तीन बालक ५ दिनदेखि बेपत्ता, परिवार चिन्तामा

१९ मंसिर, कञ्चनपुर । कञ्चनपुरको झलारी-९ अमरपुरका तीनजना बालक पाँच दिनदेखि बेपत्ता भएका छन् । झलारी एजुकेसनल एकेडमीमा सात कक्षामा अध्ययनरत १३ वर्षका केशव विष्ट र नवीन विष्ट तथा १४ वर्षका भुवन भट्ट बेपत्ता भएका हुन् ।

तीनै जना विद्यालयबाट घर आएपछि मंसिर १५ गतेदेखि परिवारको सम्पर्कमा नरहेका भुवनकी आमा निर्मलादेवी भट्टले बताउनुभयो । आफन्त र नजिकका झलारी, महेन्द्रनगर र सीमावर्ती भारतीय वनवासा बजारमा खोजतलास गर्दासमेत फेला पार्न नसकेको उहाँले बताउनुभयो ।
एक्लै कहिले पनि घरबाट बाहिर ननिस्केकाले कसैले प्रलोभनमा पारेर उनीहरूलाई भारततर्फ लगेको हुन सक्ने केशवकी आमा राजमाती विष्टले बताउनुभयो । बेपत्ता तीनै जनाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिए पनि हालसम्म फेला पार्न नसक्दा पूरै परिवार चिन्तामा रहेको उहाँले बताउनुभयो ।
घरमा राखेको १० हजार रुपैयाँसमेत नरहेकाले बालकलाई प्रलोभनमा पारेरे लगेको उहाँको भनाइ रहेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक निरञ्जन भट्टले बालकहरू बेपत्ता भएको कार्यालयमा निवेदन आएपछि खोजतलासको कार्यलाई तीव्र बनाए पनि हालसम्म फेला पार्न नसकेको बताउनुभयो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.