भारतलाई बुझाउने पैसा खोज्दै आयल निगम

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगम पैसाको खोजीमा लागेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई बुझाउन बाँकी ५ अर्ब ६० करोड बक्यौता रकममध्ये ३ अर्ब रुपैयाँ निगमले शनिबारसम्म नबुझाए भारतले नेपाललाई दिँदै आएको तेल कटौती गर्नेछ ।
नेपाल आयल निगमले शनिबारसम्म बक्यौतावापतको रकम बुझाउन नसकेमा आइओसीले नेपाललाई दिँदै आएको तेल कटौती गर्नेछ । ‘पेट्रोलियमको बिक्रीबाट झण्डै २ अर्ब रुपैयाँ जोहो भएको छ’ निगम प्रवक्ता मुकुन्द ढुंगेलले अनलाइनखबरसँग भने- ‘अपुग रकम वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग अनुदान मागेका छौं ।’
शनिबारसम्म आवश्यक रकमको जोहो गरेर आइओसीलाई बुझाइसक्ने प्रवक्ता ढुंगेलले बताए । निगमले अनुदानको रुपमा ५ अर्ब रुपैयाँ उपलब्ध गराउन अर्थमन्त्रालयमा माग गरेको भए पनि अर्थमन्त्रालयले अहिलेसम्म छलफल समेत गरेको छैन ।
‘निगमले ५ अर्ब रुपैयाँ अनुदान माग गरेको छ, यस विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन’ अर्थमन्त्रालयका प्रवक्ता जन्मजय रेग्मीले भने- ‘आज अर्थमन्त्री ज्यूसँग हुन लागेको छलफलमा यस विषयमा पनि कुरा हुन्छ, अनिमात्र के-कती अनुदान उपलब्ध गराउने भन्ने निर्णय हुन्छ ।’
निगमले माग गरेजति अनुदान रकम उपलब्ध गराउन नसकेपनि पेट्रोलियमको सहज आपूर्तिका लागी आवश्यक रकम उपलब्ध गराउने रेग्मीले बताए । उनका अनुसार अर्थमन्त्रालयले छिट्टै निर्णय गरी निगमलाई अनुदान रकम उपलब्ध गराउने छ ।
हल्लै हल्लामा पेट्रोल पम्पमा भिड
पेट्रोलियम पदार्थको हाहाकार हुन थालेको हल्ला चलपछि राजधानीका पेट्रोल पम्पहरुमा लाइन लागेको छ । लगतार तीन दिन सार्वजनिक बिदा परेका कारण निगमले पम्पलाई पेट्रोलियम उपलब्ध गराउन नसकेपछि केही पम्पहरुले पेट्रोल नभएको बताउँदा उपभोक्ताको लाइन लाग्न थालेका हुन् ।
सोमबार र मंगलबार राजधानीका पम्पहरुमा उपभोक्ताको बाक्लो भिड लाग्यो । बुधबार भने भिड पातलिँदै गएको नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव विश्व अर्यालले बताए । पम्पमा प्रशस्त तेल रहेको बताउँदै उनले लगतारको बन्दले गर्दा दुई/तीन दिन भिड लाग्न गएको जानकारी दिए ।
निगमका प्रवक्ता ढुंगेलले पम्पहरुलाई प्रशस्त मात्रामा तेल उपलब्ध गराएको बताए । ‘तीन दिन तेल उपलब्ध गराउन नसक्दा पम्पहरु खाली भएका थिए’ उनले भने- ‘सोही कारण हामीले सोमबार र मंगलबार हामीले नियमितभन्दा झण्डै दोब्बर तेल वितरण गरेका छौं ।’
राजधानीमा दैनिक ३ लाख लिटर तेलको आवश्यकता रहेपनि आपूर्तिलाई सहज बनाउन निगमले सोमबार ५ लाख ५५ हजार र बुधबार ५ लाख ९ हजार लिटर तेल वितरण गरेको बताएको छ । बुधबार पनि प्रयाप्त मात्रामा तेल वितरण गर्ने निगमले बतायो ।
आइओसीले प्रयाप्त तेल उपलब्ध गराएको बताउँदै ढुंगेलले आगामी दिनमा पनि तेलको अभाव हुन नदिने दाबी गरे । निर्धारित समयमा आइओसीलाई बक्यौता रकम बुझाई तेलको नियमित आपूर्ति गर्नेतर्फ निगम सतर्क रहेको उनको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.