गाउँ छिर्दै सहयोगी हातहरु

काठमाडौं-वसन्तपुर दरबार क्षेत्रको सरसफाइमा उनले लामो समय काम गरे। त्यहाँ पार्किङ र कन्सर्ट रोक्नुपर्छ भन्ने अभियानमा पनि लागिरहे। उनले माया गरेको त्यही बसन्तपुर क्षेत्र जब भुइँचालाले क्षतिग्रस्त भयो, उनी जुटिहाले उद्धार र व्यवस्थापनमा।

झोछेँका स्थानीय गणपतिलाल श्रेष्ठले यसका लागि आफूजस्तै युवाको सञ्जाल बनाएका छन्, जो वसन्तपुर लगायत क्षेत्रमा भग्नावशेषमुनि च्यापिएका व्यक्तिको उद्धार, राहत वितरण र भत्किएका इटा, ढुंगा व्यवस्थापनमा दिनरात खटियो। त्यहाँको स्थिति सामान्य बनेपछि यही टोली वसन्तपुर बाहिरका स्थानमा पनि उद्धार कार्यमा जुट्न थालेको छ।
‘भुइँचालोले देशका धेरै भाग प्रभावित भएकाले हामीले एक ठाउँमा मात्र सीमित रहन उचित ठानेनौं,' गणपतिले नागरिकसँग भने, ‘वसन्तपुरको अवस्था सामान्य बन्दै गएपछि हामी विकटका बेसहारालाई सहारा दिने अभियानमा लागेका छौं। '
कुनै संघ–संस्थामा आबद्ध नरहेको यो स्वतन्त्र समूहले वसन्तपुर सँगसँगै स्वयम्भू, असन, ओमबहाल, टेकु, साँखु, ललितपुरको बुंगमतीका साथै काभ्रेका क्षतिग्रस्त स्थानमा पनि उद्धारकर्मी खटाएको छ, आफ्नै साथीहरू मध्येबाट। सोमबार उनीहरू काठमाडौंबाट करिब ७० किलोमिटर दुरीमा रहेको नुवाकोट, कल्याणपुर–१ मा औषधि लिएर गए। यी सबै अभियानमा गणपति भ्याएसम्म आफैं पुगिरहेका छन्।
‘यहाँ २५ देखि ३० वटा घर क्षति भएका छन्, करिब ६ जनाको मृत्यु भएको जानकारी पाएका छौं,' गणपतिले सोमबार साँझ कल्याणपुरबाट टेलिफोनमा नागरिकसँग भने, ‘विदेशबाट आएका केही औषधि लिएर चिकित्सक र नर्ससहित यहाँ आएका हौं।' औषधिसहित तीन गाडी र १० वटा मोटरसाइकलमा नुवाकोट पुगेको समूहमा ३५ जना छन्।गणपति सयोजकत्वको यो समूह मात्र होइन, यस्ता दर्जनौं युवा समूह क्रियाशील छ, जो सहरबाट गाउँ पसिरहेको छ, भूकम्पपीडितहरूको घाउमा मलम लगाउन। सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा छलफल गरेर पनि धेरै युवा प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण गर्न पुगेका छन्।
वसन्तपुरका उज्ज्वलभक्त माथेमा पनि आफ्ना केही विदेशी साथीसँग खोकना पुगेका छन्, त्यहाँका गाउँलेको सेवा गर्न। उनी सोमबार मात्र हङकङबाट काठमाडौं आएका हुन्। ‘मेरो परिवार सुरक्षित छ, तर धेरै जना असुरक्षित देखेर मेले आफूलाई थाम्नै सकिनँ,' आइतबारसम्म दरबार क्षेत्रबाट शव हटाउने, मन्दिरका काठदाउरा र इटा पन्छाउन व्यस्त उनले भने, ‘अब केही टाढा पुग्ने योजना गरिरहेका छौं।' यो अभियानमा उज्ज्वल एक्ला छैनन्। गणपतिजस्तै उनीसँग पनि २० जनाको समूह सक्रिय छ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर वैशाख १२ गते ७.९ म्याग्निच्युडको भूकम्प गएयता सरकारले १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। काठमाडौं उपत्यकाबाहिरका प्रभावित जिल्लामा अझै सरकारी राहत पुग्न सकेको छैन। युवा समूह स्वस्फुर्त ढंगले उद्धार अभियानमा सक्रिया भइसक्दा पनि सरकारको कर्मचारी संयन्त्रले प्रभावकारी काम गर्न सकेको छैन। बरु सुरक्षा निकायहरूले आफ्नो प्रभावकारी उपस्थितिको अनुभूति गराएका छन्। सुरक्षा निकायहरू सबैतिर पुग्न सम्भव नहुने अहिलेको परिस्थितिमा सहरका क्रियाशील युवा समूहलाई नै संयोजन गरेर गाउँगाउँ पुर्यामउन सके प्रभावकारी हुन सक्ने देखिएको छ।
‘सरकारले संयोजन गर्ने हो भने अहिले काठमाडौंमा सक्रिय युवा समूहलाई गाउँगाउँ पठाउन सकिन्छ,' विवेकशील नेपालीका अध्यक्ष उज्ज्वल थापाले नागरिकसँग भने, ‘हामी भूकम्प गएकै दिनदेखि आफ्नै तालले हिँडिरहेका छौं। सरकारले नै अनुरोध गरेको भए झन् बढी सहयोग गर्न सकिन्थ्यो। कतिपय पीडितहरूको ठाउँ हामी पत्ता लगाउन सक्दैनौं। यसले सही ठाउँमा पुग्न ढिला हुन्छ।'
उनका अनुसार करिब एक हजार स्वयंसेवक गोरखा, धादिङ, सिन्धुपाल्चोक लगायत प्रभावित जिल्लामा काम गरिरहेका छन्। ती समूहले सुरुमा काठमाडौंलाई केन्द्र बनाएका थिए। भूकम्पको तेस्रो दिनबाट उनीहरू बाहिर जान थालेका हुन्। सरकारले आधिकारिक जानकारी नदिँदा सञ्चारमाध्यममा आएका सूचनाका आधारमा सबै गाउँतिर लागेको उनले बताए।
युवाहरू स्वस्फुर्त गाउँ छिरे पनि सरकारले भने त्यसलाई समन्वय गरेर व्यवस्थित ढंगले परिचालन गर्न सकेको छैन। ‘सरकारले सूचना नै जारी गरेर युवाहरूलाई अनुरोध गरेको छैन, तर आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेको छ,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने, ‘उनीहरू स्वयंसेवकका रूपमा विभिन्न गाउँ गइराखेका छन्् जुन निकै राम्रो कुरा हो।'
भूकम्पले गाउँमा माटो र ढुंगाले बनेका ९९ प्रतिशत घर भत्किएको उनले जानकारी दिए। यीमध्ये, कतिपय ठाउँमा घर भत्किएका छन्। त्यसमा पुरिएका सामान निकाल्न पीडितहरूलाई अप्ठ्यारो परेको छ। यो अवस्थामा स्वयंसेवकले महत्वपूर्ण भूमिका खेल्न सक्ने ढकालले बताए।
प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्वदेशी तथा विदेशी स्वयंसेवकले सेवा दिन सक्ने व्यवस्था रहेको उनले बताए। ‘सरकारले हरेक कुरा भन्न भ्याएको छैन। हामी सबै प्रभावित छौं,' उनले भने, ‘त्यसैलै सक्दो सहयोग गर्नु नै प्राथमिकतामा छ। रेडक्रस, लायन्स क्लबजस्ता अन्तर्राष्ट्रिय संस्थाले पनि आफ्नो रुचिअनुसार काम गरिरहेका छन्।'



0 comments

Write Down Your Responses

Powered by Blogger.