‘क्षमापूजा’का लागि ज्ञानेन्द्रले दिए एक हजार


४ पुस, काठमाडौं । दोलखा भीमेश्वरलाई ‘पसीना’ आएपछि परम्पराअनुसार ‘क्षमापूजा’का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफ्ना चार सहयोगीसँगै भेटी पठाउनुभएको छ । ज्ञानेन्द्रले एक हजार रुपैयाँ भेटी पठाउनुभएको छ । यसअघि राष्ट्रपति डा. रामवरण यादवले २ हजार ५ सय भेटी पठाउनुभएको थियो भने गृहमन्त्रालयले दुईवटा काला बोकाहरु पठाएको थियो । पूर्वराजा ज्ञानेन्द्र’ लेखेर रसिद कटाउँदै भेटी प्राप्त भएको भीमेश्वर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँकै नामबाट टहलुवा (मन्दिर हेरालु) ४ जनालाई २ का दरले रकम दिइएको छ । बुधबार बिहान प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको अगुवाइमा भीमेश्वर मन्दिरमा क्षमा पूजा भएको छ । पूजामा गृहबाट जिल्ला प्रशासन कार्यालयमा पठाइएको कालो रंगका एकजोडी बोकाहरु बली दिइएको थियो । क्षमापूजाका क्रममा राष्ट्रपति रामवरण यादवले पठाएको २ हजार ५ सय रुपैयाँ पनि भेटी चढाइएको थियो । सबैभन्दा पहिला पसीना आएको देख्ने टहलुवा काशीनारायण श्रेष्ठका एकवटा र भक्तजनहरुको तर्फबाट २ वटा कालो बोका गरी ५ वटा बोकाको बली दिइएको छ । पूजापछि सो प्रसादलाई राष्ट्रपति कार्यालयमा पुर्‍याइएको छ । भीमसेनलाई पसीना आएपछि सो पसीना कपासमा राखेर राष्ट्रप्रमुखसमक्ष पठाउने र राष्ट्र प्रमुखले भेटी प्रदान गर्ने परम्परा छ । पहिले पसीना राजासमक्ष दिइने गरेकोमा गणतन्त्रपछि राष्ट्रपतिलाई प्रदान गरिए पनि पूर्वराजाले समेत भेटी पठाउनुभएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.