माइत बसेको निहुँमा बाबुद्वारा छोरीको हत्या

परासी - नवलपरासीको बेनीमणिपुर गाविस–२ ढुडेमा आफ्नै बाबुले छोरीको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उनानसठ्ठी वर्षका कृष्ण सापकोटाले ३५ वर्षीया छोरी लक्ष्मीसिंह ठकुरीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो। छोरी लक्ष्मी दुई दिनदेखि गाउँमा नदेखिएपछि गाउँलेले प्रहरीमा उजुरी दिएका र उजुरीपछि उनलाई खोज्ने क्रममा उनका बाबुले नै हत्या गरेको रहस्य खुलेको हो। करिब नौ महिनादेखि माइतीमै बस्दै आएकी छोरी र बुबाबीच घर नगई माइतमा बसेको भन्ने विषयमा पटकपटक विवाद हुने गरेको र गत माघ १६ गतेपछि सोही विषयमा विवाद हुँदा दुईबीच कुटाकुट भएको र सोही क्रममा बाबुले छोरीको हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन अधिकारीले बताए। बुबा सापकोटाले छोरीको हत्या गरी घर नजिकै खाडल खनेर पुरेको समेत खुल्न आएको छ। सापकोटाले झगडा हुने क्रममा पिट्दा घरको धुरीखाँबोमा ठोक्किएर छोरीको मृत्यु भएको र मृत्युपछि आफैँले जमिनमुनि गाडेको प्रहरीसामु बयान दिएका अधिकारीले बताए। उनलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा राखिएको छ । सापकोटाले माघ १६ गते हत्या गरेको बुझिएको छ। उनका अनुसार तीन दिनसम्म लक्ष्मी नदेखेपछि स्थानीय जनताले शङ्काको आधारमा आइतबार प्रहरीमा उजुरी गरेपछि बुबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। पुरिएको स्थानबाट शव निकाल्न र आवश्यक अनुसन्धान थाल्न इलाका प्रहरी कार्यालय कावासोती र दुम्किवासको टोली घटनास्थल पुगेको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.