को हुन् एमालेलाई पहिलो पार्टी बन्न नदिने अन्तरघाती ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले देशैभरि करिब १५ स्थानमा पार्टीलाई अन्तरघात गरी हराइएको प्रारम्भिक निश्कर्ष निकालेको छ । पार्टीभित्रकै अन्तरघातीले पैसा खाएर विपक्षीलाई नजिताएको भए एमाले पहिलो पार्टी बन्ने नेताहरुको निश्कर्ष छ ।
एमाले स्रोतका अनुसार काभ्रे क्षेत्र नं ३, संखुवासभा २ र काठमाडौं ९ मा पार्टीको जीत सुनिश्चित रहेको आँकलन गरिएको थियो । चुनावपूर्व पार्टीले १ सय ६ स्थानमा जित सुनिश्चित भएको अनुमान गरेकोमा अन्तरघातकै कारण करिब १५ सीटमा हार व्यहोर्नुपरेको निश्कर्ष एमाले नेताहरुको छ । काभ्रे ३ मा पूर्वसांसद एवं पूर्व जिविस सभापति कृष्णप्रसाद सापकोटाले नेपाली कांग्रेसका उम्मेद्वारलाई भोटै मागेर हिँडेको र एमाले उम्मेद्वार गोकुल बास्कोटालाई हराएको आरोप लागेको छ ।
त्यसैगरी काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठलाई हराउन स्थानीय नेताहरु लागिपरेको श्रेष्ठको आरोप छ । संखुवासभा २ मा केन्द्रीय नेता राजेन्द्र गौतमलाई हराउन एमाले नेता गुप्तबहादुर श्रेष्ठले २ लाख रुपैयाँ लिएको आरोप लागेको छ । त्यसैगरी धनुषा जिल्लाका केही क्षेत्रहरुमा एमाले नेताहरुको अन्तरघातकै कारणले पार्टीले पराजय व्यहोरेको निश्कर्ष एमाले नेताहरुले निकालेका छन् ।
त्यस्तै सिन्धुपाल्चोकमा एमाले उम्मेद्वार अरुण नेपाललाई पनि अन्तरघातबाटै हराइएको एमाले नेता बताउँछन् । दाङ ४ स्थित पार्टी सचिव शंकर पोखरेलको क्षेत्रमा पनि धाँधली भएको एमाले निश्कर्ष छ । त्यस्तै मोरङ ९ मा एमाले उम्मेद्वार धनश्याम खतिवडालाई हराएर कांग्रेसका डिगबहादुर लिम्बुलाई जिताउन भूमिका खेलेका एमाले कार्यकर्ताविरुद्ध समेत पार्टीमा उजुरी परिसकेको स्रोतले अनलाइनखबरलाई बतायो । मोरङमा जिल्ला पार्टी उपसचिव विद्या चाम्लिङ,  जिल्ला कमिटी सदस्यद्वय भूपालसिंह जिमी र मानबहादुर श्रेष्ठले अन्तरघात गरेको आरोप लागेको छ ।
‘लडाइँको मैदानमा उत्रेका बेलामा पार्टीविरुद्ध घात गर्नेहरुको अब पार्टीमा काम छैन, त्यसैले यस्ता अन्तरघातीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउनुपर्छ र हटाइन्छ ।’ एमालेका एक नेताले अनलाइनखबरसँग भने ।
पार्टीभित्रका अन्तरघातीहरुलाई हदैसम्मको कारवाही गरिनुपर्ने माग गर्दै एमाले अखिलका नेताहरुले समेत बल्खुमा यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । विद्यार्थी नेतृ नविना लामाका अनुसार सर्लाही, सुर्खेत, कञ्चनपुर र कैलालीमा एमालेभित्र अन्तरघात भएको रिपोर्ट प्राप्त भएकाले विद्यार्थी संगठनले बल्खुमा ज्ञापनपत्र बुझाएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.