माधव कुमारले काठमाडौं र वामदेवले बर्दिया छाडे

७ माघ, काठमाडौं । मंसिर ४ को संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट विजयी भएका नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं र उपाध्यक्ष वामदेव गौतमले बर्दिया छाडेका छन् ।

शुक्रबार मनमोहन स्मृति प्रतिष्ठना सानेपामा बसेको एमाले स्थायी कमिटीको बैठकले नेपालले काठमाडौं २ र गौतमले बर्दिया १ छाड्ने निर्णय गरेको नेता भरतमोहन अधिकारीले जानकारी दिए । नेपाल काठमाडौं २ र रौतहट १ बाट तथा गौतम बर्दिया १ र प्युठान १ बाट निर्वाचित भएका थिए ।

वरिष्ठ नेता नेपालले छाडेपछि काठमाडौं २ मा उपनिर्वाचनमा उठ्नका लागि महासचिव इश्वर पोखरेल इच्छुक छन् । तर, काठमाडौं ५ मा पराजित भएकाले पोखरेललाई मतदाताले नरुचाउने र विपक्षीले कार्ड प्रयोग गर्न सक्ने भन्दै विकल्पबारे पनि छलफल भइरहेको छ । नेता अग्नि खरेल वा स्थानीय नेतालाई उम्मेदवार बनाउने सम्भावना पनि छ ।

गौतमले छाडेपछि बर्दिया १ बाट भने पूर्व जिल्ला अध्यक्ष श्याम ढकाललाई उम्मेदवार बनाउने प्रवल सम्भावना छ ।

निर्वाचन आयोगले दुर्इवटा क्षेत्रबाट विजयी उम्मेदवारलार्इ माघ १८ सम्ममा एउटा क्षेत्र छोड्न सूचित गरेको छ । संविधानसभा सदस्य निर्वाचन अध्यादेशको दफा ५ को २ मा दुईवटा क्षेत्रबाट निर्वाचित उम्मेदवारले निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्रमा लिखितरुपमा राजीनामा दिनुपर्ने उल्लेख छ ।

कांग्रेसबाट दुर्इवटा क्षेत्रमा विजयी सभापति सुशील कोइराला र बरिष्ठ नेता नेता शेरबहादुर देउवाले पनि माघ १८ भित्र एक क्षेत्र छोड्नु पर्ने हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.