गेस्टहाउसमा बसेर चोरी

काठमाडौं, पुस ६ - महानगरीय प्रहरी वृत्त गौशालाले गेस्टहाउसमा बसेर दिउँसोको समयमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
उनीहरूले बागबजारस्थित जयदुर्गा गेस्टहाउसको कोठा भाडामा लिएर गौशाला, रातोपुल, पिंगलास्थान, सिफल, ज्ञानेश्वर क्षेत्रमा घरधनी नभएको मौकामा दिउँसो चोरी गर्दै आएको खुलेको छ । पक्राउ पर्नेमा प्युठान घर भई काठमाडौं बस्ने दीपक बोगटी, ताप्लेजुङ फुङलिङ-३ का कपिल थापा, सुर्खेत करेखोला-६ का प्रेम केसी र सिन्धुपाल्चोक-५ का कृष्णबहादुर थापामगर छन् । मोरङ लेटाङ घर भएका भीष्म श्रेष्ठले सञ्चालन गरेको गेस्टहाउसमा जाँच गर्दा कोठा नम्बर २४ मा उनीहरूलाई पक्राउ गर्न सफल भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले बताए ।
उनीहरूले रड प्रयोग गरी ढोका फोडेर नगद, गरगहना, मोबाइल, ल्यापटपलगायत धनमाल चोरी गर्ने गरेको उनले बताए । अनुसन्धानबाट गत १२ साउनमा सिफलस्थित मनोजप्रसाद अर्यालको कोठाको ताल्चा फोडेर ल्यापटपलगायत धनमाल चोरी गरेको खुलेको छ । २९ मंसिरमा ज्ञानेश्वरस्थित हेमन्त आलेको घरमा, त्यसको भोलिपल्ट रातोपुलस्थित निरञ्जनप्रसाद न्यौपाने र बुधबार विजयचोककी सुनिता न्यौपानेको घरमा डेरा गरी बस्ने सुमित्रा कडरियाको कोठामा चोरी भएको काफ्लेले बताए । पीडित व्यक्ति र घटनास्थल आसपासका छिमेकीहरूबाट प्राप्त हुलियाका आधारमा घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । अभियुक्तका साथबाट प्रहरीले सुनको हार, मंगलसूत्र, सिक्री, टप, लकेट, घडी, मोबाइल, विदेशी मुद्रा बरामद भएको छ ।
यस्तै, सार्वजनिक यातायातमा धारिलो हतियार प्रहार गरी डाँका र चोरी गर्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । काफ्लेका अनुसार पक्राउ पर्नेमा रूपन्देही दयानगर-९ घर भई हरिसिद्धि बस्ने विकास आचार्य र लमजुङ भोटेओडार घर भई कुमारीपाटी बस्ने राजेन्द्र गुरुङ छन् । उनीहरूले सोमबार एकान्तकुनाबाट भाडाको गाडी चढेर गौशाला आउँदै गरेका भक्तपुर मध्यपुर थिमी १६ बस्ने खगेन्द्र मैनालीको साथमा रहेको ५० हजार लुटेको प्रहरीले जनाएको छ । त्यस क्रममा लुटेराले धारिलो हतियार प्रहार गरेर मैन्ाालीलाई घाइते बनाएको थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले २३ मंसिरमा जोरपाटी चामुण्डास्थित धावा शेर्पाको घरमा चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । घरमा कोही नभएको मौका पारेर नगद तथा सुन र चाँदीका विभिन्न गरगहनासहित २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक नवलपुरका प्रेम लामा, लामा फुर्वा नोर्वु ह्योल्मोपा, शरण भन्ने रामशरण लामा, कर्ण भन्ने कर्म लामा, नुवाकोट विदुर २ का रामकुमार विक र दीपेन्द्र सुनार छन्् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.