मन्त्रीको नाम पेश गर्न एमालेलाई कांग्रेसको आग्रह

फागुन, काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले गृहमन्त्रालयको विवाद तत्काल थाती राखेर अन्य मन्त्रीहरुको नाम दिन एमालेलाई आग्रह गरेको छ । वार्ता टोलीका सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले मंगलवार एमाले नेताहरुलाई टेलिफोन गरी मन्त्रीहरुको नाम दिन आग्रह गरेका हुन् ।
कांग्रेस नेता उपाध्यायले गृह मन्त्रालयलाई तत्काल खाली राख्ने गरी कांग्रेसले मन्त्रीहरुको नाम पठाउन एमालेका नेतालाई आग्रह गरिएको बताए । उनले अनलाइनखबरसँग भने,’हामीले एमालेसँग वार्ता र सहमतिको प्रयास गरिरहेकै छौँ । तर, उहाँहरुले गृहमन्त्रालयको दाबी छोड्नुभएको छैन । हामीले चाँहि गृहलाई खाली राखेर अन्य मन्त्री पठाउनुस् भनेका छौँ ।’
मुलुकलाई निकास दिनु पर्ने भन्दै उपाध्यायले मन्त्रिमण्डल विस्तारमा ढिलाइ गर्न नहुने बताए । उनले भने,’एमालेलाई हामीले छिटो मन्त्रिमण्डल विस्तार गरौँ भनेका छौँ । त्यसका लागि सभामुखको चुनावपछि पहल थाल्छौँ ।’
सभामुखमा सुवासचन्द्र नेम्बाङलाई मत हालेपछि एमालेसँग वार्ता हुने र सहमति भए विहीबार मन्त्रिमण्डल विस्तार हुने उपाध्यायले वताए । उपाध्यायले एमालेलाई पर्खिएकै कारण डा. रामशरण महतलाई विनाविभागीय मन्त्रीको मात्र जिम्मेवारी दिएको वताए । एमाले सरकारमा आउन नमाने बिहीवार कांग्रेसले आफ्ना तर्फवाट मात्रै भए पनि मन्त्रिमण्डल विस्तार गर्ने उपाध्यायले वताए ।
उनले भने,’भोलिसम्म एमालेलाई मनाउने प्रयास हुन्छ । सहमति भए बिहीवार एमालेका मन्त्रीले पनि सपथ खानुहुन्छ, नत्र कांग्रेसका मन्त्रीले मात्रै भए पनि सपथ ग्रहण गर्नुहुन्छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.