अमेरिकामा नेपाली युवतीका हत्यारालाई ८५ वर्ष जेल

वाशिङटन डीसी । नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठका हत्यारालाई अमेरिकी अदालतले ८५ बर्षको जेल सजायँ सुनाएको छ ।
समानता श्रेष्ठ
समानता श्रेष्ठ
सोमबार भएको दिनभरिको सुनुवाइमा मुख्य हत्याराको अभियोगमा पक्राउ परी मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलकी विद्यार्थी २२ बर्षीया जेसिका मिशेल विङ्गलाई अदालतले यस्तो सजायँ सुनाइएको हो ।
मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया, ब्ल्याक्सबर्गले हत्याको अभियोगमा ८० बर्ष र प्रमाण लुकाउन प्रयास गरेकोमा थप ५ वर्ष गरी ८५ बर्षको सजायँ तोकेको हो ।
गत वर्ष फेब्रुअरीमा अमेरिकामा समानताको हत्या भएको थियो । जेसिका मुख्य हत्याराका रूपमा पक्राउ परेकी थिइन् भने पूर्वविद्यार्थी केइफर क्याल ब्राउन प्रमाण लुकाउन खोजेको अभियोगमा समातिएका थिए ।
अदालतमा सोमबार  बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुनुवाइ चलेको थियो । वादी र प्रतिवादीका वकिलहरुले लामो समय बहस गरेका थिए ।
न्यायाधीशले मुख्य अभियुक्त जेसिका मिशेल विङ्गले ४५ बर्षसम्म सजायँ काटेपछि उनको आचरण, ब्यबहार र अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने फैसला गरेका छन् ।
उक्त सुनुवाइमा डीसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा नेपाली समुदायको बिहानदेखि घुइँचो लागेको थियो । खचाखच भिड भएकाले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकी पूर्वअध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णुकुमारी थापाले जानकारी गराइन् । यस्तो प्रभावकारी बहस आफुले जीवनमा पहिलोपटक अमेरिकामा देखेको थापाले बताइन् ।
गत बर्ष नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याक्सबर्गका स्थानीय बासिन्दा भएको अमेरिकी प्रहरीले जनाएको छ ।
केइफर क्याल ब्राउन र जेसिका मिशेल विङ्ग
केइफर क्याल ब्राउन र जेसिका मिशेल विङ्ग
अमेरिकाको चर्चित मानिने भर्जिनिया टेक्निकल विश्व विद्यालयमा धेरै नेपाली विद्यार्थीहरु अध्ययन गर्छन् l हत्यामा मुख्य अभियुक्त मानिएकी जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत थिइन् । समानता सोही विश्वविद्यालयमा पढ्थिन् । उनले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन् ।
हत्या गरिएकी समानता श्रेष्ठ अन्तरराष्ट्रिय मुद्रा कोषमा कार्यरत माणिकलाल श्रेष्ठकी कान्छी छोरी हुन् । नेपालमा मोटरसाइकल दुर्घटनामा परी दिदीको निधन भएको केही वर्षपछि  अमेरिकामा समानताको हत्या भएको थियो । समानताकी आमा राजश्री श्रेष्ठ द राइजिङ नेपालकी पूर्व सञ्चारकर्मी हुन् । दुबै सन्तान गुमाएका श्रेष्ठ दम्पतीले सोमबार अदालतबाट न्याय पाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.