विमानस्थलमा बन्ने भयो पाँचतारे ‘एयरपोर्ट होटल’

  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच तारे एयरपोर्ट होटल निर्माण गरिने भएको छ । निर्माण-सञ्चालन-स्वामित्व हस्तान्तर (बुट) मोडालीटीमा एयरपोर्ट परिसरमा पाँच तारे होटल निर्माण गर्न लागिएको हो ।
एयरपोर्टमा होटल निर्माण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकृया अगाडी बढाएको हो । एयरपोर्टमा पाँच तारे होटल निर्माण गर्ने क्यानको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृति दिइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत क्यानले उक्त प्रस्ताव अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरेको थियो ।
‘अर्थमन्त्रालयले स्वीकृति दिएपछि होटल निर्माण प्रकृया अगाडी बढ्ने देखिएको छ’ क्यानका महानिर्देशक ररिशचन्द्र लाल सुमनले भन्नुभयो- ‘मन्त्री परिषदले स्वीकृति दिँदा वित्तिकै प्रकृया अगाडी बढाउँछौं ।’ प्रस्तावलाई अन्तिम स्वीकृति दिलाउन पर्यटन मन्त्रालयले मन्त्री परिषदमा पठाउने जानकारी दिँदै उहाँले भन्नुभयो- ‘मन्त्री परिषदमा भएको भूमि सम्बन्धी समितिले प्रस्ताव पास गरेपछि सार्वजनिक सूचना निकाल्छौं ।’
मन्त्रीपरिषदको स्वीकृति पाएपछि होटल निर्माणका लागि टेन्डर प्रकृयामा जाने क्यानको तयारी छ । टेन्डर आव्हान गर्दा जसले सबैभन्दा राम्रो प्रस्ताव राख्छ, उसैलाई होटल निर्माण तथा सञ्चालनको जिम्मा लगाउन महानिर्देशक रतिशचन्द्रले बताउनुभयो । सञ्चालकले ३० वर्षपछि जग्गा र होटल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
क्यानले एयरपोर्ट परिसरमा रहेको आयल निगमको कार्यालय नजिक होटल निर्माण गर्न लागेको हो । होटल ११६ रोपनी क्षेत्रफलमा फैलिने बताइएको छ । क्यानका अनुसार जग्गाको भाडा भने अझै तय भैसकेको छैन् ।
‘हरेक देशका एयरपोर्टहरुमा सुविधासम्पन्न स्टार होटलहरु हुन्छन’ रतिशचन्द्रले भन्नुभयो- ‘नेपालमा अहिलेसम्म होटल निर्माण गर्न सकिएको छैन् ।’ एयरपोर्ट प्रयोगकर्ताहरुलाई सहज होस भनेर एयरपोर्ट परिसरमा सुविधा सम्पन्न होटल खोलिएको हुन्छ । त्रिुभवन विमानस्थल हुँदै रातीमा नेपाल भित्रिने तथा बाहिरिनेहरुलाई होटल सञ्चालनमा आएपछि सहज हुने क्यानको विश्वास रहेको छ ।
एयपोर्टमा होटल सञ्चालनमा आएपछि विदेशी एयरलाइन्सहरुको ट्रान्जिट पनि बढ्ने विश्वास गरिएको छ । ‘पछिल्लो समय मान्छेमा व्यस्तता बढ्दै गइरहेको छ’ उहाँले भन्नुभयो- ‘यस्तो अवस्थामा कन्फ्रेन्स हलसहितको सुविधा सम्पन्न होटल सञ्चालन गर्न सकियो भने विदेशबाट आउनेहरु एकैदिनमा कार्यक्रम सिध्याएर फर्किन सक्छन् ।’
होटलमा २ सयभन्दा बढी रुमहरु हुने बताइएको छ । साथै, सुविधा सम्पन्न पार्किङको व्यवस्था हुनेछ । होटलको निर्माण खर्च, अन्य सेवा सुविधाहरु अझै तय नभएको बताइएको छ । सार्वजनिक निजी साझेदारीमा एयरपोर्टमा होटल निर्माण गर्दा नेपालको पर्यटन उद्योगमा पनि सकरात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.