पैसा नतिरे एमाओवादी मुख्यालयको जग्गा लिलाम हुने

१२ माघ काठमाडौं । एकीकृत माओवादीले आफ्नो मुख्य कार्यालय पेरिसडाँडास्थित जग्गा धितोमा राखेर लिएको ऋण भाका नागेको पाँच वर्ष बितिसक्दा पनि तिरेको छैन । ऋण नतिरेपछि सहकारीले पेरिसडाँडा लिलामीमा बेच्ने चेतावनीसहित जारी गरेको २१ दिने सूचनाको म्याद आइतबार सकिएको छ ।
एमाओवादीले ०६५ सालमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट उक्त (१२ आना २ पैसा) जग्गा खरिद गर्न १ करोड २५ लाख रुपैयाँ कर्जा लिएको थियो ।  यस अवधिमा ४० लाख रुपैयाँ ब्याज असूल भएको र अब २ करोड २५ लाख रुपैयाँ एमाओवादीले तिर्न बाँकी रहेको सहकारीको दाबी छ ।
पटक-पटक कर्जा चुक्ता गर्न ताकेता गर्दा पनि नेतृत्वले बेवास्ता गरेपछि सहकारीले नेकपा-माओवादीको भातृ संगठन उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलका नाममा पुस १८ गते २१ दिनभित्र कर्जा चुक्ता नभए लिलाम गर्ने सूचना निकालेको छ । पार्टी नफूट्दा एमाओवादीको उद्योग व्यापार महासंघको अध्यक्ष रहेका कट्टेलले पार्टीका लागि लिएको कर्जामा जमानत बसेका थिए । कट्टेल यतिबेला वैद्य माओवादीतिर लागेका छन् । सूचना जारी भएको २१ दिन पुगेको छ । तर, एमाओवादीले न पैसा तिरेको छ, न सहकारीले एमाओवादी मुख्य कार्यालय रहेको जग्गा लिलामी प्रक्रिया नै अघि बढाएको छ ।
एमाओवादी कार्यालयको जग्गा लिलामीसम्बन्धी सूचनामा भनिएको छ- ‘यो सूचना प्रकाशित गरेको मितिले २१ दिनभित्र यस सहकारीमा सम्पर्क राखी लिएको कर्जाको साँवा, ब्याज र अतिरिक्त व्याज अन्य दस्तूर चुक्ता गर्नुहोला, अन्यथा यस संस्थाको ऋण लगानी तथा असूलीसम्बन्धी विनियमावली, विनिमय तथा सहकारी ऐनले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटोसहित विवरणसमेत खुलाई लिलाम बिक्री प्रक्रियाबाट सम्पूर्ण रकम असूलउपर प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।’
२०६२/०६३को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएसँगै उसको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हाल पेरिसडाँडाको भवनसहित २ रोपनी ७ आना जग्गा खरिद गरेको थियो ।
भीम ध्वाख्वा नामका व्यापारीले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर होटल बनाउने प्रयोजनमा निर्माण गरेका शानदार भवन ध्वाख्वाको ऋण सकार गरी एमाओवादीले आफ्नो मजदुर संगठनका नामा नामसारी गर्‍यो । उक्त भवनमा पार्टी मुख्यालय सारेपछि पार्किङ र क्यान्टिङ सञ्चालन गर्न एमाओवादी सचिवालयको निर्देशनमा एमाओवादीका तत्कालीन उद्योग व्यापार महासंघका अध्यक्ष कट्टेलले सहकारीबाट कर्जा लिएर उक्त जमिन खरिद गरेका थिए ।
स्रोतका अनुसार एमाओवादी सचिवालयका तत्कालीन मुख्यसचिव नारायण दाहाल -प्रचण्डका काकाका छोरा) ले अध्यक्षले त्यो जग्गा तुरुन्त किन्नु भन्नुभएको छ भन्दै तत्काल खरिद गर्न निर्देशन दिएका थिए । दाहालले १५ दिनभित्रै लडाकुको पैसा आउने भएकाले उक्त समयका लागि ऋण खोज्न निर्देशन गरेका थिए । दाहालको निर्देशनसँगै नेता शिव कट्टेटले आफूसँग पूरानो चिनजान भएका लालीगुराँस सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीबाट उक्त कर्जा लिएका थिए । कट्टेल आफूचाहिँ हिमशिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छन् ।
तीन महिनामा तिर्छु भन्थे पाँच वर्ष तिरेनन्
माओवादी नेताहरुले तीन महिनाका उक्त कर्जा चुक्ता गर्ने बताएपछि सहकारीले जग्गा रोक्का राखेर कर्जा दिएको थियो । ‘तीन महिनामा तिर्छु भन्नुहुन्थ्यो तर अझै तिर्नुभएको छैन’ सहकारीका एक सञ्चालकले अनलाइनखबरसँग भने -’यसबीचमा हामीले प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा ‘बादल’लगायतका प्रभावशाली नेताकहाँसम्म पुग्यौं । उहाँहरुले चुक्ता गरिहाल्छौं भन्दै टाँट्नुभयो ।’
उनका अनुसार सूचना प्रकाशित गर्नुअघि सहकारीका सञ्चालकहरु तीनपट अध्यक्ष प्रचण्डकहाँ पुगेका थिए । प्रचण्डबाट दशैंअघि नै कर्जा चुक्ता गरिसक्ने बाचा स्मरण गर्दै ती सञ्चालकले भने -’प्रचण्डको बोलीमा टुङ्गो नभएको निष्कर्ष निकालेर लिलामीको सूचना जारी गरिएको हो ।’
सूचना निकालेपछि एमाओवादी सचिबालयका मूख्य सचिब हितराज पाण्डे सहकारीको कार्यालयमै पुगेर दुई साताभित्र कर्जा चुक्ता गर्ने बाचा गरेका थिए । पाण्डे गोर्खा २ बाट दोस्रो संविधानसभा निर्वाचित सदस्य हुन् । पाण्डेलाई प्रचण्डले तत्काल हिसाब मिलाउन निर्देशन दिएको स्रोतको दाबी छ ।
कट्टेललाई टेन्सन
इमाडोलमा रहेको आफ्नो व्यक्तिगत घरजग्गासमेत धितोमा राखी पार्टीको कार्यालयका लागि कर्जा निकालेका लालीगुरासँ सहकारीका ऋणी शिव कट्टेल आजकाल तनाबमा छन् । कट्टेलको धितो राखेको व्यक्तिगत सम्पत्ति लिलाम गर्ने भन्दै सहकारीका सञ्चालकहरु घरमै पुगेपछि उनको परिवामा तनाब सिर्जना भएको हो ।
एमाओवादी फुटेपछि उनी वैद्य नेतृत्वको मोर्चामा छन् । तर, एमाओवादीको कार्यालयको कर्जा नतिरेको भन्दै सहकारीले तीब्र दबाव दिएपछि कट्टेल समस्यामा परेका हुन् । ‘कट्टेलले एमाओवादी र नेकपा-माओवादीका शीर्ष नेतालाई यसै विषयमा पटक-पटक गुहारेका साथै एमाओवादी अध्यक्षलाई तीनपटक त भेटे पनि ।’ स्रोतले भन्यो -’पार नलागेपछि उनी माओवादी नेताप्रति आक्रोशित भएका छन् ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.