श्रीमान्सँग यौनसम्पर्क गर्दा मेरो योनि साह्रै दुख्छ।

म विवाहित महिला हुँ। विवाह भएको दुई वर्ष भयो। म १७ वर्षकी भैसकें। श्रीमान्सँग यौनसम्पर्क गर्दा मेरो योनि साह्रै दुख्छ। श्रीमान्सँग यौनसम्पर्क गर्न मन लाग्छ, तर सक्दिनँ। पहिले यौनसम्पर्क गर्न मन लाग्थ्यो, तर आजकाल मन लाग्दैन। मेरो पेटमा दुई महिनाको शिशु हुँदा परिवार नियोजन गरेको भएर मलाई यौनसम्पर्क गर्न मन नलागेको हो कि? मेरो श्रीमान् पनि मदेखि रिसाउँछन्। अहिले शिशु नजन्माउने भनेर मैले पाठेघरमा CAC हालेकी छु। यसले पछि गएर शिशु हुँदैन कि? CAC निकालेपछि गर्भ त रहन्छ होला नि?

 
सानै उमेरमा विवाह

तपाई अहिले मात्र १७ वर्षको हुनुभएको छ भने गर्भ पनि रहिसकेको भन्नुभएको छ। १५ वर्षमै विवाह गर्नु बालविवाह हो। २० वर्षपछि मात्र सन्तान जन्माउँदा आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ। अहिले नेपालमा कानुनले तोकेको विवाहको उमेर पनि यही हो। समाजमा विद्यमान सांस्कृतिक मूल्य-मान्यता, सामाजिक तथा आर्थिक कुरा नै यस किसिमका विवाहका कारण हुन्छन्।

वयस्क व्यक्तिकै लागि पनि अर्काको घरमा जानुपर्ने र त्यहाँ जीवनका अनेक पक्षमा तालमेल मिलाएर जीवनयापन गर्नु सजिलो कुरा होइन। अझ बालिकाका लागि त यो निकै कष्टकर हुनसक्छ। अपरिचित वातावरणमा घर अनि व्यक्तिगत आवश्यकता, चाहना र आकांक्षामा तालमेल मिलाउनु एक कलिली केटीका लागि सजिलो हुँदैन। बुहारी भए पनि धेरैजसो स्थितिमा घरेलु कामदारका रूपमा काम गर्नुपर्ने हुन्छ।

सानै उमेरमा गर्भ रहँदा वा शिशु जन्माउँदा बच्चा जन्माउन नसक्ने वा गर्भ वा प्रसवसम्बन्धी जटिलताका कारण बिरामी वा मृत्यु नै पनि हुनसक्छ। शिशु पनि कम तौलको र बिरामी हुने सम्भावना बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि। यसका साथै कलिलै उमेरमा विवाह गर्दा यौनजीवनमा नकारात्मक असर पर्छ। तपाईंले श्रीमान्को उमेर लेख्नुभएको छैन। श्रीमान्को उमेर बढी हुनुले पुरुषलाई जहिले पनि शक्तिशाली भूमिकामा रहन मद्दत गर्छ र उसले श्रीमतीमाथि सजिलै प्रभुत्व जमाउँछ। यस्तो स्थितिमा बालिका हिंसाको बढी सिकार हुने स्थिति आउँछ। श्रीमान् रिसाउनु त्यसकै संकेत हुन सक्छ। कतिपय स्थितिमा पीडक आफ्ना श्रीमान् नै हुन्छन्। यी कुराले पनि यौनजीवनमा नकारात्मक असर पार्ने नै भयो। पीडकसँग सुमधुर सम्बन्ध नभएको स्थितिमा उसले अर्थात् पीडितले यौनआनन्द लिन सक्ने स्थिति हुँदैन। निकै बढी उमेरको श्रीमान्सँग यौनसम्पर्क हुँदा यौनाङ्गमा चोट पटक लाग्ने सम्भावना पनि बढी हुन्छ।

योनि किन दुखेको होला?

यो आनन्ददायक क्रियाकलाप भए पनि सबै यौनसम्पर्क सुखमय नहुन सक्छन्। तपाईंको प्रश्नमा पर्याप्त जानकारी नभएकाले यकिनका साथ भन्न नसकिए पनि केही कारणका बारेमा चर्चा गरौं।

यौनसम्पर्क राख्दा महिलाहरूमा पीडा हुने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। सामान्यभन्दा धेरै, मैलो अनि गन्हाउने पानी आउनु योनि संक्रमणका लक्षण हुन सक्छ। योनिद्वार नजिकका ग्रन्थिको संक्रमण पनि यौन सम्पर्कको पीडा हुने कारण हुनसक्छ। संक्रमणको शंका छ भने चिकित्सकको सहयोगमा उपचार गराउनुपर्छ। योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पनि पीडादायक हुन्छ। त्यसो हुँदा योनि पोल्छ पनि।

यौनसम्पर्कका बेला योनि सुख्खा भएर दुख्ने समस्या कम गर्न थप चिल्लो पदार्थको प्रयोग गर्न सकिन्छ। त्यसैगरी यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर वा डर भएका कारणले गर्दा यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचन हुन गै कडा हुन्छ। यस्तो बेलाको यौनसम्पर्क पनि पीडायुक्त हुन्छ। यस किसिमको अवस्थालाई Vaginismus  भनिन्छ। कुनै तनाव वा भय छ भने त्यसलाई कम गर्ने प्रयास गर्नुहोला। यसका लागि राम्रोसँग सहज वातावरणमा कुराकानी गर्नुहोस् र त्यस्तो केही भए त्यसलाई हटाउने प्रयास गर्नुहोला।

के परिवार नियोजन गरेकाले नै यौनसम्पर्क गर्न मन नलागेको होला?

सामान्य रूपमा त्यस्तो हुँदैन। परिवार नियोजनको साधनका रूपमा गर्भनिरोधका साधनलाई चिनाइन्छ, तर गर्भनिरोधको उद्देश्य नै यौन सम्पर्कबाट पर्याप्त आनन्द प्राप्त गर्नु हो। यसले यौनसम्बन्धी कुरामा हार्मोनको प्रभावले होस् वा महिनावारीमा गडबडीका कारणले नकारात्मक प्रभाव पार्ने चर्चा-परिचर्चा धेरै नै सुन्न पाइन्छ। कतिपय अनुसन्धानले केही नकारात्मक असर पार्ने कुरा नदेखाएको पनि होइन, तर यसलाई सीमित दायरामा हेर्नुको सट्टा फराकिलो दायरामा हेर्नुपर्छ। समष्टिमा भन्ने हो भने अहिले मानिसले सन्तान जन्माउनभन्दा बढी यौनआनन्दका लागि यौनसम्पर्क गर्छन्। गर्भ रहला कि भन्ने भय मनमा पस्नासाथ यौनसम्पर्कको आनन्द प्राप्त गर्न सकिँदैन। जोसमा होस हराएका बेला अनिच्छित गर्भ रहे कुरै फरक हुन्छ। गर्भनिरोधका साधनले गर्भ नरही पर्याप्त यौनआनन्द लिने अवसर प्रदान गर्छ। यसरी हेर्दा यो गर्भनिरोधको साधनभन्दा पनि यौन प्रसाधन नै भन्दा केही फरक पर्दैन। गर्भ रहने चिन्ता गर्नु नपर्ने वा भनौं गर्भ रहने कुनै चिन्ता बिना यौन आनन्द आफूले चाहेका बेला लिन पाउने उपाय हो यो।

पाठेघरमा राखिएको गर्भनिरोधको साधन निकालेपछि सन्तान हुन्छ?

तपाईंले CAC पाठेघरमा राखिएको कुरा गर्नुभएको छ, तर के भन्न खोज्नु भएको स्पष्ट भएन। नेपालमा Comprehensive Abortion Care का लागि यो प्रयोग गरिन्छ, जुन सेवाअन्तरगत गर्भनिरोधका साधन पनि उपलब्ध गराइन्छ। पाठेघरभित्र राखिने साधन IUCD हो। यसलाई निकालेपछि महिला पुनः गर्भवती हुन सक्छिन्।


source:saptahik 
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.