सडक खाली छ, अब हामीले नेतृत्व गर्नुपर्छ : बैद्य माओवादी

२३ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले सडक खाली रहेको निश्कर्ष निकाल्दै अब सडक आन्दोलनको नेतृत्व आफ्नो दलले गर्नुपर्ने निश्कर्ष निकालेको छ । ललितपुरको कुपण्डोलमा आइतबार सुरु भएको ५ दिने केन्द्रीय समिति बैठकमा राज्य समिति इञ्चार्जहरुले रिपोर्टिङ गर्ने क्रममा अब सडक आन्दोलनको नेतृत्व आफ्नो दलले गर्नुपर्ने बताएका हुन् ।

Kiran बैठकमा औपचारिकरुपमा प्रस्तुत गर्न बाँकी रहेको अध्यक्ष मोहन वैद्यको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा संविधानसभा विघटन गरी सर्वपक्षीय गोलमेच सभा र त्यसमार्फत् राष्ट्रिय संयुक्त सरकार गठन गरिनुपर्ने कार्यनीतिक नारा अघि सारिएको छ । ‘बैठकको पहिलो दिन राज्य समितिका इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभयो, बहिस्कार आन्दोलन सफल भएको र मंसिर ४ को निर्वाचन हामीले भनेजस्तै नौटंगीमात्रै थियो भन्ने पुष्टि भएको साथीहरुको निश्कर्ष छ,’ माओवादी सचिव देव गुरुङले अनलाइनखबरसँग भन्नुभयो, ‘अब सडक आन्दोलनको एकमात्र वैकल्पिक तथा सामानान्तर अगुवा शक्ति भनेको नेकपा-माओवादी नै हो र हामीले नै जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका उपलब्धीहरुको रक्षा गर्नुपर्छ भन्ने भावमा साथीहरुबाट रिपोटिङ आएको छ ।’
लोकतन्त्रको हिसाबले मुलुक ०४८ सालतिरको अवस्थामा फर्किएको भए पनि राष्ट्रियताको हिसाबले अर्थ औपनिवेशकिबाट नवऔपनिवेशिक अवस्थामा फर्किएको भन्दै गुरुङले भन्नुभयो- ‘अब सडक खाली भएको छ, लोकतन्त्र र अग्रगमनको मुद्दामा सबै देशभक्त, लोकतन्त्रवादी र राष्ट्रवादीलाई मिलाएर अघि बढ्ने शक्ति नेकपा- माओवादी नै हो भन्ने पुष्टि भएको छ ।’ मंसिर ४ को चुनावले साम्राज्यवादका दलालहरुलाई निरपेक्ष अधिकार प्रदान गरेकाले जनयुद्ध, जनआन्दालने, मधेस आन्दोलन र जनजातिहरुले उठाएका मुद्दाहरु गुम्ने खतरा बढेको बैठकमा रिपोर्टिङ भएको उहाँले बताउनुभयो । एकीकृत नेकपा माओवादीको हेटौडा महाधिवेशनको कार्यदिशाले आत्मसमर्पणवादमा पुर्‍याउने वैठकमा चर्चा भएको थियो ।
वैद्यद्वारा संविधानसभा विघटनको माग
माओवादी स्रोतका अनुसार बैठकको पहिलो दिन देशभरिको चुनाव बहिस्कार सम्बन्धी समीक्षा र रिपोर्टिङमै समय खर्च भएकाले अध्यक्षच मोहन वैद्यले आफ्नो राजनीतिक प्रतिवेदन पठ्न भ्याउनुभएन । सचिव गुरुङका अनुसार अध्यक्षले सोमबार विहान प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्का एक केन्द्रीय नेताले दिएको जानकारी अनुसार वैद्यको प्रतिवेदन ६ पृष्ठको रहेको छ । प्रतिवेदनमा संविधानसभाको विघटन गर्न माग गरिएको छ । संविधानसभाको औचित्य नभएकाले यसलाई विघटन गरेर उच्चस्तरीय राजनीतिक सभाको आयोजना गरी राष्ट्रिय संयुक्त सरकार गठन गर्न माग गरिएको छ ।
संविधानसभाको चुनाप आफूहरुले भनेजस्तै नौटंकीपूर्ण भएको वैद्यको प्रतिवेदनमा उल्लेख छ । बहिस्कार आन्दोलन राजनीतिकरुपमा सफल भएको तर प्राविधिक हिसाबले प्रभावकारी हुन नसकेको प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
आइतबारदेखि कुपन्डोलस्थित जनवर्गीय संगठनको कार्यलयमा जारी बैठक २७ गतेसम्म चल्ने बताइएको छ । सोमबारको बैठकमा अध्यक्षले प्रतिवेदन पेश गरेपछि सो प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.