विदेशमा कमाएको पैसा लिएर उनी अकैसँग गइन्, बिग्रिएको घर सम्हाल्दैछु

परिवारको इच्छा विपरित बिहे गरेपछिका दिन हाम्रा लागि त्यति सजिला थिएनन । त्यसैले घर छोडेर रामेछाप बजारमा बस्न थाल्यौं । हिजोसम्म बुवाको भरमा चलेको मलाई आज परिवार चलाउनुपर्ने जिम्मेवारी थपियो । त्यसैले अब विदेश जाने सोच्न थालें । तर विदेश जानुभन्दा अघि उनलाई केही काममा लगाइदिएर जाने सोचेर रामेछाप बजारमै कस्मेटिक पसल खोलिदिएँ । 
पसल चलाउनसँगै सौन्दर्य सम्बन्धी धेरथोर ज्ञान पनि थियो । हामी दुवैसँग भएको केही पैसा र आफन्तसँग केही रकम ऋण सापटी लिएर ५ लाखमा पसल खोल्यौं । छोरा खेलाउँदै पसल चलाँउदा दिन काट्न पनि सहज भएको अनुभव सुनाउथिन् उनी । मैले पसल किनेर चलाउन थालेपछि घरबाट मेरा परिवारको मप्रतिको दृष्टिकोणमा केही परिवर्तन भईसकेको थियो । त्यसैले त बुवाले आफैँले काम गरेको मलेसियाको कम्पनीमा काम मिलाइदिनुभयो । २०६९ सालमा मलेसिया उड्दा  छोरो एक वर्षको भइसकेको थियो । तर परिवारको जिम्मेवारी हेर्दै सानो छोरो र श्रीमतीलाई छोडेर विदेश हानिएँ । 
मलेसियामा सेल्सको काम रहेछ, त्यसैले धेरै चाप थिएन कामको । तैपनि मान्छेको सृष्टि गर्दा नै भगवानले असन्तुष्टि प्राणी बनाईदिएका रहेछन् । म पनि त्यही असन्तुष्टि मान्छेभित्रको एक थिएँ । म दिनमा १८ घण्टा काम गर्थें, तर दुईवटा कम्पनीमा कमाई राम्रै थियो । महिनाको ५० हजार जोगाउन सकिन्थ्यो ।  डेढ वर्षमा १० लाख उनैको नाममा पठाएँ । जसमध्ये २ लाख घरमा दिईछन् र पसल अनि बिदेश जाँदाको ऋण सहित दुईलाख जति तिरीछन् । यसरी म मलेसियामा दुःख गर्दै थिएँ, उनी यता आरामैसँग आफ्ना दिन बिताउँदै  थिईन् । 
एकदिन गाउँबाट फोन आयो । अनि सुनें कल्पनै नगरेको कुरा । फोन गर्ने मान्छेले भन्यो, ‘तेरो घर बिग्रेला ।’ तर अर्काको कुरा त्यति विश्वास लागेन । कारण हामीले एकअर्कालाई गर्ने माया । तर नभन्दै फोन गर्ने मान्छेले भनेजस्तै भयो । 
उनी मसँग राम्रोसंग बोल्न पनि छोडिन् । उनलाई जति फोन गर्दै जान्थे त्यति नै फरक पाउथेँ । एकदिन त उनले फोन भुर्इँमा बजारेर फुटाइछिन् । त्यहीँदेखि उनीसँगको सम्पर्क पनि टुट्यो । हामी दुईबीच झगडा भएको कुरा घरसम्म पुगेछ । त्यसैले बुवाले मलाई घर आउन सल्लाह दिनुभयो । तर मैले भने घर फर्किने सोच बनाएकै थिइन । बुवाले दिनैजसो फोन गरेर घर आईज मात्रै भन्नुहुन्थ्यो । सोचें एकचोटी घर गएर सबै कुरा मिलाएर फेरि आउँछु । 
सम्झौता अवधी बाँकी नै भएपनि कम्पनीसँग आग्रह गरेर नेपाल फर्किएँ । काठमाडौं ओर्लिएको भोलिपल्टै रामेछाप पुगें । बुवा पनि बजारमै आउनुभएको रहेछ । म पुगेपछि उनले नमान्दा नमान्दै पनि बुवाले घर जान बसमा चढाउनुभयो । दुई वर्षसम्म बावाको मुख समेत नदेखेको छोरोले बुवा चिन्ने कुरै भएन । तर मैले छोराको अगाडि अपरिचितझैं बस्न सकिन र काखमा लिई सुम्सुम्याउन थालेँ । घर पुगेर राम्रैसंग गफगाफ पनि भयो । उनले आफुमाथिका सबै आरोप, आरोप मात्रै भएको सावित गर्न खोजिन । अनि मैले पनि सबै कुरा बिर्सिएर फेरि राम्रो सम्बन्ध अघि बढाउने निर्णय ग¥यौं । सबै ठिकै चल्दै थियो । उनी छोरालाई बोर्डिङ्ग पुर्रयाउने अनि पसलमा जाने गर्थिन । 
त्यो दिन पनि उनी बिहानै बजार आईन् । म पर्सिपल्ट बजार गएँ । पसलमा अरु मान्छेको भीड थियो, तर उनी थिइनन् । मैले सोच्नै नसकेको कुरा भयो । उनी मलाई छोडेर अर्कैसँग गइछिन्, विदेशबाट मैले पठाएको पैसा पनि संगै लिएर । केही समय त मैले केही सोच्नै सकिन । एकातिर रुखबाट लडेर थला पर्नुभएका बुवाको स्याहारसुसार अनि अर्कोतिर छोराको पालनपोषण  । त्यसैले मैले पनि अर्को बिहे गरेको छु र पूरा हुन नसकेका मेरा सपना पुरा गर्नतिर लागेको छु । 
(रामेछापबाट मलेसिया गएका युवासँग साथी सागरविक्रम बस्नेतले गरेको कुराकानीमा आधारित । पीडितकै आग्रहमा दुवैको नाम गोप्य राखिएको छ । )

0 comments

Write Down Your Responses

Powered by Blogger.