भूकम्प आएपछि ठूला नेताले के-के गरे ?

काठमाडौं । दुई साता अघि महाभूकम्प गएपछि नेपाली मिडियामा ठूला नेताहरुको चर्चा एकाएक सेलाएको छ । चर्चा छ केवल नेताहरुको आलोचना र गालीमात्रै । आखिर यो दुई साताको कहालीलाग्दा दिनहरुमा हाम्रा नेताले केके काम गरे ? अनलाइनखबरको एक रिपोर्ट :
day schedule of politicians
राष्ट्रपति डा. रामवरण यादव
भूकम्प आएपछि राष्ट्रपति डा. रामवरण यादवले गृहमन्त्रीलाई टेलिफोन गरेर उद्दार कार्यलाई तीव्र बनाउन आग्रह गरे । भूकम्पका कारण शीतलनिवासमा क्षति भएपछि पाँच दिनसम्म राष्ट्रपति पनि खुल्ला चौरमा त्रिपालमा बसे । अहिले जनताको घरजस्तै राष्ट्रपतिको निवासमा पनि सामान्य क्षति पुगेकाले राष्ट्रपतिको आवास परिवर्तन भएको छ । उनी शीतलनिवासकै प्रभात हलमा सरेका छन् ।
भूकम्पपछि डा. यादवले शिक्षण अस्पताल र वीर अस्पतालमा पुगेर बिरामीहरुको अवस्थाबारे बुझेका छन् । त्यसैगरीले उनले क्षतिग्रस्त दरबार स्क्वायर र सुनधाराको स्थलगत भ्रमणसमेत गरे । राष्ट्रपतिको हैसियतले प्रधानमन्त्री र प्रधानसेनापतिसँग डा. यादवले ब्रिफिङ लिँदै आएका छन् ।
विगतमा राजाले भूकम्प प्रभावित क्षेत्रमा घुमेर आफ्नै हातले राहत रकम घोषणा गर्ने गरेको भए पनि हाल राष्ट्रपतिको भूमिका त्यस्तो नहुने शीतलनिवास स्रोतले बताएको छ । ‘मान्छेले राजाजस्तै सोच्छन्, तर राष्ट्रपतिज्यूको भूमिका त्यस्तो हुँदैन,’ शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो,’ कतै भ्रमणमा निस्कँदा राहत र उद्दारमा असर नपरोस् भने उहाँ बाहिर निस्कनुभएको छैन ।’
राष्ट्रपतिले अहिलेसम्म भूकम्प पीडितका लागि आफ्नो तर्फबाट राहत प्रदान गर्ने घोषणा गरेका छैनन् । मेडिकल डाक्टरसमेत रहेका राष्ट्रपतिसँग विारमीको उपचार गर्ने दक्षता भए पनि उनलाई आफ्नो जिम्मेवारीले शीतलनिवासभित्रै खुम्च्याएको राखेको छ ।
प्रधानमन्त्री सुशील कोइराला
Sushil-Koirala-at-Gorkha
प्रधानमन्त्री सुशील कोइराला भूकम्पका बेला इण्डोनेसियाको जकार्तामा थिए । भूकम्प आएको सुन्ना साथ नेपाल र्फकन खोजे पनि एयर ट्राफिकका कारण भोलिपल्ट फर्केका प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्यको समेत ख्याल नगरिकन सक्रिय बनेका छन् ।
बैंककमा स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश र्फकने कार्यसूचि भए पनि प्रधानमन्त्री कोइराला स्वास्थ्यजाँच नगरी नेपाल फर्के । ‘अहिले उहाँले आफ्नो स्वास्थ्यको ख्याल गर्नुभएको छैन, बिहानदेखि रातिसम्म विपत व्यवस्थापनमा खटिनुभएको छ,’ प्रधानमन्त्री कोइरालाका एक सहयोगीले अनलाइनखबरसँग भने, ‘पीडितहरुका लागि अहिले सरकारबाट जे जति काम भइरहेको छ, सबै प्रधानमन्त्री कोइरालाकै नेतृत्वमा भएको हो, स्वदेशी तथा विदेशी सरोकारवालाहरुसँग बैठक बस्ने र आवश्यक निर्देशन दिने काममा प्रधानमन्त्री खटिरहनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले यसवीचमा धादिङ, रसुवा, नुवाकोट, गोरखा र सिन्धुपाल्चोकको स्थलगत भ्रमण गरेर पीडितहरुको अवस्थाबारे बुझेका छन् । यसवीचमा प्रधानमन्त्री कोइरालाले राष्ट्रका नाममा सम्बोधनसमेत गरे र सबैलाई पीडितहरुको उद्धारमा खट्न आग्रह गरेका छन् ।
केपी ओली
Sushil,-KP-and-Prachand-at-
भूकम्प गएको डेढ घन्टाभित्र एमाले कार्यकर्तालाई उद्धारमा जुट्न एमाले अध्यक्ष केपी ओलीले आहृवान गरे । प्रधानमन्त्री लगायतसँग भेट गरेर राहत तथा उद्धारमा तदारुकता लिन पहल गरे । संविधानसभा र संसदको बैठक बोलाउन पहल गरे ।
बैशाख १३ गते स्थायी कमिटी बैठक बस्यो । पार्टी कार्यालय भवन भत्किएकाले खुला चौरमा बसेको थियो । पार्टीका बैठकहरु गरेर पार्टी कार्यकर्तालाई उद्धार तथा राहतमा अध्यक्ष ओलीले परिचालन गरे ।
गोकर्ण विष्टको नेतृत्वमा भोलिन्टियर दस्ता बनाएर परिचालन गरियो । २३ गते प्रधानमन्त्री सुशील कोइराला र प्रचण्डसँग ओली रसुवा, धादिङलगायतका भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा निस्किए । ‘राहत बाँड्न भनेर पोको बोकेर जानुभएको छैन’ स्वकीय सचिव इन्द्र भण्डारीले भने, तर ‘राहत तथा उद्दारका लागि अन्तराष्ट्रिय लबिङमा समेत लाग्नुभएको छ ।’
ओलीले विहीबार एमाले संसदीय दलको बैठक राखेर राहत तथा उद्दारसम्वन्धी प्रस्तावहरु पारित गराएका छन् ।
प्रचण्ड
वैशाख १२ गते भूकम्प आएलगत्तै प्रचण्डले विज्ञप्ति निकालेर पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा जुट्न सबै नेता-कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर उद्धार कार्यबारे चासो राखे । व्यवस्थापिका संसदको बैठक राख्न आग्रह गरे ।त्यसपछि प्रचण्ड बिभिन्न बैठक तथा छलफलमा जुटे । पार्टीको तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको एमाओवादीले हरेक सभासदहरुको एक-एक महिनाको तलव समेत राहत कोषमा जम्मा गरेको छ ।
Prachand-Kirtipur
वैशाख १४ गते बसेको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको बैठकले सरकारसँग मिलेर विपत्तिको सामना गर्ने निर्णय गर्‍यो । सोही बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय उद्धार तथा राहत सहयोग समिति गठन गर्‍यो । १५ गते बसेको स्थायी समितिको विस्तारित बैठक बस्यो ।
वैशाख १८ गते वरिष्ठ नेता डा. बाबुराम भट्टराईलगायतका नेताहरुसँग प्रचण्ड कीर्तिपुर नगरपालिका १४ र १५ का भूकम्पपीडितहरुलाई भेटघाट र राहत बाँड्न निस्किए । उनले सोही दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगायतका बिभिन्न अस्पतालमा उपचाररत घाइतेहरुसँग भेटघाट गरेका थिए । १९ गते ललितपुरको हरिसिद्धि पुगेर प्रचण्डले राहत बाँडे ।
२० गते प्रचण्ड राहत बाँड्न सिन्धुपाल्चोक पुगे । सोही दिन उनी मेलम्ची समेत पुगे । २१ गते प्रचण्ड भक्तपुरको दधिकोट गाविसका वडा नम्बर ७ र ८ मा खाद्यान्न लगायतका राहत सामाग्री बाँडेका थिए । उनले त्रिपालमुनि बसेका पीडितहरुसँगै केही समय बिताएको प्रचण्डका सहयोगी शिव खकुरेलले अनलाइनखबरलाई बताए ।
वैशाख २२ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँगै प्रचण्ड रसुवा, नुवाकोट र धादिङका भूकम्प पीडितहरुको अवस्था बुझ्न गए । वैशाख २४ गते विहीबार प्रचण्डले बिहान तीन दलको बैठक र दिउँसो व्यवस्थापिका संसद बैठकमा बिताए ।
शेरबहादुर देउवा
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भूकम्प पीडितलाई व्यक्तिगत तर्फबाट सबैभन्दा बढी चन्दा दिने नेता ठहरिएका छन् । देउवा दम्पतीले भूकम्प आएलगत्तै शिक्षण अस्पतालमा पीडितलाई औषधि किन्न ५ लाख नगद सहयोग गरेका थिए ।
‘अर्कै प्रयोजनका लागि हामीसँग ५ लाख रुपैयाँ थियो, त्यही पैसा औषधि किन्नका लागि अनुदान दियौं,’ सभासद एवं देउवा पत्नी आरजू राणाले अनलाइनखबरसँग भनिन्-‘पाटन अस्पतालमा २७ लाख बराबरको औजार खरिदमा सहयोग जुटाइदिने काम पनि गरेका छौं ।’
पूर्वप्रधानमन्त्री देउवा यसवीचमा काठमाडौंको गोकर्ण, भक्तपुर र सोही जिल्लाको नगरबोटमा पीडितलाई भेट्न एवं राहत बाँड्न पुगेका छन् ।
अब देउवा सिन्धुपाल्चोक, गोरखा र चितवनमा राहत वितरणका लागि जान लागेको आरजूले जानकारी दिइन् । गैरसरकारी संघ संस्थामा सक्रिय रहेकी आरजूले भनिन्-‘हामी १ करोड ५० लाख फण्ड जुटाउने अभियानमा छौं, अहिलेसम्म ५० लाखजति जुटिसकेको छ ।’
माधवकुमार नेपाल
भूकम्प आएको केही घन्टापछि नै राहत तथा उद्धारमा सक्रिय हुन नेता नेपालले सबैलाई अपील गरे । नेपाल त्यसपछि निरन्तर उद्धार तथा राहतको काममा सक्रिय रहेको उनका स्वकीय सचिव मोहन गौतमले अनलाइनखबरलाई जानकारी दिए ।
भूकम्प आउँदा भैरहवामा रहेका नेता नेपाल १३ गते काठमाडौं आए र पार्टी कार्यालय बल्खु पुगेर क्षतिको अवलोकन गरे । पार्टी स्थायी कमिटीको बैठकमा सहभागी भए । नेता नेपालले १४ गते कोटेश्वर, बानेश्वर, शान्तिनगर क्षेत्रमा घर बाहिर बसेका जनसमुदायसँग भेटघाट गरे । १५ र १६ गते उद्धार तथा राहतका लागि पहल तथा योजना निर्माण गर्न एमालेको आन्तरिक तथा सरकारद्वारा आयोजित छलफलमा सहभागी भए ।
Madhav-Nepal
भूकम्प प्रभावित साँखु क्षेत्रमा उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन समन्वय गर्नुका साथै राहत सामग्री पठाउन पहल नेता नेपालले पहल गरे । वैशाख १७ गते नै काठमाडौं ३५ र ९, मूलपानी र गोठाटार क्षेत्रका आफ्ना कमदाता र कार्यकर्ताहरुसँग भेट गरी उद्धार तथा राहतमा लाग्न निर्देशन दिए । साँखुमा विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रदान गरेको राहत सामग्री वितरणमा नेता नेपाल सहभागी भए ।
एमाले नेता नेपालले काठमाडौं-५ अन्तर्गतको धर्मपुर र बूढानीलकण्ठमा गई भूकम्प प्रभावित क्षेत्रको अवलोकन एवं मृतकका परिवारजनसँग भेटेर समवेदना प्रकट गरे । वैशाख २० गते विभिन्न संस्थाहरुबाट प्राप्त १ हजार बोरा चामल डाँछी, इन्द्रायणी, साँखु, लप्सेफेदी, सुन्टोल, बज्रयोगिनी, नाङ्लेभारे, घुमारचोक, भुल्भु लगायतका स्थानहरुमा वितरण गरे ।
दिनभरि सक्रिय रहने नेता नेपालले वैशाख २२ गते बी एण्ड बी अस्पताल पुगेर भूकम्पमा परेका घाइतेहरुको स्थास्थ्य स्थितिबारेमा जानकारी लिए । २३ गते भोटेचौर, नाङ्लेभारे, पटाप, लप्सेफेदी, सुन्टोल, खुलालटार लगायतका स्थानहरुमा मदन-आश्रति स्मृति प्रतिष्ठानद्वारा संकलित राहतलाई हस्तान्तरण गरे । नेपाल विहीबार काठमाडौँ क्षेत्र नं ७ मा राहत प्रदान गर्न गोलढुुङ्गा र जितपुर फेदीमा पुगेका छन् ।
झलनाथ खनाल
एमाले वरिष्ठ नेता झलनाथ खनाल वैशाख १२ गते भूकम्प आउँदा गृह जिल्ला इलाममा क्षेत्रीय अधिवेशन र विकास निर्माण कार्यक्रमको अनुगमन, निरिक्षण तथा अन्तरक्रियामा थिए । भूकम्पको २ दिनपछि उनी काठमाडौं फर्किए । १५ गते उनले भूकम्पले क्षति पुर्‍याएको धरहरा, बसन्तपुर दरबार, पाटनको कृष्ण मन्दिर लगायतका क्षेत्रको निरिक्षण तथा अवलोकन गरे ।
एमाले नेता खनालले वैशाख १६ गते आफ्नो घर नजिकै रहेको काठमाडौंको डल्लु आवास क्षेत्रका बासिन्दासँग भेटघाट र छलफलमा बिताए ।वैशाख १७ गते ललितपुरको सिद्धिपुर पुगेर ५०० पीडित घर परिवारलाई चामल, दाल लगायतका खाद्यान्न सामाग्रीहरू वितरण गरे ।
१८ गते भूकम्पले क्षतिग्रस्त बल्ख्ाुस्थित पार्टी कार्यालय र चक्रपथ वरपरको क्षतिग्रस्त भौतिक संरचना अवलोकन गरेका खनालले २० गते स्वयम्भू मन्दिर क्षेत्रमा पुगेका थिए । गोंगबुमा राहत वितरण कार्यक्रममा पनि उनी सहभागी भए ।
२२ गते काठमाडौंको धर्मस्थली नगरपालिका १३ मा राहत वितरण गरी खनालले पीडितहरूसँगै बसेर खाना खाएका थिए । उनले २३ गते डल्लु आवास क्षेत्रका १५ वडाका बासिन्दाहरूको क्षतिग्रस्त भौतिक संरचना अवलोकन, निरीक्षणका साथै समस्याबारे जानकारी लिएका थिए ।
डा. बाबुराम भट्टराई
एमाओवादी नेता डा. भट्टराईले भूकम्प गएपछि काठमाडौंको विभिन्न स्थानको अवलोकन गरे । लगत्तै वीरसहितका अस्पतालहरुमा पुगेर घाइतेको अवस्था बुझेका छन् ।
Baburam-Bhattrai
उनले तीन दिनसम्म गोरखामा तीनवटै निर्वाचन क्षेत्रमा पुगेर भूकम्पले गरेको क्षतिबारे जानकारी लिए । आफू जानुअघि उनले एक हजार त्रिपालसहित ६ ट्रक राहत सामाग्री जिल्ला प्रशासन कार्यालय गोरखामा पुर्‍याए ।  डा. भट्टराईले भूकम्प प्रभावित अन्य जिल्लामा राहत पुगे नपुगेकोबारे जानकारी दिने र आवश्यक ठाउँमा राहत र हेलिकोप्टर पुर्‍याउन सहयोग गर्दै आएका छन् । उनी छिट्टै सिन्धुपाल्चोक, रसुवा र नुवाकोटको भ्रमणमा जाने तयारीमा छन् ।
साथै नेता भट्टराई भूकम्पपछिको पुनः निर्माणको योजना बनाउन सक्रिय रहेको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
कमल थापा
राप्रपा नेपालका अध्यक्ष थापाले १२ गते नै रक्तदान कार्यक्रम गरे । भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको खबर पाएपछि थापा आफैंले रक्तदान गरे । पार्टी कार्यकर्तालाई रक्तदान गर्न निर्देशन दिए । १३ गते स्थलगत भ्रमणमा गोंगबु, सीतापाइला, बुढानीलकण्ठ, धरहरा, बसन्तपुर लगायतका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरे ।
Kamal-thapa
पार्टीको आकस्मिक बैठक राखेर देशभर उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा नेपालले भूकम्प नगएका जिल्लाका संयन्त्रहरु प्रिचालन गरेर राहत संकलन गर्न सुरु गरेको छ । केन्द्रीय कार्यालयमा संकलन गरिएका राहत सामाग्रीहरु १५ गते प्रभावित १२ जिल्लामा एक-एक ट्रक पठाइयो ।
प्रत्येक जिल्लामा सय-सय बोरा चामलसहित त्रिपाल लगायतका राहत पठाइएको श्रेष्ठले बताए । राहत लिएर थापा आफैं सिन्धुपाल्चोक गएका थिए ।  थापाले २१ र २२ श्रमदानसमेत गर । २१ गते सीतापाइला र २२ गते धर्मस्थलीमा उद्धार र भग्नावशेष हटाउन सहयोग गरेका छन् । त्यसपछि थापा राहत कोषका लागि अर्थ संकलनको काममा जुटेका छन् । रगत दान गरेका थापाले कोषमा व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँ नगदसमेत दान गरेका छन् ।
उपेन्द्र यादव
Puendra-yadav
२० गते भक्तपुरमा राहत वितरण । चामल, चिउरा, त्रिपाल लगायतका राहत सामाग्री वितरण । बिराटनगर, पर्सा लगायतका क्षेत्रमा राहत संकलन । अहिले पनि राहत संकलनको काम भइरहेको यादवका स्वकीय सचिव सञ्जय यादवले जानकारी दिए ।
नारायणकाजी श्रेष्ठ
त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पीडितको उद्धारमा सक्रिय छन् । एमाओवादी उपाध्यक्ष श्रेष्ठ आफ्नो गृह जिल्ला गोरखाको जौबारीमा पुगेर राहत वितरणमा सहभागी भए । त्यसैगरी उनले आफ्नो निर्वाचनक्षत्रेसमेत रहेको मकवानपुरमा १० गाविसमा भ्रमण गरे । त्यहाँ राहत वितरणमा स्थानीय शिक्षक, र गाउँलेहरुको समिति बनाएर न्यायोचित प्रवन्ध गर्ने प्रयास गरे ।
उपाध्यक्ष श्रेष्ठले ललितपुरमा आफू बस्ने हरिशिद्धी क्षत्रेमा भएको क्षतीको अवलोकन गरे । त्यसैगरी ललितपुरका लुभु, ठैव, बाँडेगाउँ र चापागाउँको अवलोकन गरे । बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्नेदेखि केन्द्रीय दैवी प्रकोप उद्धार केन्द्रमा प्रचण्ड र बाबुरामसँगै पुगेर सरकारी कामबारे चासो राखे ।
एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतम गृहमन्त्रीको हैसियतका पीडितहरुको पक्षमा रहेका छन् । एमाले उपाध्यक्ष विद्या भण्डारी, कांग्रेस उपसभापति रामचन्द्र पौडेलको पनि सक्रियता बढेको भनिए पनि भूकम्पपछि धेरै नेताहरु मिडियामा छायाँमा परिरहेका छन् । विजयकुमार गच्छदार, राजेन्द्र महतो लगायतका नेताहरुको मिडियामा चर्चा हुन छाडेको छ ।
भूकम्पसँगै मिडियाबाट छायाँमा परेको र भूकम्प पीडितहरुबाट चर्को आलोचना खेप्नुपरेका कारण राजनीतिक दलका नेताहरु निराश एवं त्रसित देखिएका छन् । यही निराशालाई चिर्न र जनतामा सकारात्मक सन्देश दिन तीन दलका शीर्ष नेताहरु एकसाथ जिल्ला दौडाहामा निस्किएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.