एमाले संसदीय दलको नेता केपी ओली हुनसक्ने !

माघ, काठमाडौं । एमाले संसदीय दलको नेताको निर्वाचन मिति नजिकिँदा पार्टी उच्च नेतृत्वमा नयाँ समीकरण बनेको छ। अध्यक्ष झलनाथ खनालसँग नजिक रहेका उपाध्यक्ष वामदेव गौतम अर्का नेता केपी शर्मा ओलीको पक्षमा लागेका छन्। नयाँ समीकरणसँगै गौतमले दलको नेतामा ओलीलाई प्रस्ताव गर्ने टुंगो लागेको छ।

ओली, गौतम र सचिव विष्णु पौडेललगायतका नेताबीच शनिबार अबेरसम्म पटकपटक भएको छलफलपछि पार्टीभित्र बहुदलीय जनवादका पक्षधरहरूबीच दलको नेता र पार्टीको आगामी नवौं महाधिवेशनसम्मकै लागि एउटै आवाज बनाउने सहमति भएको हो। उपाध्यक्ष गौतमले भने, ‘कामरेड केपी ओलीलाई संसदीय दलको नेता बनाउने हाम्रो सहमति भएको छ। मैले उहाँलाई नै समर्थन गर्ने भएको छु।’

गौतमका अनुसार पार्टीभित्रको नयाँ समीकरण आगामी महाधिवेशनसमेतलाई लक्षित गरेर बनाइएको हो। देशको समग्र अवस्था र पार्टीको आन्तरिक अवस्था विश्लेषण गरेर यस्तो निष्कर्षमा पुगिएको गौतमले बताए। गौतम-ओली समीकरणपछि अध्यक्ष खनाल समूहलाई पार्टीको आन्तरिक राजनीतिमा धक्का पुग्ने भएको छ। गौतमले भने, ‘हामी आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने गरी जाँदैछौं।’

यसअघि खनाल र ओलीमध्ये एकलाई राष्ट्रपति बनाउने गरी सहमतिको प्रयास भएको थियो। तर सफल नभएपछि गौतमले ‘एक व्यक्ति एक पद’ को सिद्धान्तअनुसार संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए। यसमा पनि खनालसँग कुरा नमिलेपछि ओली-गौतम समीकरण बनेको हो।

सर्वसम्मतिको प्रयासमा गौतमलाई सचिव विष्णु पौडेलको पनि साथ छ। गत बुधबार नयाँ बानेश्वरमा ओली, गौतम र पौडेलबीचको छलफलपछि पौडेलले भनेका थिए, ‘दलको नेता शतप्रतिशत सहमतिमा चयन हुन्छ, चुनाउ हुँदैन।’

ओली संसदीय दलको नेता भएपछि प्रधानमन्त्रीका लागि अघि सारिनेछन्। तत्कालका लागि गौतम भने सुशील कोइराला नेतृत्वम बन्ने सरकारमा उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने अन्नपूर्ण पोस्टमा खबर छ।

ओलीले संविधानसभा निर्वाचनमा एमाओवादीको पराजयमा आफ्नो भूमिका र पार्टी लाइनले गतिलो काम गरेको दाबीसहित कार्यकारी पदका लागि आफ्नो योग्यता प्रस्तुत गर्दै आएका छन्। पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘वामदेव कामरेड पनि ओली कमरेडलाई संसदीय दलको नेता बनाउन सकारात्मक हुनुभएको छ, त्यसैले सर्वसम्मति होला।’ उनले एक व्यक्ति एक पदका आधारमा अघि बढे पार्टीका चार वरिष्ठ नेताको व्यवस्थापन सजिलै हुनसक्ने बताए।

गौतम र पौडेलले खनाललाई अध्यक्ष र प्रधानमन्त्री दुवै कार्यकारी पद चलाइसकेकाले अब राष्ट्रपति बन्न आग्रह गरेको गौतमनिकट एक नेताले जानकारी दिए।

गौतम पक्षधर सभासद्ले जसलाई भोट हाल्यो, उसैले जित्नसक्ने भएकाले चुनाउ भएमा दलको नेता ओलीले जित्ने स्थिति छ। बुधबार होटेल एभरेस्ट र बिहीबार राति ८ देखि १० बजेसम्म ओली निवास, बालकोटमा भएको गौतम-ओलीबीच छलफल भएको थियो।

समानुपातिक सभासद् चयनका बेला अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतम एक पक्षमा थिए भने ओली र महासचिव ईश्वर पोखरेल अर्को पक्षमा थिए।एमालेले सहमति नभए दलको नेताको चुनाउ मंगलबार गर्नेछ। सर्वसम्मतिमा नेता चयनको प्रयास गर्न सोमबार पार्टी केन्द्रीय कमिटी बैठक बस्दैछ। एमाले संसदीय दलको बैठकचाहिँ आइतबारै बस्दैछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.