चारतलाले थिचिएका युवकले भने-दाइ मलाई बचाउनूस्

१५ वैशाख, काठमाडौं । काठमाडौंको गोंगबुमा भत्किएको संरचनामा एक युवक जिवितै फेला परेका छन् । उनले ‘दाइ मलाई बचाउनुस्’ भन्दै जीवनरक्षाको याचना गरिरहेका छन् ।
फाइल तस्वीर
फाइल तस्वीर
फूलबारी होटल तथा रिसोर्टको ६ तले घरसहित त्यस वरपरका धेरै घर भत्किएका छन् । त्यहाँ एउटा घरको भईंतला र पहिलो तला भत्किएका छन् र माथिल्ला अरु तला सिंगै जस्तो देखिन्छन् । माथिको ढलान काटेर सुरक्षाकर्मीहरुले पुरिएकालाई जीवितै उद्दार गर्दैछन् ।
त्यहाँ मानिसहरु पुरिएको सूचना स्थानीयले दिएपछि उद्धार टोली खटिएका थिए । सबैभन्दा पहिले फ्रान्सको टोली भग्नावशेषमा पुगेर विशेष प्रविधिमार्फत् मानिस जीवित रहेको पत्ता लगाएको थियो ।
ती युवकलाई अक्सिजनको आवश्यकता भएको निष्कर्ष निकालियो । त्यसपछि विनायक अस्पतालका चिकित्सकहरुको टोली बोलाइएको थियो । ढलान काटेपछि चिकित्सकको टोली भित्र छिर्यो र भग्नावशेषमा पुरिएका युवकसम्म अक्सिजन पठाउन सफल भयो ।
त्यतिबेला ती युवकले भन्दै थिए, ‘दाइ मलाई गाह्रो भयो, बचाउनुस् ।’ ती युवक करिब २८ वर्षका छन् । उनका बारेमा थप केही खुलेको छैन ।
शनिबारदेखि त्यहाँ थिचिएका ती युवकलाई सशस्त्र प्रहरीको टोलीले उद्दारको प्रयास गरिरहेको छ । उनको शरीर थिचिएको छ र उनलाई सकुशल बाहिर निकाल्न सुरक्षाकर्मीहरु खटिएका छन् ।
उद्दारस्थलमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसमेत पुगेर निरीक्षण गरेका थिए । नेपाली सेनाको टोली पनि सो स्थानमा छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.