसकिएको अस्पताल प्रमुख भुर्तेल बताउँछन्। उनीले अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक ल्याउन पहल तथा अस्पताल सुधारका लागि मन्त्रालय र विभिन्न निकायमा धाउनुपरेकाले अस्पताल बस्न समय नमिलेको बताउँदै आएका छन्।

गत वर्ष ५० शैयाको स्वीकृति पाएको गोरखा अस्पताल त्यसयता विकास समितिको संरक्षणमा सञ्चालन हुँदै आएको छ। अस्पताल विकास समितिले चिकित्सकलाई नियमित अस्पतालमा राख्न सकेको छैन। सरकारी सेवा–सुविधा उपभोग गरेका डाक्टरले निजीमा काम गर्न धेरै रुचि देखाउने भएकाले बिरामीले सास्ती खेप्नुपरेको छ। गोरखा अस्पताल आएका महिलालाई नाम दर्ता गराएर शिविर हुने दिन दुईपटक अस्पताल आउनुपर्ने नियम लगाइएको छ। 'एक–दुई जनाको उपचार गर्न झन्झट हुने भएकाले' धेरै महिलालाई जम्मा पारेर एकै दिन उपचार गर्ने गरेको डाक्टरहरु बताउँछन्।

विषेशज्ञ डाक्टरको बारेमा गुनासो गर्दा उनीहरुलै जिल्ला छाडेर अन्यत्रै जाने समस्या आउन सक्ने भन्दै अस्पतालले सर्वसाधारणलाई डाक्टरले भनेको दिनमात्रै उपचारका लागि आउन आग्रह गरेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.