परस्त्रीको घरमा सुत्दा मट्टीतेल खन्याएर आगजनी

नेपालगञ्ज । अर्काकी श्रीमतीसँग बस्दै आएका नेपालगञ्जका एक प्रौढ व्यक्ति मंगलबार बिहान मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका छन् । शरीरका अधिकांश भाग जलेका नेपालगञ्ज-६ का ४५ वर्षीय सुरेन्द्रकुमार शुक्लालाई भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार राति शुक्ला नेपालगञ्ज-७ फुलटेक्राकी ४२ वर्षीया निलम सोनीको घरमा सुतेका थिए । सुतिरहेका बेला आफूलाई मट्टीतेल छर्केर सोनीले आगो लगाई ढोका थुनेको शुक्लाले बताएका छन् । अस्पतालको बर्निङ्ग वार्डमा उपचाररत शुक्लाले अनलाइनखबरसँग भने- ‘सुतेकै ठाउँमा एक्कासी मट्टीतेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरिन् ।’
शुक्लाले सोनीलाई आफ्नी प्रेमिका भन्ने गरेका छन् । चार छोरी र दुई छोराकी आमा रहेकी सोनीका पति भने सुस्त मनिस्थितिका छन् । शुक्लाको हालसम्म बिहे भएको छैन ।
घटनापछि सोनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय पठाइने इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हेम शाहीले जानकारी दिए ।
शुक्लाका अनुसार सोनीले दुई-तीनदिनदेखि २० हजार रुपैयाँ मागेकी थिइन् । रिक्सा चलाएर गुजारा गर्ने आफूसँग त्यतिधेरै पैसा नभएको भनेपछि उनीहरुबीच झगडा भएको थियो । उनले भने, ‘फेरि मेरो घर बेचेर अन्तै घर जमिन किनौं पनि भनेकी थिइन्, मैले मानिनँ र यस्तो भोगें ।’ शुक्लाको पैत्रिक सम्पत्ति पिताका नाममा छ । पिताको निधन भइसकेको छ ।
अस्पतालको बेडमा घाइते छोराको सुसार गरिरहेकी ६५ वर्षीया आमा फूलमती शुक्लाले विगत एक वर्षदेखि आफ्नो छोरो निलमकहाँ जाने गरेको बताइन् । दिनभरि कमाएको पैसा पनि उतै खर्चेर आफूलाई केही नदिएको उनले गुनासो गरिन् ।
के भन्छिन् निलम ?
प्रहरी नियन्त्रणमा रहेकी निलमले भने आफूले आगजनी नगरेको दाबी गरेकी छन् । मदिराले मातेको अवस्थामा शुक्लासँग झगडा भएको, तर शुक्ला आफैंले मट्टीतेल छर्केर शरीरमा आगो लगाएको उनले बताइन् ।
निलमले भनिन्-‘मदिराले मातेर आएकाले झगडा भयो । म छोराछोरीलाई लिएर कोठाभित्र बसेपछि ऊ बरण्डामा नै सुत्यो, बिहानपख आफैंले मट्टीतेल ल्याएर आफ्नै शरीरमा आगो लगायो ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.