कांग्रेस केन्द्रीय समितिमा सुजाताको कल डिटेल देखाउन माग

६ पुस, काठमाडौं । संविधानसभा चुनावमा भएको अन्तर्घातले नेपाली कांग्रेसमा चर्को रुप लिएको छ । आफूले पेस गरेको प्रमाण नेतृत्वले बैठकमा प्रस्तुत नगरेको भन्दै शुक्रबार आमोदप्रसाद उपाध्यायले आक्रोश पोखेका थिए । अनुशासन समितिका संयोजकसमेत रहेका उपाध्यायले पार्टी नेतृत्वले नै अन्तर्घातीमाथि कारबाही नगर्ने वातावरण बनाउन लागेको भन्दै आपत्ति प्रकट गरेका थिए ।
उपाध्यायले नातेदारसमेत रहेकी सुजाता कोइरालाको टेलिफोन कल डिटेल बैठकमै ल्याई सबैलाई देखाउन माग गरे । उनी मोरङ क्षेत्र नम्बर १ बाट उम्मेद्वार थिए । बैठकमा रामशरण महत, बलबहादुर केसीलगायत केन्द्रीय सदस्यले पनि अन्तर्घात गर्नेहरुमाथि कारबाही गर्नुपर्ने बताएका थिए ।
बैठकमा अनुसासन समितिले प्रत्यक्ष निर्वाचनमा पार्टीका उम्मेद्वारलाई अन्तर्घात गरी हराएको आरोप लागेका ३१ जनामाथि कारबाही गर्न विशेष छानबिन आयोग गठन गर्न माग गरेको छ । समानुपातिकको सूचीमा रहेका ३१ जना विरुद्ध समितिमा अन्तर्घात गरेको उजुरी परेको अन्नपूर्ण पोस्टमा खबर छ । उजुरीमा संसदीय बोर्डका सदस्यदेखि केन्द्रीय सदस्यसम्मको नाम छ । उजुरी परेका ३१ जनामा संसदीय बोर्ड सदस्य सुजाता कोइराला, केन्द्रीय सदस्य डीना उपाध्याय, मीना सुब्बा र राजन पन्तसहित समानुपातिकतर्फका उम्मेद्वार छन् । एक केन्द्रीय सदस्यका अनुसार उपाध्यायले समितिले स्पष्टीकरण सोध्ने र बयान लिने काम नगरी कारबाहीको सिफारिस गर्न नसक्ने विधानको व्यवस्था भएको र ती सबै प्रक्रिया पूरा गर्दा समानुपातिकतर्फ सभासद् छानिइसक्ने हुनाले केन्द्रीय समितिले विशेषधिकार प्रयोग गरेर अलग्गै छानबिन आयोग गठन गरी एकदुई दिनमै टुंगो लगाउन माग गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.