भूकम्पबाट क्षतिग्रस्त भएका सबै घर सरकारले बनाउनु पर्ने एमालेको माग

सत्तारुढ नेकपा एमालेले भूकम्पबाट क्षतिग्रस्त भएका सबै घरको निर्माण गर्ने जिम्मा सरकारले लिनुपर्ने माग गरेको छ । एमालेको बिहीबार संविधानसभा भवनमा बसेको संसदीय दलको बैठकले १८ बुँदे प्रस्ताव पारित गर्ने क्रममा पूर्णरुपमा ध्वस्त भएका र बस्नलायक नरहेका घर निर्माण गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको हो ।
बैठकले घर निर्माणका लागि लाग्ने न्युनतम आर्थिक दायित्व सरकारले व्यहोर्नुपर्ने माग गरेको छ । एमालेको संसदीय दलले भूकम्प प्रभावितलाई पाल, जस्तापाता, खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका राहत सामाग्री तत्काल उपलब्ध गराउन तथा भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई दुई लाखका दरले राहत दिन पनि माग गरेको छ ।
सरकारले मृतकका परिवारलाई काजकिरिया खर्च र राहतस्वरुप एक लाख ४० हजार रुपैयाँ दिएको छ । एमालेले घर पूर्णरुपमा क्षतिग्रस्त भएका परिवारलाई राहतस्वरुप तत्काल एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन पनि माग गरेको छ ।
२ खर्ब रुपैयाँको पुनर्निमाण कोषको आकार बढाउन सरकारसँग माग गरेको एमालेले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघका सदस्य राष्ट्र र अन्तर्राष्ट्रिय दातृ संस्थासँग आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.