भूकम्प पीडितलाई सहयोग गर्न आएका पर्यटक लुटिए

भूकम्प पीडितको सहयोगका लागी पोखरा आएका जापानिज पर्यटक योशीयाकी हारानागा लुटिनुभएको छ । वैशाख १२ गतेको भूकम्प पीडितलाई सहयोग गर्न नेपाल आउनुभएका पासपोर्ट नम्बर टिके २७४२१८६ भएकाका २५ वर्षका योशीयाकीलाई पोखरा–६ गाईघाटमा १० जनाको समूहले लुटेको हो ।
जापानमा रहेका विभिन्न साथीहरुबाट पैसा जुटाएर नेपालका भूकम्प पीडितलाई सहयोग गर्न आउँदा समेत लुटिनुपर्दा निकै दुख लागेको उहाँले बताउनुभएको छ । जेठ २८ गते नेपाल आउनु भएका योशीयाकीलाई २९ गते राति लुटेराहरुले हातपात गरी उहाँसँग भएको १५ सय अमेरिकी डलर अर्थात नेपाली १ लाख ५३ हजार रुपैयाँ लुटेका हुन् ।
लुटपाटको बारेमा तत्कालै प्रहरीलाई जानकारी गराएको भएपनि प्रहरीले लुटेराहरुको खोजीकार्यमा ढिलासुस्ती गरेको उहाँले बताउनुभयो । पीडित योशीयाकी गएको ९ वर्षदेखि जापानमा सँगै बस्दै आएका पोखराका दिलिप सुनारको घरमा सुतिरहेको बेला लुटिनुभएको हो ।
लुटेराहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्नका योशीयाकीले आग्रह गर्नुभएको छ । घटनाले मानसिक रुपमा त्रसित भएको बताउँदै योशीयाकीले चाँडो भन्दा चाँडो जापान फर्कन चाहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.