सहमतीय सरकार बनाउन सुशील कोइराला असफल

पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सहतीय सरकार गठन गर्ने नेपाली कांग्रेसको प्रयास असफल भएको छ ।

अब बहुमतीय प्रक्रिया सुरु हुने भएको छ । शीतलनिवास स्रोतका अनुसार राष्ट्रपतिले सोमबार अन्तरिम संविधानको धारा ३८ (२) अनुसार सरकार गठन गर्न आहृवान गर्नेछन् । राष्ट्रपतिले संविधानको ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि एक साताको समय दिएर माघ १२ गते आहृवान गरेका थिए ।
सहमतीय सरकार गठनका लागि सहमति जुटाउने अन्तिम प्रयासस्वरुप कांग्रेसले आइतबार सर्वदलीय बैठक राखेको थियो । सविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा तेस्रो दल एकीकृत नेकपा माओवादी र चौथो दल राप्रपा नेपालले प्रतिपक्षमा बस्ने जानकारी गराएपछि सहमतिको सरकार बनाउने दलहरुको प्रयास असफल भएको हो ।
प्रचण्ड भन्छन्- कांग्रेस, एमालेले बनाउन्
आइतबारको सर्वदलीय बैठकपछि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफूहरु सरकारमा नगई रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।
‘अहिले जो जनादेश, जो परिणाम आएको छ, हामी चाहिँ सरकारमा जाने होइन, संविधान निर्माणमा ध्यान केन्दि्रत गर भन्ने नेपाली जनताले भनेको ठानेका छौं’ प्रचण्डले भनेका छन्-त्यसकारण हामी रचनात्मक भूमिकाको प्रतिपक्षमा बस्छौँ, सरकारमा जाँदैनौँ ।’
उनले जनताले कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन भनेको बताए । प्रचण्डले भने-’कांग्रेस र एमाले मिल्दा बहुमत पुग्छ । कांग्रेस एमालेभन्दा केही ठूलो दल भएको छ । त्यसकारण कांग्रेसको नेतृत्व स्वभाविक देखिन्छ । मिलेर सरकार बनाउन्, हाम्रो शुभकामना छ ।’
कांग्रेस नेता भन्छन्- अब बहुमतीय सरकार बन्छ
सहमति प्रक्रिया असफल भएको भन्दै कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले अब बहुमतीय प्रक्रिया अघि बढेको बताए । उनले भने-’सहमतीय प्रक्रियाबाट हुन नसकेपछि बहुमतीय प्रक्रिया अघि बढिसक्यो, अब बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठन हुन्छ ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई निर्विरोध प्रधानमन्त्री बनाउन प्रयास हुने बताए । ‘संविधानको धारा ३८ (२) बमोजिम पनि निर्विरोध सरकार बन्न सक्छ, त्यसका लागि हामी अन्त्यसम्म पहल गर्छौं ।’ उनले भनेका छन् ।
निर्विरोध प्रधानमन्त्री बन्न संसदमा चुनाव हुँदा कोइरालाविरुद्ध कसैको पनि उम्मेदवारी पर्न हुँदैन । एमाओवादी र राप्रपा नेपालले उम्मेदवारी नदिने बताएपछि कुनै साना दलले दिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
सबै पार्टीर्हरुसँग सम्मानका साथ सरकारमा ल्याउन पहल थालिने भन्दै पौडेलले सरकार निर्माणमा पहिलो प्राथमिकताका साथ एमालेसँग छलफल अघि बढाइने बताए । सहमति किन भएन भन्ने प्रश्नमा कांग्रेस उपसभापति पौडेलले नेपाल राजनीतिमा सहमति भन्ने शब्द भन्नका लागि मात्रै भएको टिप्पणी गरे ।
कांग्रेस प्रवक्ता दिलेन्द्र बडूका अनुसार सहमतीय सरकारको नेतृत्वका लागि कोइरालालाई १६ दलले लिखित रुपमा समर्थन गरेका छन् ।
एमालेलाई चाहियो सम्मान
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत भएको दोस्रो ठूलो दल नेकपा एमालेले भने सम्माजनक शक्ति बाँडफाँड नभए सरकारमा नजाने बताएको छ । आइतबारको सर्वदलीय बैठकपछि एमाले अध्यक्ष खनालले भने- ‘बहुमतीय सरकार बन्दा एमालेले आफ्नो पोजिसन खोज्छ ।’
बहुमत जुटाउन एमालेको समर्थन अनिवार्य
बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भएपछि प्रधानमन्त्री बन्न कोइरालाई अब संसदमा २ सय ८५ सभासदको समर्थन चाहिन्छ ।
एकजना सभासदलाई अदालतले सभासदको हैसियतमा काम गर्न नदिनु भनेकाले एकजना सभासदको संख्या घटेको छ । कांग्रेसका सुशील र शेरबहादुर देउवा तथा एमालेको माधवकुमार नेपाल र वामदेव गौतम २-२ स्थानबाट जितेको भएपनि मतदानमा भने १-१ मात्र कायम हुन्छ ।
८० सभासद भएको एमाओवादी र २४ सभासद भएको राप्रपा नेपालले प्रतिपक्षमा बस्ने घोषणा गरिसकेको अवस्थामा सरकार गठनका लागि कांग्रेसलाई एमालेको समर्थन अनिवार्य भएको छ ।
कांग्रेसको १ सय ९४ मत छ भने एमालेको १ सय ७३ मत छ । कांग्रेस र एमाले मिल्दा सहज सरकार बन्छ । तर, माओवादी र राप्रपा नेपाल सरकार गठन प्रक्रियामा सहभागी नहुने हो भने कांग्रेेस र एमालेले एक अर्कालाई बाइपास गरेर सरकार बन्ने अवस्था देखिँदैन ।
यद्यपि सरकारमा नजाने बताएको एमाओवादीले बाहिरैबाट कांग्रेसलाई समर्थन जनाएको खण्डमा भने उसलाई सरकार गठनमा केही सहज हुने देखिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.