दसैंमा आधा अर्बको जुवा खाल, हाकिमका श्रीमती नै चलाउँछन् जुवा अखडा

१३, असोज, काठमाडौं । मानिसहरुका दसैं मनाउने आ-आफ्नै शैली छन् । प्रायः निम्न मध्यमवर्गीय मान्छेहरु दसैं मनाउन राजधानी छाडेर आ-आफ्नो जन्मथलो जान्छन् ।
यता राजधानीमा ठूला-ठूला धनाड्य एवं वैभवशाली व्यक्तिहरुका लागि भने दसैं जुवातासका लागि उपयुक्त मौसम बन्ने गरेको छ ।
दसैंका बेला करोडौंका जुवा खालहरु लाग्ने भएकाले प्रहरीले आफ्नो सक्रियता पनि बढाएको छ । स्रोतका अनुसार ठूला जुवा अखडाहरुको पहिचान गरी ती ठाउँमा एकैचोटि हिट गर्ने योजनामा प्रहरी छ ।
दसैंका बेला जुवा र तासका ठूला ठूला खाल लाग्ने गरेकाले त्यस्ता गतिबिधि नियन्त्रण गर्न विशेष योजना बनाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए ।
कार्कीले अनलाइनखबरसँग भने-‘हामीले जुवा तास नियन्त्रण गर्न सधैं अभियान चलाइरहेका छौं । तर, दसैं तिहारको बेला विशेष निगरानी गर्छौं, जुवाका हिसाबले खेलाइएका खालहरुमा हामी छाड्दैनौं ।
चाडबाडका बेला पारिवारिक रमाइलोका लागि तास खेल्नु सामान्य हुन सक्छ । यस्तोबेला प्रहरीले पनि परिवार बसेर गर्ने मनोरन्जनलाई त्यति निगरानी गर्दैन ।
तर, यही मौकामा एकैखालमा चार करोड पाँच करोडसम्मको खाल जम्ने गरेको प्रहरीको बिगतको अनुभव छ । ‘एक हजार रुपैया प्वाइन्टसम्मको म्यारिजका खाल चल्ने गरेका छन्’ एक प्रहरी अधिकृतले भने ‘त्यस्तो खालमा दुई चार करोडको खेल सामान्य हो’ ।
गत वर्ष दसैंका बेला प्रहरीले धुम्बाराहीको एक जुवा अखडामा छापा मार्दा अर्थ मन्त्रालयका सहसचिव, उपसचिव, प्रहरीका उच्च अधिकारीका श्रीमतीहरुनै भेटिएका थिए ।
केही साताअघि प्रहरीले कपन खरिबोटस्थित नेपाली सेनाका कर्णेल हेमवहादुर केसीको घरमा सञ्चालित जुवा अखडामा छापा मारेको थियो ।
केसीकी पत्नी मनु र रामेछापका कांग्रेस नेता नारायण खड्काले चलाएको खालमा खेल्ने जुवाडेहरु सेना र प्रहरी अधिकृतका पत्नीहरु बढी भेटिएका थिए ।
जुवाको खाल चलाउनेहरुमा पहुँचवाला व्यक्तिहरु नै बढी हुने गरेको प्रहरीको अनुभव छ । यसमा राजनीतिक दलका चल्ताफिर्ता कार्यकर्ता, प्रहरी र सेनाका उच्च अधिकृतका श्रीमती तथा अवकाशप्राप्त प्रहरी अधिकृतहरु संलग्न हुने गरेका छन् ।
एसएसपी कार्कीले भने प्रहरीले कानुनबमोजिम आफ्नो काम गर्ने भन्दै ठूला साना भनेर व्यवहार नहुने दाबी गरे । ‘साना ठूला भनेर हेरिँदैन, जुवा खेल्ने र खेलाउनेहरुलाई छाडिँदैन’ कार्कीले भने ।
क्यासिनोको विकल्प घरमै जुवा
प्रहरीले यस वर्ष क्यासिनोहरु बन्द भएकाले दसैंको बेला जुवाका अखडा बिगतमा भन्दा बढी नै चल्ने अनुमान गरेको छ । स्रोतले भन्यो-आधा अर्बको खेल हुन्छ होला ।
क्यासिनो बन्द भएपछि जुवाडेहरुले राजधानीका बिभिन्न स्थानमा जुवा अखडाहरु सञ्चालन गरिरहेका छन् । विशेष गरी भक्तपुर, कपन, धापासी, गोठाटार जस्ता क्षेत्रमा बढि जुवा अखडा सञ्चालन हुने गरेको स्रोतले जनाएको छ ।
नयाँ बस्तीहरुमा बढी जुवा खाल चल्ने गरेकाले त्यतातिर निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ । त्यस्तै ठूला व्यापारी, जुवाडेका रुपमा समाजमा परिचित व्यक्ति र उच्चपदस्थका परिवारलाई पनि दसैंका बेलामा प्रहरीले निगरानी गर्दैछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.