संसार बदल्न हिँडेकी माओवादी कार्यकर्ताको सुसाइड नोट

१८ वर्षको उमेरमा मुलुकमा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्दको आगो दन्किरहँदा अम्बिका तिवारीलाई माओवादी आन्दोलनका अनेक आयामहरुले भन्दा पनि एउटा सृजनाले  बढी नै  उद्धेलित बनाउँथ्यो  ।   उनी माओवादीले प्रयोग गर्ने प्राविधिक– सैद्धान्तिक शब्द र भाषा त बुझ्दिन थिइन्  तर माओवादीहरुले प्रयोग गर्ने गीत  –‘हिउँ फुटे हिमनदि जनता जुटे जनसागर,औंसीको यो रात पनि हट्छ छिट्टै चिन्ता नगर’ को बोलले भने उनलाई निकै नै छुन्थ्यो  । गरिव–उत्पीडित जनतामाथि हुने थिचोमिचो स्थानीय तहमा देखेर आजित बनेकी तिवारीलाई लाग्यो – साच्चै माओवादी जनयुद्दले अत्याचाररुपी औंसीको रातलाई हटाएर सुन्दर दिन ल्याउनेछ । त्यसैले उनले सहपाठीहरुसँगै कलेज धाउन चटक्कै छाडेर संसार बदल्ने महान उद्देश्यका साथ क्रान्तिको महाविद्यालयमा आफूलाई भर्ना गराइन् ।  पुस्तक र किताब– कापीमा अभ्यस्त हुने उनका ती कोमल हातहरु त्यसपछिका दिनहरुमा एसएलआर र गिर्नेटहरुसँग खेल्न थाले । यही क्रममा उनी के कसर नै बाँकी राखिन र ? दुस्मनका किल्लाहरुमा बाघको गर्जनका साथ उनी निरन्तर जाइ लागिरहिन् । युद्धमा कैयन साथीहरुलाई गुमाउनु परे पनि उनी होमिएको युद्धमा उनको पार्टीको जीत भयो । त्यसपछि उनलाई लाग्यो – अब साच्चै छिट्टै उनीसहित लाखौं नेपालीलाई देखाइएका सपना पुराहुनेछन् । गरिवका झुपडीहरुमा अब रातो घाम लाग्नेछन् । तर,संसार उनले सोचेको जस्तो सहजै कसरी परिवर्तन हुन सक्थ्यो र ? समय कति निर्मम बनिदियो भने उनीसहित हजारौंलाई मुक्तिको सपना देखाएर युद्दमा होमाएको पार्टी सिंहदरबारमा कतै बिलायो । अझ यसो भनौं,सिंहदरबार बदल्न भनेर छिरेका उनका नेताहरु सिंहदरबार बदल्नुको साटो आफै बदलिए । त्यसपछि लाखौं नेपालीलाई जस्तै उनलाई पनि यो विश्वासघातले असैह्य पीडा दियो । उनले आफ्ना नजिकका सहकर्मीहरुसँग बेलाबेला दुःखेसो गर्दै मनको बह पोख्ने गरेकी थिइन् – माओवादीले मुक्तिको सगरमाथामा पुर्याउने सपना देखाएर अन्तिममा माथिबाट एकैपटक आधार शिबिरमा ल्याएर थचारिदियो । यत्रो बलिदानबाट माथि उठेको पार्टीले त यसरी जनतालाई धोका दिएर गद्दारी गर्यो । अब अरुले के नै गर्लान र ?’ तर यसरी जीवनको बारेमा पछिल्ला दिनमा यस्तो दिग्दारी पोख्दै आएकी उनले यसरी जीवनबाट हारेर विदा नै लेलिन भन्ने सायदैले सोचेका थिए । तर उनले बुधबार सबैलाई आश्चर्यमा पार्दै यो संसारबाट बिरत्तिएर विदा लिइन् । एउटा संसार वदल्ने सुन्दर सपना सजाएकी सिपाही आफै जीवनबाट हारेर आत्महत्या गर्ने तहमा पुगिन । स्थानीय तहमा पछिल्ला दिनहरुमा पनि उत्तिकै सक्रिय रहेकी तिवारीका बारेमा स्थानीय कालिका क्लबका अध्यक्ष अर्जुन पन्त स्मरण गर्दै भन्छन्,‘उनी समाजकी गतिशिल युवा थिइन् । समाजलाई जगाउने काममा उनी हरपल लागिरहन्थिन् । हरेक समय उनी गाउँ र समाजको विकास निर्माणलाई लिएर चिन्तित हुन्थिन् । समाजको यस्तो एक गतिशिल व्यक्तिको असमायिक मृत्युले ठुलो क्षति भएको छ ।यसले हामी सबैलाई दुःखित बनाएको छ ।’ उनले विरत्तिएर आत्महत्या गर्नुको कारणबारे सुसाइड नोटमा लेखेकी छन् – मेरो यो आत्महत्या कसैको कारण भएको होइन् । यसमा घर–परिवार,गाउँ कोही पनि दोसी छैनन् । आफ्नो जीवनदेखि हीनताबोध भएर जीवनमा सफल हुन नसकेकोमा जीवन ज्यूनु व्यर्थ लाग्यो त्यसकारण म आफैं यस घटनाको दोसी हुँ । मैले जस्तै हीनताबोध गर्दै कसैले पनि आत्महत्या नगर्नुहोला भन्दै म यो संसारबाट बिदा हुन चाहन्छु ।’ 

0 comments

Write Down Your Responses

Powered by Blogger.