श्रीमानलाई धम्क्याउन खोज्दा आफैँ जलिन् गीता शेख

बाँके । आफ्नै घर भित्र जलेकी बर्दिया मोहम्मदपुर-१ शितलाबजारकी गीता शेख श्रीमानलाई धम्क्याउन खोज्दा जलेर घाइते भएको खुलासा भएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगन्जको शैयामा बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवर र एसपी गोविन्दराम थापालाई गीताले अरु कसैले जलाएको नभइ आफै जलेको बताएकी हुन् ।
घटना शंकास्पद भएको भन्दै प्रमुख जिल्ला अधिकारी कुँवर र एसपी थापा आइतबार अपरान्ह अस्पताल पुगेर गीतासँग सोधपुछ गरेका थिए ।
शुक्रबार उनको शरिरमा आगो सल्किएको थियो । उनको शरिरको ३१ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।   
श्रीमान नैमुद्दिन शेखका अनुसार शुक्रबार उनले शरिरमा मट्टितेल खन्याइन् र सलाई कोरेर आगो लगाएकी थिइन् । नैमुद्दिनले आगो निभाएर तत्काल अस्पताल ल्याएपनि प्रहरीले आइतबार मात्रै यो घटना थाहा पाएपछि सार्बजनिक भएको थियो ।
सौतासँग पनि राम्रो सम्वन्ध
गीता नैमुद्दिनकी जेठी श्रीमती हुन् । तर कान्छी श्रीमतीसँग कुनै पनि बेमेल नभएको उनका आफन्तहरुले बताएका छन् । गीता आफ्नो माइत जाँदा पनि कान्छीलाई सँगै लिएर जाने गरेको छिमेकी र आफन्तहरु बताउँछन् ।
घर खर्च चलाउन गाह्रो भएपछि गीताका श्रीमान नैमुद्दिन वैदेशिक रोजगारमा गएका थिए । तर, काम गर्न अप्ठेरो भएको भन्दै स्वदेशमै फर्किएका थिए । विदेश जाँदा र फर्किँदा लाग्ने खर्च गीताले नै ऋण सापटी गरेर जुटाएकी थिइन् ।
यस्तै घरायसी विवादमा श्रीमानसँग ठाकठुक परेपछि उनले धम्काउन आत्मदाहको बहाना गर्दा झुक्किएर शरिरमा आगो सल्किएको गीताले बताएकी छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.