चर्केको भवनबाट भूकम्प मापन गर्दै प्राविधिक

सुर्खेत— हेर्दै आङ जिरिङ्ग हुने साढे तीन दसक पुरानो भवन। भूकम्पले सबैको मनमा कम्पन ल्याइरहेको बेला पुरानो घरभित्र पस्न हत्तपपत्त कसरी आँट आओस् ? तैपनि जानैपर्ने थियो। भित्र पस्दा अवस्था झन् डरलाग्दो। हात उठाउँदा सिलिङ छुने होचो कोठा। त्यहीँभित्र कार्यालय प्रमुख (सिस्मोलोजिष्ट) ठाकुर कँडेलसहित तीनजना प्राविधिक मंगलबारको भूकम्पन मापन गर्दै थिए।

'म त माथिल्लो तलामा थिएँ, सुरुमा रोकिएर बसेँ,' प्राविधिक सहायक तीर्थ दहालले भने, 'ठूलै धक्का दिएपछि हत्तपत्त बाहिर आँगनमा झरेँ।'

कार्यालय प्रमुख कँडेलसहितका कर्मचारी पनि त्यसैगरी बाहिर निस्किए, दहालसँगै तर, अरुलाई जस्तो बाहिरै बस्ने सुविधा उनीहरुसँग थिएन। तुरुन्तै सम्हालिएर भित्र पसे। कम्प्यूटरको माउस हातमा लिँदै भूकम्पीय धक्काको मापन गर्न थाले।

नागरिक प्रतिनिधि दिउँसो करिब पौने ३ बजे वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्रमा पुग्दा कार्यालय प्रमुख कँडेल काठमाडौंस्थित केन्द्रीय भूकम्प मापन केन्द्रसँग सम्पर्क गर्दै थिए। सुर्खेत र काठमाडौंमा रहेका दुईवटा केन्द्रको सूचना संयोजनपछिमात्र नेपालभित्र केन्द्र बनाएका भूकम्पको आधिकारिक जानकारी दिने गरिन्छ।

'६ दशमलब ८ रेक्टर स्केलको भूकम्प हो।'

कँडेलले यो तथ्य सार्वजनिक गरेपछिमात्र घरमा फोन गर्न समय निकाले। भूकम्पको झण्डै साढे दुई घण्टापछि ३:१५ मा उनले बागलुङस्थित घरमा फोन गरे। 'यता अवस्था सामान्य छ, त्यहाँ ख्याल गर्नु,' उनले सल्लाह दिँदै भने, 'आत्तिनु पर्दैन, तर सचेत रहनु।'

अरुलाई भूकम्पको सूचना दिने अधिकारीहरु आफैँ जोखिम मोलेर कर्तव्य निर्वाह गरिरहेका छन्। सुर्खेत र काठमाडौंमा रहेका देशका दुईवटै भूकम्प मापन केन्द्रका भवन निकै पुराना छन्। काठमाडौंस्थित केन्द्रीय कार्यालय भवनका त दुईवटा कोठा चर्किएका छन्। 'भवन पुरानो छ, जताततै चर्किएको छ,' केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, 'तैपनि सक्दासम्म जोखिम मोलेर काम गरिरहेका छौं।' केन्द्रीय कार्यालय भवन सुर्खेतको भन्दा अझ जोखिमपूर्ण रहेको उनले बताए।

कस्तो बाध्यता ! आममान्छे भूकम्पपछि सुरक्षाको खोजिमा खुला चौर वा सुरक्षित ठाउँमा सर्छन्। केन्द्रका कर्मचारीलाई भने जोखिमपूर्ण भवनमा बास बस्नुपर्ने बाध्यता आइलाग्छ। सुर्खेतस्थित केन्द्रका प्रमुख कँडेल यसअघि कार्यालयनजिकै रहेको इत्रामस्थित आवासगृहमा बस्थे। महाभूकम्पछि भने उनको ओछ्यान त्यही पुरानो घरको साँघुरो कोठामा सरेको छ। 'ठूलो भूकम्प गएपछि स–साना कम्पनहरु आइरहेका छन्, सबैको मापन गरेर जनतालाई जानकारी गराउनुपर्छ,' भूइँतलाको कोठामा राखिएको डसना देखाउँदै उनले भने, 'त्यही भएर आजकल यहीँ सुत्नु परेको छ ।'

अहिले देशका विभिन्न २१ स्थानमा राखिएका सिस्मोमिटरहरु सुर्खेत र काठमाडौंस्थित भूकम्प मापन केन्द्रसँग जोडिएका छन्। मध्य तथा सुदूरपश्चिमका ९ र बाँकी क्षेत्रमा रहेका १२ सिस्मोमिटरहरु काठमाडौंस्थित केन्द्रीय कार्यालयको स्टेसनसँग जोडिएका छन्। सिस्मोमिटरले महसुस गर्ने भूकम्पीय धक्का दुईवटा केन्द्रमा रहेका यन्त्रमार्पmत मापन गरिन्छ।

भूकम्पबारे अपडेट हुने कार्यालयका भवनहरु आपैm भूकम्प प्रतिरोधात्मक नहुनुमा सरकारी बेवास्ताको परिणाम हो । सुर्खेतमा करिब तीन वर्र्षअघि सम्झौता भएको केन्द्रको भूकम्प प्रतिरोधात्मक भवन अलपत्र अवस्थामा छ । निर्माण कम्पनीले 'घाटा भएको' भन्दै अधुरै छोडेर भागेको छ । निर्माणकार्यको अनुगमन तथा नियमन गर्ने सरकारी निकाय भने मौन छन् । 'त्यो भवन नबन्दासम्म कुनै राम्रो ठाउँमा पनि सार्न सकिने अवस्था रहन्थ्यो,' कार्यालय प्रमुख कँडेलले भने, 'तर यतातिर कसैको ध्यान गएको छैन ।'

काठमाडौंस्थित केन्द्रीय कार्यालयको जीर्ण भवनको बिकल्प भने अहिलेसम्म खोजिएको छैन । केन्द्रप्रमुख अधिकारीले महाभूकम्पको बेलासमेत जोखिम मोलेर त्यहीँभित्र काम गर्नु परिरहेको बताए । 'डराएर भएन, बाँचुन्जेलसम्म काम गर्नैप¥यो,' उनले भने, 'कर्तव्यबाट भागेर कहाँ जाने ?'

भूकम्प मापन केन्द्र जोखिमयुक्त भवनमा मात्र छैनन्, जनशक्ति अभावले समेत प्रकोपको बेला असहज अवस्था भोगिरहेका छन्। सुर्खेतमा कार्यालय प्रमुखसहित पाँचजना प्राविधिकको दरबन्दी भए पनि हाल तीनजनामात्र कार्यरत छन्। यसले गर्दा उनीहरुलाई काम गर्न भ्याई–नभ्याई छ । महाभूकम्पअघि १० बजेदेखि ५ बजेसम्म खुल्ने केन्द्र अहिले चौबीसै घण्टा चालू छ । कर्मचारी अभावले भने उनीहरु राम्ररी निदाउनसमेत पाउँदैनन्। 'खाना खाने फुर्सदसमेत छैन, त्यसमाथि ज्यान जोखिममा राखेर काम गरिरहनु परेको छ,' प्राविधिक सहायक दहालले भने, 'यस्तो बेला भोक–निन्द्रा मानेर, मृत्युसँग डराएर पनि भएन, काम गर्नैपर्‍यो।'

0 comments

Write Down Your Responses

Powered by Blogger.