हवाई यात्रामा कहाँ जाँदा कति भाडा घट्यो ?

काठमाडौं–निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घट्ने भाडा दर आगामी शुक्रबारबाट लागु हुने छ । नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल) को भाउमा १५ रुपैयाँ घटाएर प्रतिलिटर १ सय १८ रुपैयाँ कायम गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार भाडा घटाउने निर्णय गरेको हो ।

'हामीले नर्मल फेयरमा मात्र घटाउने निर्णय गरेका छौं,' संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले नागरिकन्युजसँग भने, 'यसबाट यात्रुलाई केही राहत महसुस हुने विश्वास छ ।'
संघका अनुसार न्यूनतम १ सय ७० देखि अधिकतम ५ सय ८० रुपैयाँसम्म भाडा घट्ने छ ।
अब काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमरा जान २ हजार ६ सय ५० रुपैयाँ र सबैभन्दा टाढाको धनगढी जान ११ हजार १ सय ४० रुपैयाँ तिरे पुग्छ । हाल सिमरा जान २ हजार ८ सय २० र धनगढी जान ११ हजार ७ सय २० रुपैयाँ लाग्छ । त्यसैगरी माउन्टेन फ्लाइटमा ५ सय ६० रुपैयाँ, पोखरालाई २ सय ५५, भरतपुर २ सय, जनकपुर २ सय २५, विराटनगर ३ सय ५०, नेपालगन्ज ४ सय ४०, भैरहवा ३ सय १०, भद्रपुर ४ सय १० र तुम्लिङटारका लागि ३ सय १० रुपैयाँ घटाउने निर्णय भएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.