एमालेलाई बाइपास नगर्न कांग्रेस नेताको चेतावनी
६
पुस, काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले दोस्रो ठूलो दल
एमाले र तेस्रो ठूलो दल एमाओवादीलाई विश्वासमा लिएर अघि वढ्न नेतृत्वमाथिको
दबाव जारी राखेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय
कार्यसमितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले एमालेलाई बाईपास गरेर अघि
बढ्नु दुर्भाग्य पूर्ण हुने भन्दै सबै दललाई विश्वासमा लिएर अघि
बढ्नुपर्नेमा जोड दिएका हुन् ।
केन्द्रीय सदस्यको यही सुझावका आराधमा
आइतबार विहान कांग्रेसले एमाले नेताहरुलाई कोइरालानिवास महाराजगञ्जमा
वार्ताका लागि बोलाएको छ । शनिबारको बैठकमा कांग्रेस नेताहरुले जनताले
काँग्रेसलाई सबै दललाई मिलाएर अघि बढ्ने जिम्मेवारी दिएकाले कुनै एक दललाई
बाहिर राख्न नहुनेमा जोड दिएका हुन् । बैठकमा बोलेका नेताहरुले काँग्रेसले
एक वर्षमा नयाँ संविधान दिने भनेर आफ्नो घेाषणापत्रमै समावेश गरेकाले
सहमतीय सरकार गठन गरेर संविधान लेखनको काममा जुट्नुपर्नेमा जोड दिएको
केन्द्रीय सदस्य मीना पाण्डेले जानकारी दिनुभयो ।
नेतृ पाण्डेका अनुसार नेताहरुले एक
वर्षभित्रमा संविधान निर्माण गरेर जनताको मतलाई सम्मान गर्न नेतृत्वलाई
सुझाव दिएका हुन् । पाण्डेले अनलाइनखबरसंग भन्नुभयो, ‘बैठकमा बोल्ने धेरै
नेताहरुले एमाले र माओवादीलाई सहमतिमा ल्याएर सरकार गठन गरी संविधान जारी
गर्ने काममा अग्रसर हुन सुझाव दिनुभएको छ । सबैको जोड एमालेलाई बाहिर राख्न
हुन्न भनेमा छ ।’ नेतृ पाण्डेले बैठकमा बोलेका नेताहरुले चुनावमा भएको
भनिएको अन्तरघातबारे गहनरुपमा छानविन गरेर कारबाही गर्न नेतृत्वलाई दबाब
दिएको जानकारी दिनुभयो ।
कांग्रेसकै नेताहरुले पार्टीका
उम्मेदवारलाई हराउन गद्दारी गरेको भन्दै अन्तरघात गर्ने नेताहरुलाई कारबाही
गरेर समानुपातिक सभासद बन्नवाट रोक्नु पर्नेमा शनिबार पनि नेतृत्वको
ध्यानाकर्षण गराएका थिए । काँग्रेस केन्द्रीय समिति वैठक सुरु भएदेखि नै
वैठकमा बोलेका अधिकांश नेताहरुले चुनावमा भएको अन्तरघातको विषयलाई नै कडा
रुपमा उठाउँदै आएका छन् ।
नेताहरुले समानुपातिक सभासद सिफारिस गर्दा
पार्टीलाई योगदान पुर्याएका, निष्ठावान तथा नयाँ उम्मेदवारहरुलाई मौका
दिनुपर्नेमा शनिबारको बैठकमा पनि जोड दिएका छन् । बैठकमा केन्द्रीय सदस्य
सीता गुरुङले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुचिश्चित गर्न माग
गर्नुभएको थियो । गुरुङले प्रत्यक्षतर्फको चुनावमा टिकट नपाएका केन्द्रीय
नेताहरुलाई समानुपातिक सभासद सिफारिस गर्दा पहिलो प्राथमिकतामा
राख्नुपर्नेमा जोड दिनुभएको थियो । गुरुङले समानुपातिक सभासद छनोट गर्दा
पार्टीमा पुर्याएको योगदान र क्षमताका आधारमा चयन गर्नुपर्नेमा जोड
दिनुभएको स्रोतले बताएको छ ।
विवादीत विषय संविधानसभावाटै टुंग्याउनुपर्छ : बडु
यसैवीच काँग्रेस प्रवक्ता दिलेन्द्र
प्रसाद बडुले दलहरुवीच विवादीत विषय संविधानसभाको बैठकवाटै टुंग्याउनु
पर्ने वताउनुभएको छ । बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै बडुले संविधान
निर्माण काँग्रेसको प्रमुख एजेण्डा भएकाले संबिधानसभाको वैठकवाटै विवादीत
विषयको समाधान खोज्नु पर्नेमा जोड दिनु भएको हो । बडुले एमाओवादीले
भनेजस्तो धाँधली छानविन आयोग गठन गर्न नसकिने बताउनुभयो । उहाँले
भन्नुभयो,’एमाओवादीले भनेजस्तो धाँधली छानविन आयोग नै गठन गर्नु हुँदैन
भन्नेमा केन्द्रीय सदस्यहरुले जोड दिनु भएको छ । बरु संविधानसभामा गएपछि
संसदीय छानविन आयोग गठन गर्नु सकिन्छ ।’
नेताहरुले बोल्ने क्रम शनिवार पनि
नसकिएपछि केद्रीय कार्य समिति बैठक लम्बिएको छ । शनिवारको वैठकमा दिलबहादुर
घर्ती, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. प्रकाशशरण महत,
महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अम्बिका बस्नेत,
महेन्द्र यादव, रत्न शेरचन, ईश्वरी न्यौपाने, सीता गुरुङ, कविताकुमारी
सरदार बातर र सुजाता परियारले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठक
आइतवार विहान ११ बजे पुनः बस्नेछ ।
0 comments
Write Down Your Responses