स्याङ्जाले फलायो २९ करोडको सुन्तला

२२ माघ, स्याङ्जा । जिल्लामा यस वर्ष २९ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । जुन उत्पादन गत वर्षको तुलनामा २.९१ प्रतिशतले बढी हो । गत वर्ष २५ करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका अनुसार अनुकुल वातावरण हुनुका साथै रोग तथा असिनाले आक्रमण नगरेका कारण सुन्तलाको उत्पादन बढ्न गएको हो । जिल्लाको १६ सय ४१ हेक्टर क्षेत्रफलमा सुन्तला रोपिए पनि त्यसमध्ये ११ सय ६० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी श्रीधर अधिकारीले सुन्तलाका लागि मौसम अनुकूल हुनुका साथै बगैंचा व्यवस्थापन गरिएका कारण सुन्तला उत्पादन बढेको बताए । नेपालका अन्य जिल्लामा भन्दा स्याङ्जामा सुन्तलाको उत्पादन बढी हुने बताइन्छ । जिल्लाका १२ गाविस र नगरपालिकाका केही वडाहरुमा सुन्तलाको उत्पादन हुने गरेको छ । सुन्तला खेतीमा भविष्य देखिएपछि किसानहरु समेत उत्साही भएका छन् । बाँझो भनेर केही नगरी छाडिने जमीनमा पनि सुन्तला खेती गर्न थालिएको छ । कृषि विकास कार्यलयका प्राविधिक सहायक बुद्धिप्रसाद लामिछानले प्रतिकेजी सुन्तला न्यूनतम ६० देखि ७० रुपैयाँसम्ममा बिक्री हुने भएपछि किसानहरु सुन्तला खेतीमा आकषिर्त भएको बताए । स्याङजाबाट विदेशमा समेत सुन्तला निर्यात हुँदै आएको छ । दुःख गरेअनुसारको मूल्य पाइने भएपछि बाँझो खेतमा समेत सुन्तला खेती गर्न थालेको कृषक मीनप्रसाद कोइरालाले बताए । उनले बर्षेनी तीन देखि लार लाख रुपैयाँ सम्मका सुन्तलाहरु बिक्री गर्ने गर्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.