‘माहात्मा गान्धी’ले डुबाउन थाले टिचिङ हस्पिटल !

२ फागुन, काठमाडौं । टिचिङ हस्पिटलका प्रा डा. गोविन्द केसीको आमरण अनशनसँगै राजनीति र पैसाको बलमा सम्वन्धन लिन खोज्ने चारवटा निजी कलेजको प्रयास तत्काललाई रोकिएको छ । तर, सरकारले माग पूरा गरिसकेपछि पनि डा. केसीले आफ्नो ढिपी नछाडेपछि अब टिचिङ हस्पिटल डुब्ने र माफियालाई नै फाइदा पुग्ने अवस्था आएको भन्दै अस्पतालका कर्मचारीले चिन्ता गर्न थालेका छन् ।
‘डा. केसी आफूलाई ‘माहात्मा गान्धी’ ठान्छन्, तर, उनैले विरामीको उपचार बहिस्कार गर्ने र विरामीलाई मर्न दिने संस्कार नेपालमा भित्र्याएका छन्, अस्पतालको व्यवस्थापनसँग सम्वद्ध अर्का एक डाक्टरले दुःख प्रकट गर्दै भने, ‘अरुतिर राम्रो हुनुपर्छ भन्ने डा.केसीकै अर्थोपेडिक डिपार्टमेन्टमा सबैभन्दा बढी भ्रष्टाचार छ । तर, उनी अस्पताल डुबाएर र विरामी मारेर गान्धी बन्ने लहडमा लागेका छन् ।’
डा. केसीको राम्रो काम
नेपाल प्रहरीका नाममा एउटा सरकारीसहित एमालेको आडमा आएको मनमोहन अस्पतालसँगै पिपुल्स डेन्टल र नेशनल मेडिकल कलेजलाई सम्वन्धन दिलाउन झोलाभरि पैसा बोकेर माफियाहरु टिचिङ धाउन थालेपछि त्यसलाई रोक्न डा. केसीले आन्दोलन छेडेका थिए ।
केसीको आन्दोलनले यसरी उचाइ लियो कि अब कम्तिमा २ वर्ष कुनै पनि निजी कलेजले सम्वन्धन पाउने बाटो बन्द भएको जानकारहरु बताउँछन् । ‘डा. केसीले थालेको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धी भनेको पैसा र राजनीतिको बलमा मेडिकल कलेजको सम्वन्धन लिन खोज्नेहरुलाई झापड हो’ एक अधिकारीले अनलाइनखबरसँग भने -’तर, केसीको चौथो अनशन र ढीटले गर्दा शिक्षण अस्पताललाई फाइदा हैन घाटा पुग्ने अवस्था आएको छ ।
कसरी डुब्दैछ टिचिङ ?
डा.भगवान कोइराला कार्यकारी प्रमुख हुँदा टिचिङ हस्पिटल ६६ करोड ऋणमा डुबेको थियो । भगवानले जिम्मेवारी सम्हालेपछि उक्त ऋण तिरेर अस्पताल नाफामा चल्न थालेको थियो । कर्मचारीले नियमित तलव खान पाउने अवस्था आएको थियो ।
टिचिङ हस्पिटल मासिक अडाइ करोड आम्दानी हुने गरेकोमा डा. कोइरालाले मासिक पाँच करोड आम्दानी हुने बनाएका थिए । अस्पतालमा डा. कोइरालाले अरु केही गरेका हैनन्, आन्तरिक भ्रष्टाचारमात्रै रोकेका हुन् । तर, कोइरालाले डा. केसीको डिपार्टमेन्टबाटै माफियाहरुलाई हटाउन सकेनन् ।
हाल अस्पतालको मासिक खर्च ४ करोड हुने गरेको व्यवस्थापन बताउँछ । तर, डा. केसीका १४ दिनेे अनशनका कारण अस्पताल बन्द हुँदा दुई करोड घाटा लागिसकेको छ । कर्मचारीले माघकै तलब खान हम्मेहम्मे पर्ने अवस्था आइसकेको स्रोतले बतायो ।
‘साढे २ करोड आम्दानी हुने टिचिङमा डा. भगवानले आन्तरिक लुट र चोरी रोकेपछि ५ करोड आम्दानी हुने गरेको थियो’ व्यवस्थापन सम्वद्ध एक अधिकारीले अनलाइनखबरसँग भने-’चार करोड तलवमै खर्च हुन्छ । एक करोड यताउता खर्च मिलाउन पुग्थ्यो । भगवान सरले राजीनामा दिएपछि अब यो अस्पताल डुब्ने पक्कापक्की छ, अब यसबाट प्राइभेट अस्पताललाई फाइदा पुग्छ ।’
डा. केसीको १४ दिने आमरण अनशनका क्रममा टिचिङ बन्द हुँदा २ करोड बढी घाटा लागेको थियो भने अहिले फेरि उनी अनशनमा बसेका कारण अस्पतालको आम्दानी ठप्प छ । ‘अबको यो अनशनले टिचिङलाई बर्वादीमा लैजाँदैछ’ एक कर्मचारीले भने-हेर्दै जानुहोला, १५ दिनपछि तलव खुवाउन समस्या आउँछ । कर्मचारीले घेर्छन् र अस्पताल प्रमुखलाई कुटेर लखेट्ने अवस्था आउँछ । यो सब डा. केसीको अनशनकै कारणले भइरहेको छ ।’
भगवानले किन दिए राजीनामा ?
वरिष्ठताका आधारमा डीन नियुक्त भइसके पनि डा. केसीले अनशन अन्त्य नगरेपछि अब टिचिङ हस्पिटलको भविश्यमाथि नै दिनगन्ती सुरु भएको छ । जानकारहरुका अनुसार आन्दोलनमा क्रममा अस्पताल नै बन्द भई करोडौं घाटा हुनु र कार्यकारी निर्देशक भगवान कोइरालाले राजीनामा दिनुजस्ता घटनाका कारण अब टिचिङ हस्पिटलको दिनगन्ती सुरु भएको हो ।
माफियाको चलखेलविरुद्ध केसीले आमरण अनशन थाल्दा भगवान कोइराला र दबावमा आएर राजीनामा दिएका भनिएका पूर्वडिन प्रकाश सायमीले समेत साथ दिएका थिए । तर, जब सबै डाक्टरहरु काम छाडेर हडतालमा उत्रिए, भगवानले मानेनन् ।
‘सबै डाक्टरहरु आन्दोलनमा उत्रिँदा भगवान कोइरालाले काम गरिराख्नुभएको थियो । उहाँ कहिल्यै अस्पतालको सेवा बन्द गर्ने पक्षमा रहनुभएन’ कोइरालानिकट एक अधिकारीेले भने-’कोइरालाले कार्यकारी निर्देशकबाट राजीनामा दिनुको एउटा कारण यो पनि हो ।’ तर, यसबारे कोइरालाले भने कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।
निकटवर्तीहरुसँग भने कोइरालाले प्रा. डा. केसीको आन्दोलनको सुरुवात सही भए पनि अहिले आएर धेरैले चलखेल हुन थालेको गुनासो गर्ने गरेका छन् । स्रोतका अनुसार डाक्टरले विरामीको उपचार नै नगरी आन्दोलनमा उत्रने संस्कार देशैभरि विकास भएको भन्दै डा. कोइराला रुष्ट भएका छन् ।
डा. कोइराला विरामीलाई मारेर नभई विधि र प्रक्रियाअनुसार आन्दोलन गर्नुपर्ने पक्षमा रहेकाले केसीको पछिल्लो अनसनप्रति असहमत भएको स्रोतले अनलाइनखबरलाई बतायो ।
केसीको अनशनले टिचिङ हस्पिटललाई डुबाउने र प्राइभेट अस्पताल फस्टाउने कोइरालाको समेत निश्कर्ष रहेको एक अधिकारीले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.