‘प्रचण्ड र बाबुराम जंगल फाँड्ने हात्ती’

६ माघ, काठमाडौं । भनिन्छ, हात्तीले आपसमा मिलेर प्रेमालाप गर्दा पनि जंगल फाँड्छन् र झगडा गर्दा पनि जंगलकै सत्यानाश हुन्छ । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा यतिबेला यस्तै दुई हात्तीको चर्चा चल्न थालेको छ ।
एमाओवादीमा चर्चामा आएका ती दुई हात्ती अरु कोही नभएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई हुन् । प्रचण्ड र भट्टराईलाई हेडक्वार्टर टिममै रहेका पूर्वमहासचिव पोष्टबहादुर बोगटीले हात्तीको उपमा दिएका हुन् ।
अन्य केन्द्रीय नेताहरुकै सामुन्ने बोगटीले दुई शीर्षनेतालाई हात्तीसँग तुलना गरेको एक नेताले  बताए । ‘प्रचण्ड र बाबुराम दुईजना मिल्दा न जनवादी केन्द्रीयता चाहियो, न लोकतान्त्रिक प्रक्रियाको कुरा आयो’ एक पूर्वपोलिटब्यूरो सदस्यले अनलाइनखबरसँग भने–‘पोष्टबहादुर बोगटीले भनेजस्तै यी दुई नेताहरु हात्ती नै हुन्, यिनीहरु मिले पनि पार्टी पद्दति तोडिएको छ, झगडा गरे पनि पार्टीलाई सिध्याउने काम भएको छ ।’
समानुपातिक सभासद छनोट विवादसँगै एकअर्काबाट टाढिएका प्रचण्ड र बाबुरामले जनवादी केन्द्रीयता लागू गर्नुपर्नेमा जोड दिएका छन् भने बाबुराम भट्टराईले पार्टीलाई लोकतान्त्रीकरण गर्नुपर्ने माग गर्दै आएका छन् ।
भट्टराईले माग गरेको लोकतन्त्रीकरण अराजकता भएको भन्दै प्रचण्डनिकटका एक नेताले भने–‘हिजो मतगणना प्रक्रियाबाट बाहिरिने निर्णय गर्दा हामीलाई एक शब्द सोधिएन । केन्द्रीय समितिले सभासद छान्न केन्द्रीय कार्यालयलाई दिएको थियो । तर, अध्यक्ष र बाबुरामजीले आपसमा मिलेर कार्यदललाई जिम्मा दिनुभयो । कसले भनेर दिएको ? के त्यही हो उहाँहरुले खोजेको लोकतान्त्रिक प्रक्रिया या अनुशासन ?’
प्रचण्डले बाबुरामसँग नमिल्दा मात्रै केन्द्रीयता र अनुशासनको कुरा गरेको तर, मिल्दाखेरि अराजकतालाई रोक्न केही नगरेको ती नेताको गुनासो छ ।
‘शान्ति प्रक्रियामा आएपछि बाबुरामसँग मिलेर जेसुकै निर्णय गर्दै जानुभयो, कुनै छलफल आवश्यक परेन’ उनले भने–‘हिजो छलफलमा स्वतन्त्रता, काम कारवाहीमा एकरुपता भन्ने नाममा वैद्य समूहले पार्टीभित्र पार्टी बनाउँदा समेत प्रचण्डबाट केही गरिएन । कयौं विषयहरु हामीले थाहै नपाई भए । अहिले आएर केको जनवादी केन्द्रीयताको कुरा गर्ने ?’
प्रचण्ड र बाबुराम मिल्दा अरु कोही चाहिएन
शान्तिपूर्ण राजनीतिमा आएसँगै प्रचण्ड र बाबुराम खरानी रंगको सफारी कोटमा हिँड्थे । उनीहरु जसो गर्थे, कार्यकर्ता त्यसको नक्कल गर्ने प्रयास गर्थे । प्रचण्डको जस्तै कार्यकर्ताको हेयर स्टायल देखिन्थ्यो । बाबुरामको जस्तो छत्रेटोपी कार्यकर्ताको टाउकामा देखिन्थ्यो । तर, शान्ति प्रक्रियापछि एक पछि अर्को आपसमा मिलेर असफल कदम चालेका नेताहरु पछिल्ला दिनमा एकअर्कालाई दोष देखाएर पन्छन खोज्ने गरेको गुनासो केन्द्रीय सदस्यहरुले गर्न थालेका छन् ।
सेना समायोजन गर्दा, हतियार बुझाउँदा, रेग्मीको नेतृत्वमा सरकार बनाउँदा र चुनावमा सेना परिचालन गर्ने निर्णयमा सहमति जनाउँदा प्रचण्ड र बाबुरामले केन्द्रीय कार्यालय वा केन्द्रीय समितिलाई जानकारी नदिई आफूखुशी निर्णय गरेको भन्दै बोगटीले दुई नेतालाई हात्तीको संज्ञा दिएको पूर्वपोलिटब्यूरो सदस्यले गुनासो गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.