अनिल गुरुङको हृयाट्रिकमा मनाङको जित !

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अनिल गुरुङको हृयाट्रिकको मदतमा मनाङ मस्र्याङ्दीले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा लिग लिडर मनाङले फ्रेन्ड्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै मनाङको ११ खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन थ्रीस्टारको २० अंक छ र उसले १ खेल कम खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले दोस्रो मिनेटमा नै रुपेश केसीको गोलबाट अग्रता लिएको थियो । अनिल गुरुङले दिएको पासमा दिपक राईले मिलाइदिएको बलमा उनले गोल गरेका हुन् ।

खेलको १७ औं मिनेटमा अनिलले हेड गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पहिलो हापको अन्तिम मिनेटमा मनाङले पेनाल्टी पायो, जसमा अनिलले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

खेलको ६६ औं मिनेटमा फ्रेण्ड्सका गोलरक्षक किरन तन्डुकारले अनिललाई लडाएपछि मनाङले अर्को पानाल्टी पायो । जसमा अनिलले नै गोल गर्दै हृयाट्रिक पूरा गरे भने मनाङलाई ४-० को जित दिलाए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.