सवारी चालक अनुमतिपत्रको आवेदन नखोल्दा सेवाग्राही मर्कामा

दाङ, मंसिर २– यातायात व्यवस्था कार्यालय राप्तीले लामो समयदेखि सवारी चालक अनुमतिपत्र खोल्न नसक्दा सेवाग्राही मर्कामा परेका छन् । गत असार महिनामा सो कार्यालयका प्रमुख काजमा अन्यन्त्र गएपछि कार्यालय प्रमुखविहीन बन्दा सवारी चालक अनुमतिपत्र खुल्न नसक्दा सेवाग्राही मर्कामा परेका हुन् । चार महिनादेखि प्रमुखविहीन भएपछि कार्यालयले प्रत्येक महिना खोल्दै आएको सवारी चालक अनुमतिपत्र खुल्न सकेको छैन । यातायात व्यवस्था कार्यालयका एक कर्मचारीका अनुसार दैनिक सल्यान, रोल्पा, रुकुम, प्यूठानलगायत जिल्लाबाट सवारी चालक अनुमतिपत्रका लागि सेवाग्राही आउने र त्यतिकै फर्कने गरेका छन् । आजभोलि सवारी जाँचका क्रममा दैनिक २०÷२५ जनाले सवारी अनुमतिपत्र नलिइ सवारी चलाएका नयाँ चालक भेटिने गरेको प्रहरीले जनाएको छ । ‘लाइसेन्स छ भन्दा छैन भन्छन्, जरिवाना लिन बाध्य छौँ, लाइसेन्स वितरण नहुँदा हामीलाई पनि समस्या परेको छ’ एक ट्राफिक प्रहरीले बताए । यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख यज्ञबहादुर बस्नेतले कार्यालय प्रमुख नहुँदा सवारी चालक अनुमतिपत्र नखोलेको बताउनुभयो । उहाँले चालक अनुमतिपत्र खोल्न नसक्दा राजस्व सङ्कलन पनि अवरुद्ध भएको र सेवाग्राहीले पनि सास्ती भोग्दै आएको स्वीकार्नुुभयो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.