घुमाउन लगेकी पत्नीलाई भारतमा बेचेर आए श्रीमानले

झापा,  ‘अहिले म के गरुँ, के नगरुँको दोधारमा छु,’ लामो अनुनयपछि कुरा गर्न राजी भएकी उनले सुरुमै आफ्नो मनोदशा दर्शाइन्, ‘अन्यायमा परेँ, न्याय चाहियो भन्दै कतै जानसक्ने अवस्थामा म छैन, चुपचाप बस्दा पनि मन पटक्कै मान्दैन् ।’
आफ्नै पतिबाट भारतीय यौन बजारमा बेचिएकी झुमा लामा -नाम परिवर्तन) असुरक्षाको भयमा छिन् । घरीघरी घटनाबारे सबैलाई बताउँदै हिँडु जस्तो लाग्ने अनि फेरि घरपरिवार र भविष्य सम्झँदा संयमित बनिहाल्न बाध्य हुनुपर्ने स्थिति उनको छ । केही समययता अन्तरद्वन्द्व यति तीब्र बनिरहेको छ, यसै गरुँ भन्ने मेसो उनले पाएकी छैनन् । आमाबासँगको भेटपछि केही नयाँ बाटो पत्ता लाग्ने आशा छ उनको । त्यही आसले अहिले उनलाई तनाव व्यवस्थापन गर्न सघाइरहेको छ । ‘अबको दुई दिन भित्र बाआमासँग भेट हुँदैछ,’ उनले भनिन् ‘के गर्ने हो, त्यसपछि निर्णय गर्नुपर्ला,’ -नागरिक दैनिकमा खबर छ ।
परिवार र छरछिमेकी सबैले लायक ठहर गरेर जसलाई कन्यादान गरे, उसैले छोरीको जीवन बर्बाद पारेको खबर उनका अभिभावकले पाएका छैनन् । तर, समस्यामा छु भनेर खबर गरेका कारण उनका अभिभावक झापाको काँकरभिट्टामा आउँदै छन् । उनी माइती नेपालको संरक्षणका बसेकी छन् ।
हेटौंडामा एउटा सरकारी विद्यालयबाट एसएलसी परीक्षा सकाउने वित्तिकै झुमाको विवाह गर्ने कुरा चल्यो । त्यसै विषयलाई लिएर एक छिमेकीले आफूले चिनेको राम्रो केटा रहेको र आम्दानी पनि राम्रै भएकाले छोरीलाई सुखका साथ पाल्न सक्ने भन्दै बिबाहको बन्दोबस्त भयो । बिहे भएको ८ महिनापछि श्रीमानले घुमाउन लैजाने भन्दै झुमालाई भारततर्फ लगे । तीन दिनपछि यो आसाम हो भनि जानकारी गराएका उनका श्रीमानले उनलाई एक दिन होटलमै राखे । भोली सबैतिर घुमाउने भनि सुतेका उनीहरुह विहान उठ्दा श्रीमान कोठामा थिएनन् । कतै गएको आशंकामा उनले एक दिन बिताईन । भोलि पनि नआउँदा होटलबालालाई खबर गर्न आग्रह गरिन् । कतै गएको र आउने बताएका होटलबालाले भोलिपल्ट भने विशेष कामले नेपाल गएको बताए । त्यसपछि अनिन्द्रामै वितेका उनका रातहरु थिए । जब उनलाई होटलमा आएका व्यक्तिहरुले दुव्यवहार गर्न थाले अनिमात्र आफू आफ्नै श्रीमानबाट बेचिएको थाहा पाइन् । धेरै दुःख पाएकी उनले पछि एक नेपालीसँग बिहे गर्ने बाहानामा होटलबाट बाहिर निस्केको र माइति नेपाल तथा विभिन्न सहयोगी संस्थाको सहयोगबाट नेपाल आउन सफल भएकी हुन् ।
मंसिरको अन्तिम साता नेपाल आएकी उनले बुबाआमालाई सम्पर्क गर्दा छोरीलाई पढ्न पठाएको भनि छलेको पाइन् । उनले चाँडै आउने बताउने गरेका रहेछन् । उनी अब आफ्नो भविष्य सम्झेर वर्तमान ध्वस्त पार्ने पतिलाई कुनै हालतमा नछाड्ने बताउँछिन् ।
यसरी आफन्तबाटै छिमेकी देशमा लगेर बेचिने चेलीको संख्या ठूलो छ । माइती नेपालको काँकरभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयको सक्रियतामा सन् २०१३ मा मात्रै १६ जना नेपाली चेलीलाई भारतबाट यसैगरी उद्धार गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.