निशाको चित्तशुद्धि

'मनमा अशान्ति र तनाव भए ध्यान जानू' भन्ने आमधारणालाई अभिनेत्री निशा अधिकारीले उति वास्ता गरेकी थिइनन्। तर, चार वर्षअघिदेखि विपश्यना जाने उनको भित्री अठोट भने यसपालि पूरा भएको छ। आफ्नो व्यस्त दैनिकीलाई छल्दै गत महिना उनी विपश्यना ध्यान केन्द्र पुगिन्। ध्यानमा बिताएको ११ दिन उनका लागि अविस्मरणीय मात्र बनेन, पहिल्यै आउनुपर्ने रहेछ भन्ने सोचेर उनलाई थकथकी पनि लाग्यो।


विपश्यना निशाका लागि आत्मसमीक्षा गर्ने उपयुक्त थलो बन्यो। 'मैले आफू कस्तो हुँ भनेर कहिल्यै सोचेको थिइनँ,' उनले सुनाइन्, 'दिनभर दत्तचित्त भएर ध्यान गर्दा आत्ममूल्यांकन गर्ने मौका पाएँ।'
फिल्मी दुनियाँ र प्रविधिबाट अलग्गै संसार। बिहानै चार बजे उठ्नु, केन्द्रको अनुशासनमा रहेर ध्यानमा केन्द्रित हुन र दिनको ११ घन्टा मेडिटेसनमै बिताउनु उनका लागि सुरुसुरुमा सजिलो पटक्कै थिएन। 'ठिहिर्यारउने जाडोमा सुरुमा त समस्या भयो। पछि बानी पर्दै गयो,' उनले भनिन्, 'डिप्रेसन भएर, तनावमा आएर जानुभन्दा पहिले नै खुसी मन लिएर जानु राम्रो हुने रहेछ।'
सगरमाथा चढ्नु, 'सुनगाभा' फिल्म अस्कर अवार्डका लागि नेपालबाट छनौटमा पर्नु र अन्य फिल्मी सफलताले निशाको सन् २०१३ उत्साहको वर्ष बन्यो। उनले २०१३ लाई प्रोफेसनल र करिअरका लागि राम्रो वर्षको सूचीमा राखेकी छिन्। कामको चापबाट मुक्ति लिँदै वर्षको अन्त्यतिर विपश्यना रोजिन्। उनको सूचीमा विपश्यना ध्यान झनै महŒवपूर्ण बनेको छ।
ध्यानलाई 'आफ्नो जीवनको समीक्षा गर्ने वैज्ञानिक प्रविधि'को रूपमा व्याख्या गर्ने निशाले आफूलाई कसरी समीक्षा गरिन् त?
'मभित्र पनि नराम्रा कुरा रहेछन्,' उनी भन्छिन्, 'त्यसलाई सुधार गरेर अघि बढ्न ध्यानबाट धेरै कुरा सिकेकी छु।' ध्यान गर्दैमा आध्यात्मिक भइन्छ भन्नेसँग उनी सहमत हुन्नन्। गौतम बुद्धले ध्यानबाटै बुद्धत्व प्राप्त गरेको उदाहरण दिँदै उनी भन्छिन्, 'ध्यानले सकारात्मक जीवन जिउन सिकाउँछ।'
ध्यान एक प्रकारको चित्त शुद्धीकरण हो। निशा आफ्नो चित्त शुद्ध पार्ने धेरै तरिका सिकेर फर्किसकेकी छिन्। 'म लोभी हुन्न। जति काम गर्छु बिस्तारै गर्छु,' सकारात्मक सोचबारे उनी भन्छिन्, 'कसैलाई कसैले हानी गर्नुहुन्न, यत्ति सोचे धेरै राम्रो हुँदो रहेछ।' नाम र दाम कमाउने बाटोमा लाग्दालाग्दै पनि सकारात्मक बाटोबाट हिँड्न सकिने उनको तर्क छ। 'ध्यान शिविरबाट फर्किएपछि आफ्नो लक्ष्य नै परिवर्तन हुन्छ भन्ने होइन,' उनको आशा छ, 'जीवनप्रतिको धारणा फरक हुनेछ। मेरो अबको हिँडाइ सकारात्मक बाटोमा मात्रै हुनेछ।'
सगरमाथाबाट फर्किएपछि उनले 'भीमदत्त' फिल्मको सुटिङक्रममा ३५ दिन डडेल्धुरामा बिताइन्। सुदूरपश्चिमको पहिलो भ्रमणले उनलाई धेरै खुसी तुल्यायो, 'त्यहाँका मानिस निकै मिलनसार रहेछन्। त्यहाँ पनि सुन्दर ठाउँ धेरै रहेछन्।'
अब जीवनको लक्ष्यप्राप्तिमा कहिल्यै हतार नगर्ने उनको प्रण छ। विपश्यना ध्यानबाट फर्केलगत्तै उनी 'मुखौटा' फिल्मको सुटिङमा व्यस्त बनिन्। उनी निरन्तर कर्ममै छिन्, फलप्राप्तिमा हतारो छैन, किनकि ध्यानले यही सिकाएको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.